✍️ जेबी खत्री
कुरा १४ अक्टोवर २००५ को हो । त्यसबेला हामी इजरायल पुगेको त्यस्तै पाँच/छ महिना भएको थियो । मुसाभ सखार भन्ने ठाउँमा काम सकेर त्यही दिन हामीलाई कम्पनीको अनुमतिमा एजेन्सीले म्यागेन भन्ने ठाउँमा पठाएको थियो । त्यहाँ दश/बाह्रजना अरू नेपाली साथीहरू पनि रहेछन् । नेपाली कामदारहरूले चलाएको कम्पनी रहेछ त्यो । बालबाइतको बसाइ जेरूसेलायममा । हप्तामा एकपटक बिहीबार/शुक्रबार एकछिन् काम हेर्न आउने, त्यसपछि तीन-चार घण्टाको बीचमा फर्किइहाल्ने । सम्पूर्ण काम फ्याक्स र फोनको माध्यामबाट हुन्थ्यो । नेपालीको हातमा छोड्दिएको रहेछ । कामको सम्पूर्ण चाँजोपाँजो नेपालीले मिलाउनुपर्ने ।
ग्रीन हाउसदेखि प्याकिङ हाउससम्मको काम सबै नेपालीको हातमा जिम्मा दिएको रहेछ । मुख्यतः खासा, खुस्बरा, पेत्रो, सेलरी, च्याउ, आलुचिप्स, बन्दा, काउली, ब्रो-काउलीलगायतको काम थियो । खासा भनेको हिब्रु भाषामा साग हो । खुस्बरा भनेको धनीया अरू पेत्रो र सेलरी सलाद खाने हरियो मसला हुन् । त्यहाँ यिनको आफ्नै उत्पादन पनि थियो । बाहिरबाट पनि थुप्रै आउँथ्यो । त्यहाँ प्याकिङ गरेर बजारमा पठाउनु प¥थ्यो । पाँच/छ महिनासम्म मुसाभ सखारमा दुईजना नेपालीमात्र बसेर काम गर्दागर्दा दिक्क भएकाले त्यहाँ धेरै नेपाली साथीसँग बसेर काम गर्न पाउँदा खुशी लाग्ने नै भयो । साँच्चै खुशी भयौँ हामी दुई नेपाली । हो मागेनमा आएपछि त निक्कै ठूलो सास फेरेका थियौँ, हामीले । मुसाभ सखारमा गुलावको फूलमा काम थियो । गुलाबको फूलमा भन्दा काम पनि सजिलो । ओटी पनि आठ घण्टा डिउटी बराबर ।
१५/१६ घण्टा त सधैँ जसो काम हुने । नेपाली-नेपालीबीच कुरा पनि मिल्ने । सल्लाह पनि मिल्ने । मन मिलेपछि काम गर्न पनि सजिलो । मुसाभ सखारमा त हामीले थाइल्याण्डीबाहेक अरू कामदारको अनुहार पनि देख्न पाएनौं । जता गए पनि थाइल्याण्डी । नेपाली त हामी दुईमात्र थियौँ त्यो गाउँमा । मुसाभ भनेको गाउँ हो । त्यसो त गुलाबको फूलको काम पनि आनान्दै लागेथ्यो हामीलाई अप्रिलदेखि जुन÷जुलाईसम्म नै राम्रै ओटी भएथ्यो । त्यसपछि भने विस्तारै काम कम हुँदै जाँदो रहेछ । यी तीन/चार महिना त काम भ्याइनभ्याइ भयो । चारवटा खम्बामा थिए । दुई थाइल्याण्डी । हामी दुई नेपाली गरी चारजना कामदार थियौं ।
हाम्रो भिसा म्यागेनको नभएर गुस्केतिभको रहेछ । एजेन्सीले पेपर मिलाउँन ढिलाइ गरेकाले इमिग्रेशनले हामीलाई त्यहाँबाट खोसेर अन्तै दिन लागेको रहेछ । हामीभन्दा केही समयअघि गएका र इजरायलका बारेमा केही कुरा बुझ्सिकेका केही साथीहरूले त वास्तै मानेनन् । हामी नयाँ भर्खर इजरायल पुगेकाहरू चाहिँ अलि बढी नै डरायौं । त्यत्रो लगानी गरेर भर्खर इजरायल पुगिएको छ । गएको क्रण पनि तिर्न पाएको छैन । नेपाल फर्काइदियो भने त के गर्ने होला भन्ने कुराले खुब पिरल्यो ।
बेलुका पाँच बजेतिर पुगेर छ बजेदेखि दश बजेसम्म चार घण्टा जति काम गरियो । त्यसपछि आएर नुहाइधुवाई, खाना खाँदा, लगेज, लुगाफाटो, सुत्ने कोठा मिलाउँदा, सरसफाइ गरेर सुत्ने व्यवस्था गर्दा बार बज्यो । भोलि बिहान छ बजेदेखि काममा जानुपर्छ ल अब सुतौं भनेर साथीहरूले भने । बिहान पौने ६ बजे गाडी आउँदो रहेछ लिन । छ बजे काममा जानुपर्ने । दिनभरि ग्रीन हाउसभित्रको काम । बेलुका प्याकिङ हाउसभित्र । नयाँ ठाउँ हामी पनि भोलि बिहान छ बजेदेखि काममा जाने मनस्थिति बनाएर सुत्यौँ । साथीहरू पनि सुते । नयाँ ठाउँ । नयाँ काम । मनमा कुरा खेलिरहेका थिए । निकैबेर निद्रा लागेन । साथीहरू दिनभरिको काम । बानी परिराखेको भएर होला सुत्नासाथ कोही घुर्न थाले । कोही निधाएको चालमा स्वाँस्वाँ सास फेर्न थाले । म चाहिँ यता फर्कन्छु । उता फर्कन्छु । मनमा कुरा खेलेर निद्रा लागे त के र ।
कसोकसो गर्दा झकाउँन थालेको रहेछु । एक्कासि डाङ्डुङ् कारावानका ढोकाहरू खोलेर मानिसभित्र पसे । कामदार बस्ने सानासाना घरलाई कारावान भनिन्छ । अँध्यारो थियो । बत्ती बाल्न पनि स्वीच कहाँ थियो । थाहा भएन । साथीहरूले पनि उठेर बत्ती बाल्न भ्याएनन् । उनीहरू चाहिँ टर्चसँग थिए । हामी साथी-साथीबीच पनि डरले बोलचाल भएन । कसले कसलाई बोलाउँने त्यतिबेला होसै भएन । एकजनाले टर्चको उज्यालो मतिर फर्काउँदै सोध्यो, नेपाली हो ? मैले केन । अँ, हो भनेँ । हिब्रु भाषामा केन भनेको अँ वा हो भन्ने हुन्छ । त्यसपछि उसले मतिर हात थाप्दै भन्यो, जे मिस्तारा तभी पासपोर्ट । यो पुलिस हो । पासपोर्ट लेउ । त्यस बेलासम्ममा सबै साथीहरू उठिसकेका रहेछन् । सबैले आ–आफ्नो झोलाबाट पासपोर्ट झिकेर दियौं । पुराना साथीहरूले पुलिस रहेछन् भनेर एकअर्काबीच खस्याकखुसुक गरे । त्यतिबेलासम्ममा कोठामा बत्ती बलिसकेको थियो । सबै निलो ड्रेसमा थिए । उज्यालोमा यसो साथीहरूको अनुहार हेरेको सबैको अनुहार निचोरेको निबुवा जस्तो भइसकेको थियो । त्यसपछि तिनीहरूले हामीलाई बाहिर निकाले । बाहिर निस्कँदा थाहा भयो । कारावानको चारैतिरबाट घेरा हालिसकेका रहेछन् । कसैलाई केही नभनी नेपाली जति हामी सबैलाई गाडीमा हालेर लिएर गए ।
नजिकैको जोहार पुलिस रहेछ । त्यो रात त्यहीँ जोहारमा राख्यो । भोलिपल्ट दश बजेतिर बेरसेवा लग्यो । बेरसेवामा एकदिन राखेर भोलिपल्ट फेरि जोहार नै पठाइ दियो तर सारै स-सम्मान र इज्ज्वतका साथ । दुव्र्यवहार गर्न त के नराम्रो वचनसम्म पनि गरेन । लाग्यो, कति सम्मान गर्दा रहेछन् त्यहाँका पुलिसले श्रमिकको ∕ सायद विदेशी कामदारहरू भनेर होला । त्यसो त हामीले कुनै गल्ती पनि त गरेका थिएनौँ नि तैपनि डर भने कम्ती लागेको होइन । कतै नेपाल फर्काइ दिने पो हो कि भनेर तर हामी सबै वैधानिक तरिकाले वर्क प्रमिट भिसामा गएका थियौँ । हाम्रो एक वर्षका लागि भिसाा एयरपोर्टमै लागेको थियो । एयरपोर्टमा लागेको भिसा सकिएकै थिएन । मागेनमा काम गर्ने साथीहरूको चाहिँ भिसा सकिएको रहेछ । उनीहरू हामीभन्दा झण्डै एक वर्षअगाडि इजरायल प्रवेश गरेका रहेछन् । उनीहरूलाई मागेनको बोसले भिसा दिनुपर्ने रहेछ । कागजपत्र मिलाउनुपर्ने भएकाले भिसा दिन ढिलो भएको भन्ने कुरा खुल्यो ।
त्यसपछि जोहार पुलिसले नयाँ बालबाइत खोजेर २००६ को भिसा दिन्छु भन्ने कागज गराएर केही साथीहरूलाई नेतिबोत र मसहित केही साथीहरूलाई रेबाया भन्ने ठाउँमा पठाइ दियो । हिब्रु भाषामा मालिक वा साहुलाई बालबाइत भनिन्छ । बोसले हामीलाई लिन आफू आउन नपाएपछि गाडी लिएर अर्कै व्यक्ति ट्याक्सी ड्राइभरलाई पठाएको रहेछ । पुलिसले हामीलाई उसकै जिम्मा लाएर नयाँ बोसकोमा पठाइदियो । केही तल आएपछि हामीले भाग्ने सल्लाह गर्यौँ । केही साथीहरूले भने, पुलीसले दिएको ठाउँमा काम पनि गाह्रो हुन्छ । आठ घण्टाभन्दा बढी काम पनि हुँदैन । सायद साहु पनि यही हो कि । यस्ताले हामीलाई आठ घण्टाभन्दा बढी के काम देला । भन्न त उसले हामीलाई तिमीहरूको साहु अर्कै छ । म त उसले पठाएर लिनमात्र आएको हुँ । मैले त तिमीहरूलाई उसम्म पुर्याइदिने मात्र हो । उसले नेपाली बुझ्दैनथ्यो । हामीसँगका केही पुराना साथीहरू भने हिब्रु भाषा सामान्यतः बुझ्थे । हामीभन्दा केही बोल्थे, जान्दथे । गाडी चलिरहेकै बेला हामी-हामीमा सल्लाह गर्यौँ । हामीलाई म्यागेन मै बस्ने मन थियो । हामीलाई म्यागेन नै मन परेको थियो । रेबाया जान मन थिएन ।
यद्यपि हामीलाई त केही थिएन । जहाँ गए पनि काम गर्ने हो भन्ने थियो । पुराना साथीहरूको लहैलहैमा लागेर हामी पनि म्यागेन मै बस्ने भयौँ । केही दिन लुकेर बस्न सकियो भने त हामी सबैलाई म्यागेनको बोसले नै भिसा दिन्छ । पुराना साथीहरूको यही भनाइ थियो । सबै मिलेर भाग्ने योजना बनाउन थाल्यौँ । गाडी आफ्नै रफ्तारमा चलिरहेको थियो । म्यागेनमा हाम्रा लुगा, कपडा, झोला, भाँडा-वर्तन छन् । हामी त्यो लिएर रेबाया नै जान चाहन्छौँ भनेर त्यो ड्राइभरलाई अनुनयविनय गर्न थाल्यौँ । हाम्रो अनुरोध उसले स्वीकार गर्यो । त्यसपछि हामीलाई लिएर फेरि उ म्यागेन आयो । दिनको बाह्र-एक बजेको थियो होला । टन्टलापुर घाम लागेको थियो । चौपट गर्मी थियो । म्यागेनमा काम गर्ने सुपरभाइजर इजरायली नागरिक गिलाद, मुसेलगायत सबै हामीलाई नै खोजिरहेका रहेछन् । म्यागेनमा पुगेर उसको गाडीबाट ओर्लनासाथ हामी चिलबिल भएर भाग्यौँ । मुसेले हतारहतार हामी सबैलाई भेला गरी गाडीमा हालेर लुकाउन ग्रीन हाउसतिर लिएर गयो ।
प्लाष्टिकका सानासाना खेती गर्न बनाइएका घरलाई हिब्रु भाषामा खम्बामा भनिन्छ । अंग्रेजीमा ग्रीन हाउस । मुसेले हामीलाई तीन/चार किलो मिटर परका ग्रीन हाउसभित्र लगेर कसैले नदेख्ने गरी लुकायो । हामी ग्रीन हाउसभित्र लुकेर बस्यौँ । त्यतिबेला पो हाम्रा आँखा खुले । हामीलाई पुलिसले समातेर भिसा भएको साहु खोजेर रेबाया दिएको हो । यदि हामी रेबाया गएनौँ र म्याागेनमै बसेर काम गर्यौँ भने म्यागेनमा फेरि पुलिस आउनेछ र हामी सबैलाई समातेर फेरि नयाँ साहु खोजेर दिने होइन, नेपाल फर्काइ दिनेछ । हामीले पुलिसले साहु खोजेर जिम्मा लगाएको ठाउँमा गएर केही समय भए पनि काम गर्नै पर्छ । त्यसपछि बरू म्यागेनको साहुलाई भनेर म्यागेन आउँन सकिन्छ । कागजपत्र मिलाएर ल्याएपछि त पुलिसले पक्रन पनि मिल्दैन । फेरि सल्लाह ग¥यौं । ओके जाऔँ रेबाया नै एक पटकलाई । बरूपछि म्यागेनको बोसलाई त्यसरी रिक्वैस्ट गरेर मागेन नै आऔँला । कागजपत्र मिलाएर ल्याउन चाहँदा त मागेनको बोसले हामी जहाँ जसकोमा भए पनि म्यागेनमै ल्याउँछु मेरा कामदार भन्दा ल्याउँन पाउँदो रहेछ । हामी उसकै कामदार हौँ । यही ठहर गर्यौँ र फेरि फर्कने निचोडमा पुग्यौँ । फर्कने त भयौँ तर अब कसरि फर्कने, कहाँ जाने ? अघि पुलिसबाट छुटाएर हामीलाई ल्याउने बोसको ड्राइभर पनि कहाँ गयो ।
आँखाबाट हरायो । सायद फर्किसक्यो होला रेबाया ∕ कि पुलिस ठानातिर लाग्यो कि । अघि मुसेले गाडीमा हालेर हामीलाई यता नल्याउन्जेल त म्यागेनमै गिलादहरूसँग मैले पुलिसबाट ल्याएको हुँ । अब यिनीहरू मेरा कामदार हुन् । म लान्छु भनेर झगडा गरिरहेको थियो । पुलिस हामीलाई खोज्दै आउला कि फेरि भन्ने डरले हाम्रो मुटु ढुकढुक गरिरहेको थियो । विस्तारै हामी खुट्टाले हिँड्दै म्यागेनतिरै फर्कँदै थियौँ । केही पर आएर हाइवोएमा निस्कँदा त उही बोसको उही ड्राइभर हामीलाई नै खोज्दै हाइवोएमा वर र पर गरिरहेको रहेछ । हामीलाई देख्ने वित्तिकै गाडी रोक्यो । गाडी रोकेर बो नेपाल बो । एन बाया । बालबाइत तोभ, कसेब तोभ । ओखेल, लिसोन, काराबान, अकोलअकोल तोभ । रेबाया तोभ । आउ नेपाली आउ केही समस्या छैन । साहु राम्रो छ, तलब पनि राम्रो छ । खान, बस्न सबै राम्रो छ । ठाउँ पनि राम्रो छ भनेर फकाउँदै बोलायो । त्यसपछि हामी गयौं र बस्यौं गाडीमा । सरासर रेबाया लान्छ भनेको त केको लानु रेबाया ∕ फेरि लिएर अघिकै पुलिसमा पो गयो ।
रिसले राँको भएको रहेछ । त्यसपछि भने पुलिसले हामी सबैको पासपोर्ट माग्यो र पासपोर्टसहित हामी सबैलाई फेरि उसकै जिम्मा लाएर रेबाया नै पठायो । अब भने पासपोर्ट हामीसँग रहेन । त्यसपछि हामी उसँगै गयौँ मुसाभ रेबाया । नगइ त सुखै थिएन । पासपोर्ट खिचिहाल्यो । कति माग्दा पनि फेरि भाग्लान् भन्ने डरले होला दिँदैदिएन । तिमीहरू नेपाल फर्कन चाहन्छौं ? भनेर यो पटक भने पुलिसको पनि निक्कै हप्की खाइयो । टाढा निक्कै टाढा रहेछ । डेढ-दुई घण्टा लाग्यो, गाडीमा । त्यसको तीनदिन पछिदेखि हामी सबै काममा लाग्यौं । मुसाभ रेबाया भन्ने ठाउँमा । यो बेचन शहरभन्दा पनि टाढा रहेछ । अत्तो बुसमा तेलभिभ आउँन तीन घण्टाभन्दा बढी लाग्ने । जोडानको छेउ ।
यसैपछि थाहा भयो । हाम्रो भिसा म्यागेनको नभएर गुस्केतिभको रहेछ । एजेन्सीले पेपर मिलाउन ढिलाइ गरेकोले इमिग्रेशनले हामीलाई त्यहाँबाट खोसेर अन्तै दिन लागेको रहेछ । हामीभन्दा केही समय अघि गएका र इजरायलका बारेमा केही कुरा बुझ्सिकेका केही साथीहरूले त वास्तै मानेनन् । हामी नयाँ भर्खर इजरायल पुगेका चाहिँ अलि बढी नै डरायौँ । त्यत्रो लगानी गरेर भर्खर इजरायल पुगिएको छ । गएको रिण पनि तिर्न पाएको छैन । नेपाल फर्काइ दियो भने त के गर्ने होला भन्ने कुराले खुब पिरल्यो । ड्राइभरले हामीलाई लगेर हाम्रो पासपोर्टसहित रेबायाको साहुलाई बुझयो । राती पुगेका थियौँ हामी । नयाँ ठाउँ सेटल हुन हामीलाई निक्कै समय लाग्यो । केही साथीहरू त त्यहाँ बसेर काम गर्नै मानेनन् । उनीहरू केही समयपछि पुनःम्यागेन नै फर्किए । म्यागेनको साहुले फर्कायो । अन्त्यमा त एक जना साथी मात्र भयो,रेबायामा लामो समयसम्म काम गर्ने । म पनि एक वर्षपछि राहात, त्यसपछि नेकोहोट, जेरूसेलायम हुँदै पुनःम्यागेन फर्किएँ । इजरायल बसाइको क्रममा यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण हो ।
आजभोलि पनि मलाई त्यो दिनको सम्झ्ना भइरहन्छ । त्यतिबेला स्पस्टसँग थाहै थिएन । पछिमात्र थाहा भयो । इजरायलको त्यतिबेलाको नियमानुसार एकपटक वर्क प्रमिट भिसा लिएर इजरायल प्रवेश गरिसकेपछि विदेशी कामदारको हकमा बिना कसुर पाँच वर्ष अवधी पूरा नभई त्यहाँको बोसले त के सरकारले पनि फर्कन्छु नभनेसम्म फर्काउन पाउँदो रहेनछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच