म्याग्दी । गत आइतबार साँझ परेको असिना पानीले म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनी जग्गामा लगाएको धान र कोदोबाली नष्ट गरेको छ ।
स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीनदिन लगाएर गरेको मूल्याङ्कन अनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले बिहीबार (आज) साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो ।
बेनी नगरपालिका वडा नं २ का वडासदस्य समेत रहनुभएका गौश्वारा निवासी चन्द्रकान्त रिजालले दिएको जानकारी अनुसार असिना पानीले खेतमा पाक्नै लागेको धान बालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पुर्याएको छ । त्यसैगरी पाक्नै लागेको कोदोबालीमा पनि ५० प्रतिशत क्षति पुगेको अनुगमन टोलीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको त कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिना र पानीले क्षति गरेको कृषकहरूले बताएका छन् । असिना पानीले धान बालीमा क्षति पुर्याए पछि कृषि प्राविधिक सहित जनप्रतिनिधिको टोली क्षतिको विवरण संकलन गर्न किसानका खेतखेतमा पुगेका थिए ।
असिना पानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा पुर्याएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ ,अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ । किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटीरहेका छन् । पीडित किसानहरुलाई क्षतिपूर्ति वा राहतका लागि सम्वन्धित निकायमा अनुरोध गर्नेछौं ” वडाअध्यक्ष कार्कीले भन्नुभयो ।
असिना पानीले जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोटको सानालेख,गौश्वारा, तमाने, फापरखेत,खबरा,बगरफाँट,वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १को अर्जम, रत्नेचौर लगाएतका ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका बेनी नगरपालिका वडा नं २ का वडासदस्य समेत रहनुभएका रिजालले बताउनुभयो । उहाँका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ ।
रिजालका अनुसार असिना सहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताउनुभयो । भित्राउने समयमा पानीले क्षति पुर्याइदिए पछि किसानहरु रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका-२ सानालेखका नारायण शर्माले बताउनुभयो ।
“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”,उहाँले भन्नुभयो “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?”
जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र कार्यालय म्याग्दीका प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकोले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो । कृषकहरूले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकोले ज्ञान केन्द्रमा क्षतिका विवरण नआएको भन्दै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेका खबरहरू भने देखिरहेको जानकारी दिनुभयो ।
कतिपय जातका धानहरू अब भित्र्याउनको लागि पाकेर तयार हुनै लागेकोले असिना र वर्षाले धान बोटबाटै झरेर खेतभर हुँदा उत्पादनमा ह्रास आउन सक्ने प्रमुख वास्तोलाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच