अहिले मेरा हातमा भएको पुस्तको शीर्षक हो ‘आखिर दोषी को ?’ र यसका लेखक हुनुहुन्छ प्राडा.तीर्थप्रसाद मिश्र । प्राडा.मिश्र जस्ता उच्च बौद्धिक व्यक्तिबाट सिर्जना भएको यस पुस्तकको भित्री गहिराइसम्म पुगेर समालोचकीय चिरफार गर्ने आँट गर्नु सजिलो छैन तैपनि साहित्यको विधागत लेखन नभएर लेखहरूको सङ्ग्रह भएका कारण यसमाथि केही शब्द लेख्ने जमर्को गरेकी हुँ । पछि कतै अन्तरगहिराइसम्म जाने प्रतिबद्धता व्यक्त गर्दै यहाँ यस पुस्तकको बाहृय पक्षको जनानकारीमूलक लेखनमा प्राथमिकता दिइएको छ । यो उहाँका लेखहरूको सङ्ग्रह हो ।
यस पुस्तकमा समेटिएका लेखहरूले व्यक्ति, व्यक्तित्व, राजनीतिक प्रवृत्ति, हाम्रो परिवेश, इतिहासका साहसी पात्रहरूको सम्झना र प्रशंसा, हाम्रो लघुताभास, अति महत्वाकाङ्क्षा, कूटनीतिक असक्षमता, कमजोर व्यक्तिका हातमा सत्ता पर्दा राष्ट्रले भोग्नुपर्ने सास्ती, योग्य व्यक्ति र योग्यताको कदर नहुनु, इतिहासको विश्लेषण, गैरसरकारी संस्थाहरूको मूल्याङ्कन समकालीन व्यक्तिहरू बारेको धारणालगायत विविध विषयका लेख यस पुस्तकका समेटिएका छन् ।
यस पुस्तकमा समेटिएका लेखहरू उहाँले कोरोना कालमा लेख्नुभएको हो भन्ने जानकारी पुस्तकमै गराइएको छ । निकिता मिश्र पाण्डेय यसको प्रकाशक हुनुहुन्छ । हाल उहाँहरू संयुक्त राज्य अमेरिकामा बस्तै आउनुभएको छ । २०७८ सालमा पहिलो संस्करणका रूपमा १००० प्रति छापिएको पुस्तकको सर्वाधिकार लेखक स्वयंमा छ भने यसको मुद्रण बिटी सप्लायर्स एण्ड मिडिया प्रेस बुद्धनगर काठमाडौंमा भएको छ । यसको मुख्य वितरक पशुपति पुस्तक भण्डार पुरानो बानेश्वर रहेको छ । डिएमआई साइजको यस पुस्तकमा तौलयुक्त पहेँलो र स्तरीय कागज प्रयोग भएको छ ।
यसको छपाइस्तरीय छ भने कतैकतै अशुद्धिहरू चाहिँ भेटिन्छन् । पुस्तक भूमिका खण्डमा १० र पाठ्यखण्डमा २१६ गरी जम्मा २२६ पृष्ठको छ र यसको मूल्य ३५० रुपैयाँ छ । यस पुस्तकको आवरणपृष्ठ आकर्षक छ । नीलो पृष्ठभूमिमा कोरोनाको जीवाणुको रातो चित्र माथिपट्टि राखिएको छ भने तल ठूला पहेँला अक्षरमा पुस्तकको शीर्षक ‘आखिर दोषी को ?’ भनेर दिइएको छ । कोष्ठभित्र ‘कोरोनाकालको बसिबियाँलो’ भनिएको छ । तल साना सेता अक्षरमा लेखकको नाम दिइएको छ । पृष्ठावरणनमा फोटोसहित लेखक मिश्रको समग्र परिचय बुँदागत रूपमा गराइएको छ । यसले गर्दा उहाँबारेमा जानकारी राख्न चाहनेका लागि सजिलो बन्नपुगेको छ ।
यस पुस्तकको भूमिकाखण्डमा सुरुमा ‘नातिनी आन्या र नाया तथा नाति नील र ओमीलाई बाबाहजुरको उपहार !’ भनिएको छ र त्यसपछि लेखकको विचार ‘भन्नै पर्ने...’ शीर्षकमा राखिएको छ । त्यसबाहेक पुस्तकमा अरू कसैको भूमिका राखिएको छैन । लेखकको भनाइपछि विषयसूची राखिएको छ । यस पुस्तकमा जम्मा २१ वटा लेख छन् । यी लेख कोरनाकालमा लेखिएका हुन् भन्ने उल्लेख पुस्तकमै भएको छ तर लेखहरू भने कोरोनाका बारेमा लेखिएका होइनन्, यी लेखहरूले विविध विषयलाई समेटेका छन् । दुई शब्ददेखि १० शब्दसम्मका शीर्षक हेर्दा समसामयिक लेखहरूका लागि राखिनुपर्ने शीर्षक नै लेखमा छन् । जसले गर्दा लेखसङ्ग्रहको पुस्तक भएका कारण त्यसका लागि शीर्षकहरू उपयुक्त देखिएका छन् ।
यहाँ राजनीतिक लेखहरूको बाहुल्य रहेको छ । नेता र नेतृत्वको असक्षमता, राजधानी मोह, अकर्मन्यताप्रतिको विरोध पुस्तकमा छ । राजनीति र राजनीतिज्ञहरूका साथै लेखक साहित्यकारप्रतिको कटाक्ष पनि लेखमा समेटिएको छ । ‘आत्मकथा प्रकाशनको रोग’ शीर्षकको लेखले यसलाई उजागर गरेको छ । यस पुस्तकमा समेटिएका लेखहरूले व्यक्ति, व्यक्तित्व, राजनीतिक प्रवृत्ति, हाम्रो परिवेश, इतिहासका साहसी पात्रहरूको सम्झना र प्रशंसा, हाम्रो लघुताभास, अति महत्वाकाङ्क्षा, कूटनीतिक असक्षमता, कमजोर व्यक्तिका हातमा सत्ता पर्दा राष्ट्रले भोग्नुपर्ने सास्ती, योग्य व्यक्ति र योग्यताको कदर नहुनु, इतिहासको विश्लेषण, गैरसरकारी संस्थाहरूको मूल्याङ्कन समकालीन व्यक्तिहरू बारेको धारणालगायत विविध विषयका लेख समेटिएका छन् ।
यसमा सङ्गृहीत गरिएका लेखहरू पठनीय र उच्चस्तरीय बौद्धिकतायुक्त छन् । जसले गर्दा समग्रमा यो पुस्तक एउटा पठनीय कृतिका रूपमा आएको छ । यो सङ्ग्रहणीयसमेत छ । यसलाई एउटा ठूलो प्राप्तिका रूपमा स्वीकानुपर्छ । पुस्तकका लागि लेखक प्राडा. मिश्रलाई बधाईका साथै पुस्तकको सफलताको कामना गर्दछु । उहाँबाट आगामी दिनहरूमा पनि यही स्तरका अन्य महत्वपूर्ण पुस्तकहरू लेखिऊन्, उहाँलाई अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच