काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को रोष्ट्रमबाट भद्र तरिकाले सरकारसँग जवाफ माग्ने तर त्यसपछि पनि अभद्र भए सडकमै घिसार्ने चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष प्रचण्डले अभद्र भए सडकमै घिसारेर अभद्र तरिकाबाटै जवाफ माग्ने चेतावनी दिँदै भन्नुभयो, ‘तिमीहरूलाई के लाग्छ ? माओवादी मर्यो भन्ने लाग्छ ? जे गरे पनि हुन्छ भन्ने लाग्यो ? जवाफ दिनुपर्दैन भन्ने लाग्या छ ? संसद्को रोष्ट्रममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ । धेरै अभद्र भयौ भने सडकमै घिसारेर, सडकमै अभद्र तरिकाले मागिन्छ जवाफ ।’ अघिल्लो महिना आएको बाढीका कारण ललितपुरको नक्खुमा एक परिवारले चार घण्टासम्म उद्धार नपाएको प्रसंग कोट्याउँदै पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘काठमाडौंको मुटुमा टिनको छानोमाथि उभिएको एउटा परिवारले उद्धार पाएन । त्यहाँ केवल एउटा परिवारको ज्यान गएको होइन, त्यहाँ मरेको सरकार हो । यिनीहरूको सरकारले यो सय दिनमा ७० नम्बर ल्यायो रे । अहिले नै ७० भएपछि सरकारको सय नम्बर कस्तो होला सोच्नुभएको छ ?’
खबरदारी गर्न माओवादी सडकमा आएका हो : प्रचण्ड
अध्यक्ष प्रचण्डले अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको जिकिर गर्नुभएको छ । भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफैँ कुहिएर झर्ने टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘अहिले सरकार ढाल्नका लागि खबरदारी सभा गरेको होइन । खबरदारी सभा घोषणा गर्नेबित्तिकै सत्तापक्षमा आतंक सिर्जना भयो कि सरकार आजै ढल्छ, भोलि नै ढल्छ, हामीले भनेका छैनौँ । तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला । हामीले यो खबरदारी सभा नगर्ने हो सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी, प्रतिगमनकारीले टाउको उठाउने खतरा हुन्छ ।’ सत्तारूढ दलहरूले सरकार पूरै अवधि चलाओस् भनेर आफूले पहिले नै भनेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘सरकारमा रहेका दलहरू भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा गइरहेकाले आफैँ ढल्छ । तपाईंहरू जस्ता पार्टीहरू जो यो देशका दलाल, पुँजीपति, बिचौलिया, भ्रष्टहरूको प्रतिनिधिका रूपमा रहनुभएको छ, हामीले केही समय तपाईंहरूसँग सहकार्य गरेर गल्ती गरेछौँ भन्ने परेको छ । तपाईंहरूसँग अब समीकरण गरौँ, मन्त्री र प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौँ ।’ उहाँले माओवादी केन्द्र अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने दाबीसमेत गर्नुभयो ।
खबरदारी सभालाई गम्भीरतापूर्वक लिन सुझाव
अध्यक्ष प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारी सभालाई गम्भीरतापूर्वक लिन चेतावनीसमेत दिनुभएको छ । माओवादी केन्द्रको खबरदारी सभाको सन्देशलाई बुझ्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘भनिन्छ, बिहानले दिउँसोको संकेत गर्छ, यो खबरदारी सभाको सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गरेको छ । यसमा गम्भीर हुन सरकारलाई चुनौती दिन्छौँ ।’
भाटभटेनी प्रचण्डको हो भन्ने भ्रम हट्यो
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले व्यवसायी मीनबहादुर गुरुङसँग जग्गादान लिएपछि भाटभटेनी प्रचण्डको हो भन्ने आरोपबाट आफूले मुक्ति पाएको जिकिर गर्नुभएको छ । भाटभटेनी आफ्नो नभएको भन्दाभन्दा हैरान भइसकेको बेलामा एमाले अध्यक्ष ओलीले क्लियर गरिदिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो भाटभटेनी प्रचण्डको हो भन्ने आरोप लगाउँदै आइरहेका थिए । मैले होइन भन्छु, पत्याउने कसैले होइन । प्रचण्डकै हो भनेको छ, हिँडेको छ । म हैरान थिएँ, कसरी क्लियर गर्ने भनेर । अहिले केपीजीले क्लियर गरिदिनुभयो । धन्यवाद छ । त्यसको सेयरहोल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं नै रहेछ भन्ने क्लियर गरिदिनुभयो । मैले बोल्नैपरेन । तपाईंले नै उहाँ पहिल्यैदेखि एमाले हुनुहुन्थ्यो भन्दिनुभयो । अब यो प्रचण्डको होइन भन्ने भयो । म खुसी छु ।’ अध्यक्ष प्रचण्डले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाउँदै भन्नुभयो, ‘यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जाल झेल र षड्यन्त्रबाट बन्यो । यो सरकार दलालहरूको घरघरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो भनेर मैले संसद्मा भनेको थिएँ, सय दिन पुग्दा नपुग्दै हामीले प्रतिनिधि सभामा जे चिन्ता गरेका थियौँ, त्यो सरकारले प्रमाणित गरेको छ ।’ अध्यक्ष प्रचण्डले सरकार माओवादी पार्टी फुटाउने षड्यन्त्रमा लागेको समेत आरोप लगाउनुभएको छ ।
रास्वपा सभापति लामिछानेको बचाउ
अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्ने सरकारको व्यवहारप्रति आफूहरूको आपत्ति रहेको बताउनुभएको छ । सहकारीसम्बन्धी संसदीय छानविन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरूलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो, ‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानविन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ । तर, यो खबरदारी सभा कसैलाई बचाउनका लागि होइन ।’
पूर्वराजा ज्ञानेन्द्रसँग भेटेको हल्लाको खण्डन
अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । पूर्वराजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छु । ७० वर्ष पुगे पनि जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दै छ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’
भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उहाँले घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरूको चाहना रहेको उल्लेख गर्दै भन्नुभयो, ‘हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुनसम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौँ, यसमा कुनै भ्रम पैदा नगरियोस्, हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ र भेदभाव गर्नुहुँदैन । भ्रष्टाचार र ठगीविरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौँ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पार्टी कार्यालय भवन व्यवसायी मीनबहादुर गुरुङसँग दानमा लिएकाप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अदालतले दोषी ठहर गरिसकेको, सर्वोच्चमा विचाराधीन मुद्दा रहेको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन, यही हो कानुनी शासन ?’ पूर्व– परराष्ट्रमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अलिहेकै प्रधानमन्त्री हुँदा सन् २०१९ मा स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी) सम्झौता भएको प्रचार भइरहेको उल्लेख गर्दै भन्नुभयो, ‘अमेरिकासँग सन् २०१९ मै अहिलेकै प्रधानमन्त्री प्रधानमन्त्री हुँदा एसपिपी सम्झौता भएको थियो । सरकारले जवाफ दिनुप¥यो त्यो भएको हो कि होइन ? हामी कुनै पनि हालतमा एसपिपी सम्झौता हुन दिने छैनौँ । यो देशका लागि घातक छ ।’
सरकारको रवैया हेरेर चुप बस्न सक्दैनौँ : सापकोटा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार जनताको नभएर सीमित दलाल पुँजीपति, बिचौलिया वर्गको भएको आरोप लगाउनुभएको छ । शनिबार सरकार विरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यो सरकार कसैले बनाइदिएको भन्ने अध्यक्ष प्रचण्डको भनाइ पुष्टि भएको दाबीसमेत गर्नुभयो । सरकारले जनताको हितमा कुनै काम नगरेको र लोकतन्त्रको कुरा गर्नु हाँस्यास्पद भएको टिप्पणी गर्दै सापकोटाले भन्नुभयो, ‘झम्टीझम्टी प्रतिनिधि सभालाई विघटन गर्न खोज्नेले आज पनि पार्टी फुटाउनको लागि अनेक हर्कत गरिरहेको छ । पार्टीहरूलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुनसक्छ । लोकतन्त्रको भावना सरकारमा बसेका भन्दा हामीले बढी बुझेका छौँ । हामीले गरेको यो खरबदारीले पुगेन भने देशव्यापी रूपमा जनपरिचालन गर्नेछौँ । सरकारको रवैया हेरेर निकै सशक्त आन्दोलनको तयारीमा छौँ ।’
प्रदर्शनले माओवादीको ओरालो यात्रा सुरु भयो : रिजाल
नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्राको शृंखला शनिबार काठमाडौंमा गरेको प्रदर्शनले देखिएकोे टिप्पणी गर्नुभएको छ । माओवादीले सरकारविरुद्ध खबरदारी सभा गर्नुअघि निकालिएको जुलुसले माओवादीको ओरालो यात्रा देखाएको उहाँको टिप्पणी छ । माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको अनिश्चितकालीन आमहडताल पनि देखिएकै/भोगिएको स्मरण गर्दै भन्नुभयो, ‘शहरी जनविद्रोह पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको अदृश्य धाँधलीका विरुद्धको आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुसबाट थप प्रष्ट भएको छ, माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच