काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघ(एनआरएनए)मा देखा परेको सबैखाले समस्या समाधान कानुनबमोजिम नै खोज्ने बताउनुभएको छ । मन्त्रालयमा एनआरएनएका अभियन्ताहरूसँगको छलफलमा उहाँले भन्नुभयो, ‘तपाईँहरू मिल्नुस् । कानुनबमोजिम अघि बढ्नुहोस् । मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ ।’
मन्त्री राणाले एनआरएनएलाई लिएर पछिल्लो समय भइरहेको टीकाटिप्पणीले आफू स्वयंलाई पनि नराम्रो लागेको भन्दै सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयोे । एनआरएनएमा देखापरेको विचलन र मतभिन्नताले संस्थामार्फत् देशको हितका लागि हुनुपर्ने अपेक्षित काम पनि हुन नसकेको उहाँको भनाइ थियो । साथै राणाले हालै एनआरएनएको ग्लोबल कन्क्लेभ र साधारणसभामा प्रधानमन्त्री र अन्य मन्त्रीहरू गएको तर आफू बिरामी भएका कारण उपस्थित हुन नपाएको जानकारी पनि गराउनुभयो । छलफलका क्रममा मन्त्रालयका कानुन उपसचिवले सर्वोच्च अदालतले गरेका दुवै फैसलाको विवरण पेश गर्नुभएको थियो ।
एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सबैले आ-आफ्नो हठ छाड्ने हो भने एकता असम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन, वचन र कर्मले एकताबद्ध होऔँ, हठ छाडौँ ।’ पूर्वअध्यक्ष शेष घलेले एनआरएनएले नागरिकता पाए पनि पाउनुपर्ने सुविधा उपभोग गर्न नपाएको, नेपालका कम्पनीमा लगानी गरेको प्रतिफल विदेश लैजान समस्या भएकोलगायत गैरआवासीय नेपालीले भोगिरहेका समस्याबारे जानकारी गराउनुभयो । विभिन्न समूह आफ्ना असन्तुष्टि लिएर अदालत जानुलाई स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाकै हिस्साका रूपमा लिनुपर्ने धारणा घलेले राख्नुभएको थियो ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्रीले एनआरएनए अभियन्तालाई बोलाएर छलफलमार्फत् निकास खोज्नु सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वास्तवमा समस्या सुरु भएकै बेला तत्कालीन परराष्ट्रमन्त्रीज्यूले यसरी सबै पक्षलाई बोलाएर निकास खोजेको भए सायद परिस्थिति बिग्रिँदै जाने थिएन, विचार नगरी चिठी लेखेको लेख्यै गर्यो । अदालतले बदर गरिरहृयो । त्यसपछि समस्या बल्झिँदै गएको हो ।’ अध्यक्ष केसीले आफू नेतृत्वको निर्वाचित कार्यसमितिलाई वैधता दिने सर्वोच्चको पछिल्लो फैसलाका केही अंशसमेत पढेर सुनाउनुभएको थियो । एनआरएनएका अनुसार एनआरएनएका संस्थापक अध्यक्ष महतो, पूर्वअध्यक्षहरू घले र भवन भट्ट तथा कुल आचार्य, विनोद कुँवर र जानकी गुरुङलगायत अभियन्ता सहभागी छलफलमा मन्त्रालयतर्फबाट सचिव सेवा लम्साल, सहसचिव अमृत राईका साथै लक्ष्मण खनाल, पुष्कर नेपाललगायत हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच