
काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
त्यसैगरी चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभिए र १३२/३३ केभीतर्फ ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहेका छन् । आयोजनाअन्तर्गतकै त्रिशुली थ्री बी हब २२० केभीको सबस्टेसन यसअघि नै सञ्चालनमा आएको थियो ।
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे-त्रिशूली आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बंैक (इआइबी)को आयोजनामा सहुलियतपूर्ण ऋण रहेको छ ।
नेपाल विद्युत् प्राधिकरण उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आइसकेकाले अब सो क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जुनसुकै बेला जोड्न सकिने बताउनुभयो । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिनेछ ।
रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । दशैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो ।
२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको छ । हेलिकोप्टरबाट समेत निर्माण सामग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो ।
भौगोलिकरूपमा अति जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगागिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामग्री मानिस या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीय अवरोध, कोरोना, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमलगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।
उत्तरगया गाउँपालिका-१ तिरुबाट सोही वडाको सिरुचेतसम्म एक हजार दुई सय ३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ)मा ड्रोन प्रयोग गरी तार तानिएको थियो ।
प्रसारण लाइनअन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको विद्युत् जोड्न मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच