आत्माको स्वरूप : ज्ञान वा विद्या

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

विद्या र कर्ममध्ये भिन्नता बुझ्न आत्मालाई बुझनुपर्छ । किनभने आत्माको स्वरूप भनेको नै विद्या हो । हो, विद्या शब्दबाट बुद्धिको सात्विक वृत्तिलाई मात्रै लिने गरेको पनि देखिन्छ । सत्व अति निर्मल हुने भएका कारणले त्यसमा चिदात्माको पूर्णप्रकाश परेको हुन्छ । यसो भएको हुनाले नै त्यसलाई आत्माको स्वरूप भनिएको हो । तमस् चाहिँ रौपिक दृष्टिले मलीन (मैलो/धूमावृत) हुने भएको हुनाले त्यसमा आत्माको प्रतिबिम्ब पर्दैन । यसै कारणले तमस् आत्मविरोधी धर्मसँगको पर-सम्बन्धबाट आएको आगन्तुक मानिन्छ । विद्याको विरोधी जो अविद्या अनिर्वचनीय किसिमले आत्मामा अकस्मात उत्पन्न हुन्छ र जो आत्माबाट सदा नै पृथक हुन्छ यसैबाट आत्मामा क्लेश, कर्म, विपाक र आशय उत्पन्न हुन्छन् ।

त्यो अविद्याका मुख्य स्वरूप भनेका नै यिनै तीनवटा कुरा हुन् । यसै कारणले विद्याले यिनको सधैँ विरोध गर्दछ । जति-जति विद्या बढ्छ उति उति कर्मको बल घट्न थाल्छ । यदि विद्याको प्रभाव आत्यन्तिक किसिमले बढेर पराकाष्ठामा पुग्यो भने त सारा कर्म निःशेष भएर विलुप्त पनि हुन्छन् र आत्मा विशुद्ध बन्छ । यसका विपरीत कर्म चाहिँ जतिसुकै बढोस् तापनि त्यसले विद्यालाई नास गर्न या गराउन चाहिँ सक्दैन । केबल कर्मजनित कश्मलमा परेर आवृतमात्रै हुन्छ मयलले ऐनाको पारदर्शीपना आवृत गरेजस्तो ।

विद्या ढाकिएर विलुप्त अवस्थामा गएको छ भने मान्छेले विद्यालोप भयो भन्ने गरे पनि विद्या निःशेष भने हुँदैन र कुनै पनि प्रकारका ज्ञानको अणु परमाणु पनि शेष रहँदैन तापनि विद्या अर्काका ज्ञानको प्रमेयका रूपमा अवश्य नै रहन्छ ।

बादलले सूर्यलाई ढाकेजस्तो या धुवाँले अग्निज्योतिलाई ढाके जसरी मात्रै आवरणयुक्त बनाइदिन्छ । विद्या ढाकिएर विलुप्त अवस्थामा गएको छ भने मान्छेले विद्यालोप भयो भन्ने गरे पनि विद्या निःशेष भने हुँदैन र कुनै पनि प्रकारका ज्ञानको अणु परमाणु पनि शेष रहँदैन तापनि विद्या अर्काका ज्ञानको प्रमेयका रूपमा अवश्य नै रहन्छ । ज्ञानको विषय भएको हुनाले विद्यासँग विषयादिको सम्बन्ध भने अवश्य नै रहन्छ परन्तु आत्मामा स्वयं बुद्धि नभएका कारणले विद्याको लोप पनि भनिन सक्छ । यसरी यस आत्माका तीन अवस्था सिद्ध हुन्छन् । १, त्यस्तो अवस्था जसमा कर्म नै कर्म मात्र हुन्छ । जसका कारणले विद्या लुप्तावस्थामा पुगेर दबिएको हुन्छ ।

यस अवस्थालाई योगले मूढावस्था भन्छ । यस अवस्थामा रोग, भोक, शोक, निद्रा, आलस्य, द्रोह, अज्ञान, अनैश्वर्यादिबाट मान्छेको आत्मा आव्याप्त हुन्छ । २, दोस्रो अवस्था त्यो हो जसमा विद्या र कर्म दुवै एक प्रकारको तारतम्य मिलाएर रहेका देखिन्छन् । ३, तेस्रो अवस्था त्यो हो जुन अवस्थामा कर्म सम्पूर्ण रूपमा लुप्त भएर आत्मा विशुद्ध विद्या रूपमा रहेको हुन्छ । उपर्युक्त तीनवटामध्ये तेस्रो जुन मध्यमावस्था छ त्यो जसमा विद्या र कर्म दुवैको सम्पृक्त स्वरूप देखिन्छ हो, त्यसै अवस्थामा मात्रै आत्मा गतिशील हुन्छ । यो मध्यम अवस्थालाई छाडेर शेष पहिलो र तेस्रामा आत्मागति शून्य हुन्छ । कर्मको आधिक्यावस्थामा कश्मलादिका भारबाट आत्मा यति बोझिलो बन्छ कित्यो स्वतः नै स्तम्भित (अवरुद्ध) हुन्छ ।

अतः यो पनि अगतिकै अवस्था हो । जब कर्म सर्वथा विलोप हुन्छ र आत्मा विशुद्ध बन्छ तब त्यो व्यापक आत्मालाई सीमाबद्ध र परिच्छिन्न (छितरवितर) पार्ने कुनै पनि कुरो रहँदैन र कर्म आवरणबाट मुक्त हुनाले जीवात्मा आफ्नै शुद्ध स्वरूपमा आएर व्यापक हुन्छ । जसरी आकाश एउटा घडामा खाँदिएर रहेको थियो, घडा फुट्नासाथ महाकाशमा मिल्छ र व्यापक बन्छ अनि त व्यापकको गति हुँदैन । यसै कारण आत्मा स्थिर, शुद्धबुद्ध, ज्ञानस्वरूप र ईश्वरांश हो भनेका हुन पुराणले ।

यसैलाई वेदले भिन्न भाषामा उद्घोष गरेको देखिन्छ- ‘न तस्य प्राणा उत्क्रामन्तिअत्रैव समवनीयन्ते’ (बृहदारण्यकोपनिषत्,..) । अर्थात् त्यो आत्मा उत्क्रमित हुँदैन यहाँ नै त्यो आत्मा परमात्मामा मिल्छ । यसरी हेर्दा स्वर्ग या नर्क कुनै पनि लोकमा तल या माथि कतै पनि नगएर छितरिएको चुँडिएको यो तुच्छ जीवात्मा आफ्नै ठाउँमा सर्वजगत् व्यापकता प्राप्त गर्दछ र यसलाई समवलय गति भनिन्छ (सम् राम्रो, अब यहाँको त्यहाँ, लय लीन हुनु) यसैलाई परम मुक्ति या विदेह अथवा मुक्ति पनि भन्ने गरेको देखिन्छ ।

अब फेरि गतिकै सम्बन्धमा विचार गरौँ विद्याको प्रधानतामा आत्माको गति सूर्यमुख हुन्छ । यो ज्ञानात्मालाई अविद्या या अज्ञानले ढाकेपछि चन्द्राभिमुख बन्छ । अर्चिमार्गलाई शुक्लमार्ग र धूममार्गलाई कृष्णमार्ग भनिन्छ । अर्चीमार्ग र धूममार्ग भनिने गरिएका मार्ग यिनै हुन् । आत्मा, (मन) प्राण, वाक यी तीनलाई त्रिधातु भनिन्छ । यिनमा मन चाहिँ ज्योतिस्वरूप छ । यो सारा जगत् ज्ञान, क्रिया पनि तिनै तीन स्वरूपमा विभाजित भएका हुन्छन् । यिनै तीनवटा मन, प्राण वाकबाटै उत्पन्न हुन्छन् । यिनमा ज्ञानको भाग चहिँ प्रकाशस्वरूप हुने भएको हुनाले शुक्ल कहलिन्छ ।

अर्को चाहिँ अज्योति भएको हुनाले त्यो कृष्ण भनिन्छ । प्राण चाहिँ दुई प्रकारको हुन्छ १, जसले मनका भावलाई परिपुष्ट पार्छ त्यसलाई अच्छ भनिन्छ र वाकलाई पुष्टि गर्नेलाई चाहिँ अनच्छ भनिन्छ । यसै कारणले प्राणजन्य धर्म पनि दुई प्रकारका हुन्छन् । ज्ञानलाई उत्पादन गर्ने या ज्ञानका सहकारी कर्मलाई पुण्य कर्म भनिन्छ । आत्मविरोधी धर्मलाई उत्पादन गर्ने अथवा ज्ञाननासक कर्मलाई पाप भनिन्छ । पुण्य शुक्ल र पाप कृष्ण स्वरूपका हुन्छन् । काम, शुक्र, भूत, पाँच गुणमध्ये यी तीन वटै वाकका विकार हुन् । यसो भएकाले पाप भए पनि ज्ञानसँग सम्बन्ध हुनु र नहुनुमा पनि एक प्रकारको तारतम्य बनेको हुन्छ ।

यसको मतलव हो काम अच्छ हो र भूत गुण चाहिँ अनच्छ हुन् । पुण्यकर्मकारी शुक्र अच्छ हो भने पापकर्मकारी शुक्र चाहिँ अनच्छ हुन्छ । प्रत्येक जीवात्मा आफ्ना इन्द्रिय र शरीरका प्रेरणाले केही न केही कर्म गरिनै रहन्छन् । हरेक कर्म गरिसकेपछि गरिएका कामको आत्मामा कुनै न कुनै प्रकारको प्रभाव पर्छ नै । यही प्रभावलाई वेदले संस्कार भन्दो रहेछ । यस्तो संस्कार यदि देवप्राणलाई एकत्रित गर्ने खालको छ भने त्यस कर्मलाई पुण्यकर्म भनिन्छ । यदि त्यो संस्कार असुर प्राणबाट बनेको छ भने त्यसबाट आत्ममलीन (कृष्ण) हुन्छ । यसो भएको हुनाले त्यो कर्म पाप कहलिन्छ र यसले आत्मलाई भारी बनाउँछ र त्यो माथि जान नसकेर तल झर्छ ।

पुण्य कर्मबाट आत्म हलुको भएर माथितिर अर्थात् देवतातिर जान्छ । पापकर्मबाट आत्म गरौँ बनेर पतन हुने भएको हुनाले नै यसलाई पातकपतन गराउने भएकाले पाप भनेको हो लोकले र वेदले पनि । आत्म पुण्यकर्म संस्कारयुक्त छ भने त्यो शुक्लमार्गबाट जान्छ र पापकर्म संस्कारयुक्त छ भने चाहिँ त्यो धूम (कृष्ण) मार्गबाट जान्छ । यज्ञ, तप, दान, योग, उपासना आदि कर्म ज्ञानपूर्वक गरिएको छ भने आत्म शुक्लमार्गबाट जान्छ । नजानीकन लहैलहैमा या देखासिकीमा गरिएका कर्मको फल जघन्य हुन्छ जघन्यगुणवृत्तिस्थाअधो गच्छन्ति तामसाः ।

यिनै पाँच कर्मका बलमा आत्मा शुक्लमार्गबाट देवलोक पुग्ने हो । किन्तु इष्ट (स्मार्तयज्ञ) आपूर्त (पँधेरो, धारो, इनार, पोखरी) खनाउने या बनाउने काम, दत्त (भोकालाई भोजन, नग्नलाई वस्त्र, पिपासितलाई पानी, अन्नादि या पक्वान्नादि गरिबलाई वितरण) गर्नु जस्ता तीनवटा कर्म पनि उत्तम कोटिका कर्म मानिन्छन् । यी कर्म गर्नेको कृष्ण मार्गमा प्रवृत्त आत्मा पनि नरक जानुभन्दा पितृलोकतिर जान्छ । युधिष्ठिर नरकको बाटो स्वर्ग गएको आख्यान महाभारतले यसै कारण बताएको देखिन्छ । यी दुई प्रकारका कर्मका अतिरिक्त जुन कर्म छन् ती सबै पाप मानिन्छन् । यी कर्म गर्नाले आत्मामा आसुर प्राणको पनि संस्कार भएर गह्रौंपना आउँछ । यस्तो आत्मा सूर्यलोकतिर नगएर पृथ्वीभन्दा तल झर्छ र यसैलाई अधोगति भनिन्छ ।

यो नै मुख्य कृष्णमार्ग हो । यस प्रकार कर्मबाटै कृष्ण मार्ग र शुक्लमार्गको भेद छुट्याउन जान्नुपर्दछ । पातकमा पनि अतिपातक, महापातक आदि जस्ता प्रबल पातककर्मबाट नरक गति हुन्छ । यसै प्रकारले शुक्लमार्गमा पनि दुई गति हुन्छन् :- १, ब्रहृमलोक पर्यन्तको गति २, देवलोक पर्यन्त गति । ब्रहृमलोकको गति नै सर्वोत्तम गति मानिन्छ । यहाँ पुगेका फेरि पृथ्वीलोकमा कुनै पनि जीवात्मा फर्केर आउन सक्दैनन् । किनभने ती पृथ्वीका आकर्षणशक्तिभन्दा बाहिर पुग्छन् । तिनको फेरि पृथ्वीसँग सम्बन्ध हुन सक्दैन । जुन जीवात्मा ब्रहृमलोकसम्म पुग्न सक्दैनन् ती जीवात्मा त्यसभन्दा तलको देवलोकमा नै रहन्छन् ।

तिनीहरू पुण्य क्षीण भएपछि पृथ्वीमण्डलमा नै आउँछन् क्षीणे पुण्ये मत्र्यलोकंं विशन्ति । ब्रहृमलोकको गति चाहिँ उग्र तप, योग या प्रबलतम उपासनाबाट मात्रै प्राप्त हुन्छ । यसलाई वेदान्तले क्रममुक्ति भनेको देखिन्छ । यस प्रकारले सबै मिलाएर हेर्दा आत्माका चारवटा गति, चारवटा अगति, जम्मा आठ प्रकारको परिणाम सिद्ध भएको देखियो । गतिमा पहिलो हो शुक्लमार्ग, ब्रहृमलोक गति या देवलोक गति, यी दुईलाई अवान्तर भेदका रूपमा लिन सकिन्छ भने दोस्रो हो पितृलोक मार्गगति या नरकगति यी दुई प्रकारका छन् जघन्य रूपको र ‘मृयस्वजायस्व’ रूपको तथा कैवल्य या मुक्ति ।

ब्रहृमलोकको गति नै सर्वोत्तम गति मानिन्छ । यहाँ पुगेका फेरि पृथ्वीलोकमा कुनै पनि जीवात्मा फर्केर आउन सक्दैनन् । किन भने ती पृथ्वीका आकर्षणशक्तिभन्दा बाहिर पुग्छन् । तिनको फेरि पृथ्वीसँग सम्बन्ध हुन सक्दैन ।

यसमा पहिलो जघन्य गति दुई प्रकारको हुन्छ :- हाड नभएको जीव (कीट, वृक्ष, बन्सो, दुबो, अम्रिसो, थकौले, उदासे, भालुझार आदि आदिमा जन्मने) अस्थि (हाड) भएका पशु (गाई, भैंसी, राँगा, हात्ती, घोडा, ऊँट, बाघ, सिंह, थारल, मृग, बोका, बाख्रा, भेडा, च्याङ्ग्रा) आदिमा जन्मने । यसैगरी मुक्तिमा पनि प्रकार भेद रहेको देखिन्छ :- १, क्षीणोदर्क र २, भूमोदर्क । करकुटुम्ब, मन, प्राण, इन्द्रिय आदि सबैलाई आत्माका व्याप्तिबाट निकालेर निर्गुण निराकार रूप आत्माको ज्ञान प्राप्त गरेपछि जो मुक्ति प्राप्त हुन्छ त्यसलाई क्षीणोदर्करूप मुक्ति भनिन्छ ।

परिवारसँग, गाउँमा, नगरमा, देशमा वा समस्त भूमण्डलमा आत्मबुद्धि र आत्माको विस्तारमूलक प्रकाश यज्ञबाट जुन मुक्ति हुन्छ त्यो भूमोदर्क नामको मुक्ति हो । यसलाई तुलसीदासले रामचरित मानसमा ‘सियाराममय सब जगजानी, करौं प्रनामजोरी जुगपानी’ भनेका छन् । यसको मतलव हो समग्र संसार ईश्वरमय मान्नु भूमोर्क मुक्ति हो । ईशावास्यमिदं सर्वं.. पनि यसैको विस्तार मानिन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-09-21 6:58 pm

जानकारीमूलक आलेख

रिलेटेड न्युज

छुटाउनुभयो कि ?