केरुङबाट चीनको बाटो हुँदै हुम्लामा पहिलोपटक बस

नन्दराम जैशी
Read Time = 6 mins

सुर्खेत । रसुवाको केरुङ नाकाबाट चीनको बाटो हुँदै हुम्लामा पहिलोपटक बस पुर्‍याउन लागिएको छ । हुम्लाका व्यवसायी विजय लामाले आफ्नो व्यक्तिगत लगानीमा हुम्लामा पहिलोपटक सार्वजनिक यातायात (बस) पुर्‍याउन लाग्नुभएको हो । हुम्लावासीको मागका आधारमा जिल्ला सदरमुकाम सिमकोट-हिल्सा सडक खण्डमा सञ्चालन हुने गरी व्यवसायी लामाले दुईवटा बस हुम्ला पठाउनुभएको छ ।

सिमकोटदेखि हिल्सासम्मको सडकको दूरी करिब ९० किलोमिटरमात्रै छ । तर, हाल स्थानीय जिपहरूले उक्त सडक खण्डमा प्रतियात्रु पाँच हजार भाडा लिँदै आएका छन् ।

व्यवसायी लामाले भन्नुभयो, ‘यात्रा पनि धेरै महँगो छ । त्यही पनि भनेको बेला सवारी भेटिँदैनन् । त्यसैले नागरिकको समस्यालाई मध्यनजर गर्दै बस सेवा सञ्चालन गर्न लागिएको हो, हुम्ला सदरमुकाम अझै पनि राष्ट्रिय राजमार्गले नछोएकाले केरुङ नाकाबाट चीनको बाटो हुँदै हुम्ला बस पठाएको हुँ ।’

सिमकोटदेखि हिल्सासम्मको सडकको दूरी करिब ९० किलोमिटरमात्रै छ । तर, हाल स्थानीय जिपहरूले उक्त सडक खण्डमा प्रतियात्रु पाँच हजार भाडा लिँदै आएका छन् ।

हाल हुम्ला जोड्ने कर्णाली करिडोर निर्माणकै चरण छ । लामाका अनुसार भन्सार र ढुवानीका सबै प्रक्रिया सकेर शुक्रबार बस चीनको बाटोबाट हुम्लाका लागि पठाइएको हो । आइतबार साँझसम्म तीन दिनको यात्रापछि चीन र नेपालको सीमानाका हिल्सामा बस पुग्ने र त्यसपछि बस हिल्साबाट सदरमुकाम सिमकोट पुग्न छ घण्टा लाग्ने उहाँले बताउनुभयो । लामाका अनुसार २५ सिट क्षमताका दुईवटा बसको लागत करिब एक करोड रहेको छ । बसको बडी सुर्खेतमा तयार गरिएको हो । हुम्ला लगिएका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध गराइएको छ ।

बसमार्फत् सेवा दिँदा भाडादर सस्तो बनाउने तयारी छ । हिल्सा नाकामा बस लिन सवारी चालक त्यसतर्फ गइसकेका छन् । दुवै बस सिमकोटमा पुगेपछि सोमबारदेखि नियमित रूपमा सिमकोट-हिल्सा सडक खण्डमा सञ्चालन गर्ने तयारी छ ।

बस पुर्‍याउन सात लाख भाडा
व्यवसायी लामाका अनुसार केरुङबाट चीनको सडक हुँदै हिल्सासम्म बस पुर्‍याउन चिनियाँ ट्रकले सात लाख रुपैयाँ भाडा लिएका छन् । चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाइएको हो । चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरुङदेखि हिल्सासम्म ट्रकमा लोड गरी पठाइएको हो ।

हुम्ला सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय राजमार्गले छोएको छैन । कर्णाली करिडोरको कालीकोटको खुलालु–सिमकोट खण्डको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने थारे क्षेत्रमा कडा चट्टानका कारण समयमै काम नहुँदा सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिन नसकेको हो तर सिमकोटमा भने सार्वजनिक सवारी सञ्चालनमा छन् ।

ट्याक्टर र जिप सिमकोट-हिल्सा खण्डमा यसअघिदेखि नै चलिरहेका छन् । तर, स्थानीयवासीलाई महँगो भाडा तिरेर गन्तव्य पुग्नुपर्ने बाध्यता छ । हाल हुम्लामा हिल्सा-सिमकोट, सिमकोटभित्र, सर्केगाड-चँखेली-गमगढी र सलिसल्ला-अदानचुली-कोल्टी-खुलालु खण्डमा केही गाडी सञ्चालनमा छन् ।

कर्णाली करिडोरको खुलालु-हुम्ला सिमकोट सडकको दूरी एक सय ९६ किलोमिटर छ । २०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोरको निर्माण कार्यको जिम्मा २०७१ चैत ९ गते नेपाली सेनालाई दिइएको थियो । यो सडक ४० किलोमिटर कालीकोट, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्डमा पर्छ ।

थारे भिरको आठ किलोमिटर सडकमध्ये ४.५ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य निकै जटिल मानिएको छ तर करिब तीन किलोमिटर सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?