स्वदेशी वस्तु प्रवद्र्धनका लागि ‘उद्यमी घर’

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । स्वदेशी उत्पादनको बजारीकरणका लागि ललितपुरको चापागाउँ दोबाटोमा उद्यमी घर सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमबीच उद्यमी घर उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रालयले बजेटमा स्वदेशी उत्पादनको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिने बताउनुभयो । उहाँले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहनम दिँदै विदेश भ्रमणका क्रममा नेपालका तर्फबाट लगिने उपहारमा नेपाली उत्पादन नै प्रयोगमा ल्याउनसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री रिजालले उद्यमी घरले घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमीले गरेका उत्पादनको बृहत् प्रदर्शनी गरेर उद्यमी तथा उपभोगकर्ताका लागि प्रशंसनीय काम गरेको बताउनुभयो ।

उद्यमी घरका सञ्चालक दीपक कार्कीका अनुसार चारतले घरका दुईवटा तला हस्तकला र घरेलु उत्पादन रहेका छन् । उद्यमी घरमा कम्तीमा तीन दर्जन प्रकारका सामान पाइन्छ । गाउँघरका स्रोतसाधनबाट तयार पारिएका उपयोगी सामान किन्न पाइने उहाँको भनाइ छ ।

साना उद्यमीले उत्पादन गरेका सबै प्रकारका सामग्री एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले उद्यमी घर सञ्चालनमा ल्याएको कार्कीले बताउनुभयो । जहाँ ढाका, पश्मिना, सिस्नो, गाँजा (हेम्प), केरा, बाँसको रेसा र रेशम (सिल्क) बाट बनेका लुगा पाइन्छ । साडी, कुर्तासुरूवाल, लेहेंगा, दौरासुरूवाल, कोट र जातीय–सांस्कृतिक भेषभूषाका तयारी लुगादेखि तन्ना र रूमालसम्म, पास्नी र बिहेका लागि खास किसिमका पोशाकसमेत पाइन्छ । बच्चाका लागि बाँसबाट बनेका खेलौना, मोटरसाइकल र गुडिया रहेका छन् । उद्यमी घर आठ महिनाअघि नै सञ्चालनमा आएको भए पनि औपचारिकरूपमा उद्घाटन भएको थिएन । उद्घाटनकै अवसरमा तीनदिने मेला पनि आयोजना गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?