विदेश घुम्न जाने नेपालीले कर तिर्नुपर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने नेपाली पर्यटकले खर्च गर्ने रकमको पाँच प्रतिशतका दरले पर्यटन शुुल्क तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख छ ।

वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका क्रममा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखांकनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ । प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन् ।

कार्यविधिअनुसार प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले संकलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिला गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र शुल्क दाखिला नगरेमा वार्षिक २.५ प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?