तराई-मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा

फाइल तस्बिर

पर्सा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई-मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभएको छ ।

परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई-मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भयो भन्नुभयो । “तराई-मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उहाँले भन्नुभयो, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।”

महामन्त्री थापाले काठमाडौंको भन्दा तराई-मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभयो । “काठमाडौंको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२-१३ वर्ष भइसक्यो । छठपर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उहाँले भन्नुभयो, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।”

महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आ-आफ्नै विशेषता रहेको पनि बताउनुभयो । “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेटभित्र छिर्नेबित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेकोभन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उहाँले भन्नुभयो, “काठमाडौंको कमलपोखरीमा पनि सजावट हुने गरे पनि त्यहाँकोभन्दा भव्य र सभ्य रहेको पाए ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?