बागलुङ । ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका त केही जीर्ण बनेका घर छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ । एक दशक अगाडिसम्म ति घर मान्छेले भरिभराउ थिए । तर अहिले सुनसान छन् । दशर्कौँदेखि बस्दै आएका तीब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो । वि.सं. २०१८ सालमा तिब्बतबाट आएर बसेका शरणार्थी पोखरा, काठमाडौंलगायत देशका ठूला सहरमा जान थालेपछि बस्ती रित्तिएको हो ।
बागलुङको ढोरपाटन नगरपालिका-६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा बस्दै आएका तीब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै यहाँ बनेका घर भवन जीर्ण बन्दै गएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो संख्यामा शरणार्थीहरु बस्ने गरे पनि अहिले निकै कम भएको उहाँको भनाइ छ ।
पुनले भन्नुभयो - “ढोरपाटनमा पहिले धेरै शरणार्थीहरुको बसोबास थियो, अहिले बिस्तारै बस्तीनै खाली हुन थालेको छ, अवसर खोज्दै बजार तिर गएको पाइन्छ, पहिले त हामीहरु छिमेकी-छिमेकी भएर बस्ने गर्थ्याैं, अहिले पनि केही बुढापाका व्यक्तिहरु त हुनुहुन्छ, तर युवाहरु छैनन्, विकासका हिसाबले पनि ढोरपाटन अलि पछाडिनै पर्यो, उनीहरुले सहर रोज्न थाले, त्यही भएर होला बस्ती त सुनसानै भयो ।”
नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जना मात्रै बसोबास गर्ने बताउनुभयो । क्याम्पमा बुढापाका मात्रै रहेकाे उहाँको भनाइ छ । आफ्नो बाउ र बाजे झण्डै ५३ वर्ष अगाडि ढोरपाटनमा आएको भन्दै अहिलेसम्म राज्यबाट आधारभूत सेवा सुविधासमेत नपाउँदा समस्या भोग्नु परेको भुदीले गुनासो गर्नुभयो । क्याम्पमा बस्दै आएको हुने खानेहरु सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै ढोरपाटनमा रहेको उहाँ बताउनुहुन्छ ।
“म त ढोरपाटनमै जन्मिएको हुँ, हाम्रो बुबा र हजुरबुबाहरु पहिलेनै यहाँ आउनु भएको रैछ, यहाँ ठूलो बस्ती छ, त्यो बस्तीमा पहिले धेरै शरणार्थीहरु थियौँ, अहिले घटेर थोरै भएका छौँ” उहाँले भन्नुभयो - “क्याम्पमा धेरै हुँदा सजिलो हुन्थ्यो, यसै गरि क्याम्प छोड्दै गए भने त यहाँका सबै घरहरु खाली हुन्छन् होला, अहिले पनि धेरै घर भत्किएका छन् ।”
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचय पत्र नविकरण गर्नेको संख्या पनि कम छ । आर्थिक वर्ष २०७८/०७९ मा ५६ जना, २०७९/०८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले परिचय पत्र नविकरण गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच