काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताउनुभएको छ । चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधिमण्डलसँग सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य-सचिव घिसिङले सो कुरा बताउनुभएको हो ।
‘चीन सरकारले खेलकुदसहित नेपालका विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय र सराहनीय छ । यसले नेपाल र चीनबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्वस्त छु ।’ सदस्य-सचिव घिसिङले दुई देशबीच खेलकुदका क्षेत्रमा दिगो हिसाबले सहकार्य गर्नका लागि छलफल र गृहकार्य गरी अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाउँदै राखेपलाई खेल सामग्री र खेलकुद विज्ञान रिसर्च ल्याबका लागि सामग्री सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
निर्देशक याङसहितको प्रतिनिधिमण्डल पोखरामा भएको क्रस कन्ट्री दौडका लागि नेपाल आएको थियो । सोही कार्यक्रमका दौरान निर्देशक याङले राखेपलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । निर्देशक याङले नेपालसँग खेलकुद, पर्यटन र सांस्कृतिक क्षेत्रमा विशेष गरी युवा लक्षित कार्यक्रममा सहकार्य गर्न चाहेको बताउँदै युनान भ्रमणका लागि निमन्त्रणा गर्नुभयोे । उहाँले यो कार्यका लागि दूतावासको समन्वयमा छलफल गरेर अगाडि बढ्न सम्झौता गर्नुपर्नेमा जोड दिँदै आउटडोर स्पोर्ट्सका लागि युनान एक उत्कृष्ट स्थल भएको बताउनुभयो ।
भेटका दौरान नेपालका लागि चीन दूतावासका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । भेटपछि निर्देशक याङसहितको प्रतिनिधिमण्डल स्वदेश फर्कन त्रिपुरेश्वरबाटै विमानस्थल गएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच