काठमाडौं । नेपाली महिला क्रिकेट खेलाडीले इतिहास रचेका छन् । आगामी वर्ष हुने आइसिसी यू-१९ टी-२० क्रिकेट विश्वकपमा नेपाल छनोट भएको हो । बुधबार भएको निर्णायक खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल पहिलोपटक यू-१९ महिला विश्वकपमा छनोट भएको छ । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाउनुभयो भने कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान गर्नुभयो । यस्तै, सावित्री धामीले १२ रन बनाउनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाउनुभएको थियो भने रिनिथा रञ्जितले २० रन र ओपनर लावन्या केनी एवं इन्दुजा नन्दाकुमारले समान १० रन बनाउनुभएको थियो ।
नेपालका लागि कृष्मा गुरुङले चार ओभरमा १७ रन दिएर चार विकेट लिनुभएको थियो । उहाँले कप्तान धर्निधरकासहित तीन खेलाडीलाई एकै ओभरमा आउट गर्नुभएको थियो । नेपालका रिया शर्मा र सीमा केसीले समान दुई–दुई र रचना कुमारी चौधरीले एक विकेट लिनुभएको थियो ।
६ खेलबाट समान १० अंक भएपनि युएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो । अंक तालिकामा नेपालको नेट रनरेट ३.९३५३ छ । युएईको भने ३.७४०३ रहेको छ । लिग चरणमा नेपाल र युएईले समान एक खेलमा हार बेहोर्दा पाँच खेलमा जित निकालेका हुन् ।
नेपाल अघिल्लो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो । बुधबारको जितसँगै नेपालले पहिलो खेलमा भोगेको हारको बदलासमेत लिएको छ । छनोटमा नेपाल युएईसँग मात्र पराजित भएको थियो । लिग चरणमा नेपालले थाइल्याण्डलाई पहिलो खेलमा ६७ तथा दोस्रो खेलमा १०६ रनले हराएको थियो । कुवेतमाथि पहिलो खेलमा १०८ रनको फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा १६५ रनको फराकिलो जित दर्ता गरेको थियो ।
१६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रिय छनोटबाट नेपालसहित पाँच देशले भाग लिँदै छन् । जसमा अघिल्लो विश्वकप खेलेका अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्टइण्डिज छन् । त्यस्तै, क्षेत्रीय छनोटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका छन् ।
यस विश्वकप खेल्ने १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । यसअघि २०२३ मा भएको पहिलो यू-१९ महिला टी-२० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनोट प्रतियोगितामा नेपाल तेस्रो हुँदै एसियाबाट छनोट हुन सकेको थिएन । एशियाबाट युएई शीर्ष स्थानमा रहँदै छनोट भएको थियो । यू-१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच