काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री एवं पर्यटनमन्त्री बद्री पाण्डे र कांग्रेसकै सांसद राजेन्द्र बजगाईं बीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्री पाण्डेको आलोचना गर्दै आउनुभएका सांसद बजगाईंले क्यासिनोलाई अनुमति दिँदा मन्त्री पाण्डेले कमिसन लिएको आरोप लगाएपछि विवाद मिलाउन कांग्रेस नेतृत्वलाई नै हम्मेहम्मे परेको छ । सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा भएका बेला मन्त्री र सांसदबीच चलेको जुहारीले पार्टी र सरकार दुवैलाई अप्ठ्यारो पार्ने देखिन्छ ।
गोरखा-१ बाट प्रत्यक्ष निर्वाचित सांसद बजगाईंले नेपालको उड्डयन क्षेत्रमा विकृति बढेको, कृत्रिम भाडादर बढाइएको लगायतका आरोप लगाउँदै केही दिनअघि माइतीघर मण्डलामा प्रदर्शन गर्नुभएको थियो । पार्टीभित्र एकै समूहमा रहेका र विगतमा असल सम्बन्ध भएका मन्त्री र सांसदको झगडा मिलाउन कांग्रेस नेतृत्वलाई सकस परेको हो । बजगाईंले सामाजिक सञ्जालमार्फत भैरहवाको रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाउनुभएको छ । बजगाईंले क्यासिनो सञ्चालन अनुमतिपत्र सार्वजनिक गर्दै मन्त्री समेतले कमिसन पाएको दाबी गर्नुभएको छ ।
आफ्नै पार्टीका सांसदले लगाएको आरोपलाई मन्त्री पाण्डेले भने खण्डन गर्नुभएको छ । निष्ठापूर्वक काम गरिरहँदा मनोबल गिराउने उद्देश्यले निहित स्वार्थ राखेर आफूविरुद्ध आक्रमण भएको पाण्डेको भनाइ छ । सांसद बजगाईं र मन्त्री पाण्डेबीच व्यक्तिगत जस्तो देखिएको विवादको पछाडि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको पनि नाम जोडिएको छ । उड्डयन क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै सांसद बजगाईंसहित अधिकांश कांग्रेस नेताहरूले अधिकारलाई कारबाही गर्न माग गर्दै आएका थिए । यसबारे कांग्रेस सभापति देउवा समेतले सांसदहरूको डेलिगेसनसहित प्रधानमन्त्री ओलीलाई भेटेर जानकारी गराउनुभएको थियो । मन्त्री पाण्डेले भने महानिर्देशक अधिकारीलाई संरक्षण दिएका कारण कांग्रेस सांसदहरूको असन्तुष्टि बढेकै थियो । संसद्मा सांसदहरूले व्यक्त गरेको धारणालाई लिएर महानिर्देशक अधिकारीले सामाजिक सञ्जालमा केही समयअघि असभ्य टिप्पणी गर्नुभएको थियो ।
मैले सुनेको कुरा जनतालाई भनिदिएँ : बजगाईं
कांग्रेस सांसद बजगाईंले आफूलाई आएको सूचना सार्वजनिक मात्रै गरिदिएको र त्यसको अनुसन्धान गर्ने जिम्मेवारी सम्बद्ध निकायको रहेको बताउनुभएको छ । पर्यटन क्षेत्रका जिम्मेवार व्यक्तिहरूले क्यासिनोको अनुमतिपत्र दिँदा मन्त्रीले करोडौँ कमिसन खाएको जानकारी आफूलाई दिएको र सोही तथ्य आफूले सामाजिक सञ्जालमा राखेको बजगाईंको भनाइ छ । ‘कसैले मलाई भन्यो कि, मैले मन्त्रीसम्म पुग्नेगरी यति घुस दिएँ मैले भनेर । त्यही कुरा मैले सञ्जालमा लेखेको हुँ । पार्टीको कुरा भए पार्टीमा गर्ने हो घुस कमिसनको कुरा त जहाँ पर्छ त्यही गर्न पाइयो नि । मन्त्रीमाथि यस्तो आरोप लाग्यो भनेको हुँ, त्यसको प्रमाणिकता छानविनबाट होस्’ बजगाईंले भन्नुभयो । पर्यटन क्षेत्रमा आफ्नो अनुभवका आधारमा मन्त्रीलाई दिएका इमानदार सुझावहरू कार्यान्वयन गर्नुको साटो मन्त्रीको सचिवालयले नै आफूविरुद्ध साइबार वार सुरु गरेको बजगाईंको भनाइ छ । ‘मन्त्रीको सचिवालयका मान्छेले मेराविरुद्ध लेखेपछि मैले लेखेको हुँ । मेरो भनाइलाई मिडियाले कसरी लेख्छन् भन्ने कुरा मेरो वशको विषय होइन । मैले मन्त्रीले घुस खाएको किटानी गरेको होइन, घुस दिए भन्ने मान्छे भेटिए भनेको हो’, उहाँले भन्नुभयो ।
कानुनी र नैतिक लडाइँ लड्छु : मन्त्री पाण्डे
पर्यटनमन्त्री पाण्डेले निहित स्वार्थ पूरा गर्न केही व्यक्तिले आफ्नो निष्ठाविरुद्ध धावा बोलेको आरोप लगाउनुभएको छ । उहाँले आफ्नो चरित्रहत्या गराउने उद्देश्यले सांसद बजगाईंले लगाएका आरोपको जस्तोसुकै प्रतिवाद गर्न तयार रहेको बताउनुभएको छ । ‘यसमा पार्टीले वा सरकारले जसले छानविन गरे पनि हुन्छ । मबाट कतै केही कमजोरी भएको छ भने म आफैँ पदमा बस्दिनँ’ पाण्डेले भन्नुभयो । उहाँले पर्यटन क्षेत्रमा आफ्नो स्वार्थ अनुकूल निर्णय गराउन नसकेपछि सांसद बजगाईंले आफूविरुद्ध जथाभावी लेखेको दाबी गर्नुभयो । ‘पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन खोजिरहेका मानिसहरूले मेरो सत्प्रयासलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल गिराउने गरी अनि आफ्नो खेलो फड्कोलाई बलियो बनाउने गरी षड्यन्त्र रचेका हुन्’, पाण्डेको भनाइ छ । उहाँले सांसद बजगाईंविरुद्ध कानुनी र नैतिक दुवै लडाइँ लड्नेसमेत बताउनुभयो ।
अध्ययन गर्दै छौँ : प्रमुख सचेतक घिमिरे
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद र मन्त्रीको झगडाबारे आफूले गहिरोसँग अनुसन्धान गरिरहेको बताउनुभयो । हिमालय टाइम्ससँगको कुराकानीमा उहाँले थाहा पाउनासाथ आफूले दुवै पक्षसँग आवश्यक छलफल गरेको र छिट्टै उचित निष्कर्षमा पुग्ने बताउनुभयो । ‘यो विषय आउनासाथ मैले छलफल गरेको छु । सांसदले मन्त्रीबारेको गम्भीर आरोप पार्टीभित्र नराखेर सामाजिक सञ्जालमा हाल्नु गलत नै हो । मन्त्रीले पनि आफ्नो कुरा राख्नुभएको छ । थप कुरा संसदीय दलले अध्ययन गरेर निष्कर्षमा पुग्छ’ घिमिरेले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच