बैतडीका १५ जना उम्मेदवारको धरौटी जफत

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १५ जनाको धरौटी जफत भएको छ । प्रतिनिधिसभाका नौजना र प्रदेशसभातर्फका दुवै क्षेत्रबाट समान तीन/तीन गरी ६ जनाको धरौटी जफत भएको हो । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरूको धरौटी जफत गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

धरौटी जफत हुनेमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्द (२५०९), राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट (१४२३), राप्रपाका देवबहादुर चन्द (१७५९), राप्रपा नेपालका हिम्मतबहादुर चन्द (१७१), स्वतन्त्र उम्मेदवार त्रिलोकबहादुर चन्द (२३७), स्वतन्त्र उम्मेदवार मानसिंह बिष्ट (३५२), नेस्नलिष्ट पिपुल्स पार्टीका कृष्णबहादुर चन्द (१२७), जनता समाजवादी पार्टीका आनसिंह भण्डारी (१३९), नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाईं (९०) रहनुभएको छ । प्रतिनिधिसभातर्फ ७७ हजार ४६० मत खसेकोमा ७२ हजार ४९८ मत सदर भएको थियो ।

प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका नरेन्द्रबहादुर बिष्ट (२,११४) राप्रपा नेपालकी कृष्णा पन्त (१७८) र राप्रपाका रणबहादुर बिष्ट (९६८) को धरौटी पनि जफत भएको हो । प्रदेशसभा (क) मा ४० हजार १५५ मत खसेकोमा ३८ हजार १४२ मत सदर भयो ।

त्यसैगरी प्रदेशसभा (ख) मा नागरिक उन्मुक्ति पार्टीकी रेवती बोहरा (१७०), राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशी (१,२०१) र राप्रपा नेपालका प्रेमबहादुर चन्द (२२०) को धरौटी जफत भएको हो । (ख) मा ३७ हजार २८० मत खसेकोमा ३५ हजार ४६० मत सदर भयो ।
बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका थिए भने प्रदेशसभा (क) मा ६ र (ख) मा पाँच जनाले उम्मेदवारी दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?