पाँच कम्पनीको सेयर सूचीकृत

Read Time = 5 mins

काठमाडौं । साताभर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा विभिन्न पाँच कम्पनीका सेयर सूचीकृत भएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था, प्राइम कमर्सियल बैंक, चिलिमे जलविद्युत् कम्पनी, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंकको गरी कुल ११ करोड ६९ लाख ९९ हजार सात सय ५८ कित्ता सेयर सूचीकृत भएको हो । गुराँस लघुवित्तको चार प्रतिशत बोनसबापतको ३९ हजार कित्ता सेयर सूचीकृत भएको छ । उक्त लघुवित्तले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई चार प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कुल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी प्राइम कमर्सियल बैंकको चार प्रतिशत बोनसबापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई चार प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । चिलिमे जलविद्युत् कम्पनीको ७.५ प्रतिशत बोनसबापतको ५० लाख ६३ हजार ८४६.०१ कित्ता सेयर सूचीकृत भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त कम्पनीले लिलामीमार्फत् बिक्री गरेको संस्थापकको ४३ लाख ५७ हजार एक सय ८५ कित्ता सेयर हकप्रद सेयर सूचीकृत भएको हो ।

त्यस्तै, प्रभु बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर सूचीकृत भएको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर सूचीकृत भएका हुन् ।

निराशाजनक कारोबार
साताभर सेयर बजार निराशाजनक रहृयो । सातामा पाँच दिन खुलेको बजारमा एक दिन झिनो अंकले नेप्से बढे पनि बाँकी चार दिन घटेको छ । यो साता नेप्से ६९.३९ अंकले घटेर १९ सय ३३.३१ अंकमा झरेको छ भने छ अर्ब १८ करोड ८२ लाख ६७ हजार छ सय ५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो हप्ता तीन दिनमात्र खुलेको बजारमा नेप्से ३३.६८ अंकले बढेर दुई हजार २.७० अंकमा पुगेको थियो भने चार अर्ब सात करोड १४ लाख ५६ हजार पाँच सय ८६ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

फागुन २५ गते एकै दिन ५० अंकभन्दा बढी बढेर नेप्से दुई हजार अंकमा पुगेको थियो तर फागुन २८ गते अर्थात् आइतबार नेप्से २६.८० अंकले घट्दै १९ सय ७५.९० अंकमा झरेको थियो । सोमबार थप २४.६८ अंकले नेप्से घट्दै १९ सय ७७.५२ अंक र तेस्रो दिन मंगलबार १.८५ बढ्दै १९ सय ५३.०६ अंकमा पुगेको थियो । चौथो दिन पुनः नेप्से १४.४४ अंकले घटेकोमा पाँचौँ दिन ५.३२ अंकले घटेर १९ सय ३३.३१ अंकमा सीमित भएको थियो ।

यो साता नेप्सेमा कारोबार हुने १३ वटै समूहको सूचक घटेकोमा लघुवित्तको सबैभन्दा बढी ५.४५ प्रतिशत घटेको छ । अन्य समूहको सूचक सबैभन्दा कम १.३८ प्रतिशत घटेको छ । अंकका आधारमा जीवन बीमा समूहको सूचक सर्वाधिक ४११.५१ अंक घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूहको ०.२९ अंक घटेको छ । सातामा धितोपत्र बजारको पुँजी एक लाख सात हजार रुपैयाँले घट्दै २७ खर्ब ९३ अर्ब ४१ करोड ८० लाखमा झरेको छ । अघिल्लो साता २९ खर्ब एक अर्ब ३१ करोड ७० लाख रुपैयाँ कायम भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?