उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीका क्रिकेट खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एसियन गेम्सको टी-२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुने खेलाडीमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवं नेपाल प्रहरीमा आबद्ध करण केसी र गुल्सन झा छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताउनुभयो ।

उहाँले आफूभित्रको स्पोर्टस्म्यान सिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीलाई आग्रह गर्नुभयो ।

यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र संगठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित खेलाडीहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान ऐरीले नेपाल प्रहरी संगठनमा आबद्ध भएकामा गौरव महसुस गरेको बताउनुभयो । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?