काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरू पूरा गर्न सबै विकसित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी इल्हाम अलियेभसँग बिहीबार त्यहाँ भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो । ‘जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्बन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्दछौँ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव बेहोरिरहेको बताउनुभयो । उहाँले हिमालमा भएको हिउँ पग्लिरहेको, तल्लो तटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटिरहेको एवं जलवायु परिवर्तनबाट सृजित प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यस वर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गर्नुभयो ।
‘सरकारले हरेक वर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसंख्याका लागि खर्च गर्नु परिरहेको छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।
पर्वतीय भू-बनोट तथा भू–परिवेष्ठित अवस्थितिका कारण हामीबीच भौगोलिक समानता मात्र नभइ पर्वतीय मुलुकले सामना गर्नुपरेका संरचनागत चुनौती र असरहरु पनि समान रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन विश्वको साझा विषय हो, पर्वतीय भूभाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नुपरिरहेको छ, नेपालले पर्वतीय मुलुकहरुले सामना गर्नुपरेका विषयलाई कोपलगायत मञ्चहरूमा उठाउँदै आएकाले यसमा अजरबैजानी सरकारको ऐक्यबद्धताका लागि आग्रह गर्न चाहन्छु ।’
सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको बृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेको र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताउनुभयो ।
उहाँले अजरबैजानका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप-२९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको ठूलो असर व्यहोरिरहेका मुलुकको हकहित संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा कृषि, पर्यटन र जलस्रोतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।
भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेभले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक रहेर काम गर्ने बताएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति अलियेफले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न आफ्नो देश सकारात्मक रहेको बताउनुभयो । सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशले संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका विषयमा सहकार्य गरिरहेका छन् ।
पौडेल आज नेपाल फर्किँदै
राष्ट्रपति रामचन्द्र पौडेल (कोप-२९) मा सहभागी भएर बिहीबार अजरबैजानको बाकु शहरबाट नेपालका लागि प्रस्थान गर्नुभएको छ । बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्कनुहुने उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँलाई त्यहाँस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गर्नुभयो । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु पुग्नुभएको हो । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौंबाट दोहाको लागि प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल आज स्वदेश फर्कने कार्यतालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच