काठमाडौं । सरकारले नारायणगढ-बुटवल सडक खण्डको ठेक्का तोड्ने तयारी गरेको छ । पटक-पटक म्याद थप्दा पनि सडक निर्माणको काम सम्पन्न नगरेपछि सरकारले ठेक्का नै तोड्ने तयारी गरेको हो । महेन्द्र राजमार्गअन्तर्गत बुटवल-नारायणढ सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणमा चीन जान लागेका बेला सरकारले चिनियाँ कम्पनीसँगको ठेक्का तोड्ने तयारी गरेको हो । प्रधानमन्त्री ओली डिसेम्बर पहिलो साता चीनको औपचारिक भ्रमणमा जाने तयारीमा हुनुहुन्छ । स्वयं प्रधानमन्त्री ओलीले नै सडक निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुगिने बताउनुभएको छ ।
मंसिरभित्र काम सुरु नभए चिनियाँ कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी उहाँले दिनुभयो । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सांसद, जनप्रतिनिधि लगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभएको हो । सडक विस्तारको काम २०७९ साउनमै सम्पन्न गर्नुपर्ने गरी चिनियाँ कम्पनीले २०७४ मा ठेक्का पाएको थियो । तर, २०८१ को कात्तिक सकिँदासम्म सडक निर्माणको काम ५२ प्रतिशत मात्र पूरा भएको छ ।
नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । छलफमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।
भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटक-पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी दिनुभयो । यसअघि सरकार र परामर्शदाता कम्पनीले आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनलाई चेतावनी पत्र (नोटिस टु करेक्ट-एनटिसी) पठाएको थियो । ठेकेदारलाई ठेक्का तोड्नु अघिको प्रक्रियाका रूपमा दिनुपर्ने अन्तिम चेतावनीस्वरूप एनटिसी जारी हुने गर्छ ।
२०७५ देखि सडक विस्तारको काम सुरु गरेर दोस्रोपटक पनि म्याद थप हुँदासमेत योजनाअनुसार काम नगरेपछि ठेकेदारलाई ठेक्का तोड्ने चेतावनी सहितको पत्र पठाएर सचेत बनाइएको सडक विस्तार आयोजना पश्चिम खण्डले जनाएको छ । चेतावनी पत्रमा परामर्शदाता र सडक विस्तार आयोजनाले आगामी मंसिर २५ भित्र एकतर्फी रूपमा ७० प्रतिशत कालोपत्र हुनुपर्ने र चैत १७ सम्म आयोजनाको पूर्वी र पश्चिम खण्डको सबैमा एकतर्फी कालोपत्र गर्नुपर्ने सर्त राखिएको छ ।
ठेकेदार कम्पनीले आर्थिक अभाव भएको भन्दै कामलाई तीव्रता दिएको छैन । सडक विस्तारका लागि आवश्यक निर्माण सामग्रीको पनि एक अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । वर्षौंसम्म सडक मर्मत नगर्दा सवारीसाधन सञ्चालनमै असहज हुने गरेको छ । सडक निर्माणमा ढिलाइ हुँदा सबैभन्दा बढी सास्ती यात्रु र राजमार्ग वरपरका स्थानीयले भोग्नुपरेको छ । सरकारी निकायबाट पटक–पटक सडक निर्माण र मर्मतका लागि ताकेता गर्दासमेत ठेकेदारले अटेरी गर्दै आएको छ । सम्झौताअनुसार काम नगर्ने ठेकेदारले सरकारलाई उल्टै रकम नभएको र मर्मतको कामसमेत आफूहरूले तत्कालै गर्न नसकिने भन्दै आएको छ ।
२०७५ चैतमा सुरु गरेर सम्झौताअनुसार सडक विस्तारको काम भएको भए ०७९ साउनमा निर्माण सम्पन्न हुने थियो । तर, कोरोना संक्रमण, निर्माण सामग्रीजस्ता कारण देखाएर ठेकेदारले पर्याप्त जनशक्ति परिचालन गरेन । पहिलोपटक ०८० साउन ११ सम्मका लागि म्याद थपिएको थियो । पहिलोपटक थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटकका लागि ०८१ साउन ८ सम्म थप गरेको थियो । दोस्रोपटक पनि पूरा नभएपछि तेस्रो पटकका लागि ०८२ साउन ८ सम्म म्याद थप भएको छ । नारायणगढ-बुटवल सडक खण्डको पूर्वी र पश्चिम खण्डमा ६ वर्षमा ५३ प्रतिशत मात्र काम भएको छ ।
हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काममा ढिलाइ हुँदा आर्थिक विकासका गतिविधिमा समेत असर परेको बताउनुभएको छ । बिहीबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसहित सम्बन्धित निकायसँगको छलफलका क्रममा उहाँले सडक विस्तारमा भएको ढिलाइले स्थानीयले कष्टको सामना गर्नुपरेको बताउनुभयो । निर्माणको काम समयमै नहुनुलाई आफूले गम्भीर रूपमा लिएको भन्दै अब निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो । ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलो-मैलोमा बस्नुपरेको छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ । यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।’ डिसेम्बरसम्म निर्माण कम्पनीले मागेको समय दिएर त्यसपछि निर्णायक ढंगले कदम चाल्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो । ‘निर्माणको अहिलेको गतिमा काम अलपत्र छाड्ने हो भने सरकारले भुक्तानी कसरी दिने ? भन्ने अवस्था पनि हुन्छ । यदि निर्माण कम्पनीले काम गर्ने हो भने गरोस् गर्दैन भने ठेक्का तोड्नुको अर्को विकल्प रहँदैन ।’
ठेक्का तोडेर अन्य विकल्पमा जानुपर्ने हुन्छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनअनुसार बुटवल-नारायणगढ सडक निर्माणको ठेक्का तोड्ने प्रक्रियामा मन्त्रालय अघि बढ्ने बताउनुभएको छ । बिहीबार नारायणगढ-बुटवल सडकखण्डका जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा मन्त्री दाहालले सडक निर्माणको ठेक्का तोड्ने प्रक्रियामा मन्त्रालय अघि बढ्ने बताउनुभएको हो । बुटवल-नारायणगढ सडक निर्माणका लागि तिहारपछि काम सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिइए पनि हालसम्म काम सुरु नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार एशियाली विकास बैंक (एडिबी) को ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा रहेको निर्माण कम्पनीको कार्यालयमा समेत ताकेता गरिएको थियो । मन्त्री दाहालले सम्झौताअनुसार समयमा काम सक्न बारम्बार आग्रह गरे पनि हालसम्म निर्माणमा प्रगति नभएको बताउँदै पछिल्लोपटक निर्माण कम्पनीका जिम्मेवार व्यक्तिले डिसेम्बरको अन्त्यसम्म काम सुरु गर्ने भनेर एसएमएस पठाएको उल्लेख गर्नुभयो । ‘हामीले तिहारपछि काम थाल्न निर्देशन दिएका थियौँ तर, अहिलेसम्म थालनी भएको छैन । निर्माण कम्पनीले सात अर्ब रकम पठाएका कारण थप रकम पठाउन नसकिने बताएको थियो । तर, सरकारले भुक्तानीमा कुनै अवरोध गरेको छैन,’ उहाँले भन्नुभयो । डिसेम्बरबाट काम थालनी गरेको अवस्थामा निर्माण कम्पनीलाई नै काम दिने तयारी रहेको बताउँदै, काम सुरु नगरेको अवस्थामा भने ठेक्का तोड्न अन्य विकल्पमा जानुपर्ने निर्णयमा मन्त्रालय पुगेको उहाँले स्पष्ट पार्नुभयो । ‘सरकारले भुक्तानी दिने काममा तलमाथि गरेका छैन । समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छौँ । तर पनि काम सुरु भएको छैन । डिसेम्बरको अन्तिमसम्ममा काम सुरु गर्छौं भनेको छ । त्यसमा विश्वास गर्ने कि नगर्ने अवस्था छ ।’
प्रधानमन्त्रीको चीन भ्रमण ‘चिनियाँ कार्ड’ जस्तो देखिएको छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाउनुभएको छ । भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा उहाँले ओली चीन भ्रमणमा जान लागेको विषयलाई ‘चिनियाँ कार्ड’को आरोप लगाउनुभयो । द हिन्दुकी पत्रकार सुहासिनी हैदरले प्रचण्डलाई ओलीले पहिलोपटक चीनको औपचारिक भ्रमण गर्न लागेको विषयमा प्रश्न सोध्नुभएको थियो । जवाफमा प्रचण्डले यो केपी ओली सरकारको अपरिपक्वता भएको बताउनुभयो । हाम्रो इतिहास, संस्कृति र भूगोलका आधारमा दुई छिमेकीसँग बराबरको सम्बन्ध निभाउनुपर्ने उहाँको भनाइ थियो । ‘यो केपी ओली सरकारको अपरिपक्वता हो । सरकारले दुई छिमेकीसँगको सम्बन्धमा परिपक्वता देखाउनुपथ्र्यो । केपीजी चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिएको छ । जुन गलत छ,’ अन्तर्वार्तामा प्रचण्डले भन्नुभएको छ, ‘हाम्रो इतिहास, संस्कृति र भूगोलका आधारमा हामीले छिमेकीसँग बराबरको सम्बन्ध निभाउनुपर्छ । उहाँले (चीन) जानुअघि भारतसँगको हाम्रो विशेष सम्बन्धको ख्याल राख्नुपथ्र्यो ।’
नागढुंगा-सिस्नेखोला सडक आंशिक रूपमा बन्द
नागढुंगादेखि सिस्नेखोला सडकखण्ड बिहीबारबाट आंशिक रूपमा बन्द भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार आगामी मंसिर ५ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने भएको हो । धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले सडकखण्ड आंशिक बन्द रहने आयोजनाले जानकारी दिएको छ । सुरुङमार्ग अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाले बताएको छ । साथै आयोजनाले यसक्रममा सवारीसाधन रोक्दा र चलाउँदा लेन अनुशासन कायम राख्न अनुरोध गरेको छ । मिलेसम्म वैकल्पिक सडक प्रयोग गर्न पनि आयोजनाले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच