फूलहरू : हाम्रा होइनन्, हाम्रा हुन्

kamal bayeli
Read Time = 14 mins

पहेँला राता सयपत्री घर वरिपरि मात्र होइन गोठ र बारीमा पनि हुन्थे । हामी राता सयपत्रीलाई मखमली भन्थ्यौं किनभने यो मखमलीकै रंग र त्यस्तै नरम पनि हुन्छ । वास्तवमा यसको नाम फ्रेन्च मेरिगोल्ड रहेछ । यसलाई रातो रंगको हुने हुँदा रगते फूल पनि भनिन्थ्यो । रगतजस्तो ठानेर यसलाई मालामा उति प्रयोग गरिँदैनथ्यो । मखमलीलाई चाहिँ सुपारे फूल भनिन्थ्यो । हामीले भनेको ठिकै रहेछ किनभने नेपाल भाषामा यसलाई ग्वे स्वाँ अर्थात् सुपारी फूल नै भनिँदो रहेछ । गोदावरी त आँगनको डिलभरि, तल्लो गराको डिलभरि लहलह हुन्थे । सेतो गोदावरी चमरजस्ता झुप्पाझुप्पा, पहेँलो गोदावरी गोलागोला चिटिक्कका । गल्लीगल्लीमा बारको रूपमा लहरका लहर फुलेका लालुपाते । धाराहरूमा शोभायमान बगनबेली । अझ वन नै फूलबारी बनाइदिने लालीगुराँश । आहा !

नेपालीहरूको मन मुटुमा बास बसिसकेका उपर्युक्त फूलहरूको ऐतिहासिक पृष्ठभूमितर्फ प्रवेश गरौं :

सयपत्री

सयपत्री दक्षिणी अमेरिकी क्षेत्रको रैथाने बिरुवा हो (सयपत्री फूल खेती प्रविधि, पृ. १) । सयपत्रीको जातीय नाम ’टागेटिस’ हो र यो प्राचीन रोमको एक दैविक अवतार ’टागेस्’ बाट जुरेको विश्वास गरिन्छ । सयपत्रीलाई जिसस क्राइष्टकी आमा मेरीसँग जोड्ने गर्दा रहेछन् । जसले मेरीलाई सिक्का चढाउन सक्ैदनथे, उनीहरू सयपत्री फूल चढाएर चित्त बुझाउँथे भन्ने विश्वास रहेछ ।

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले पनि सबैखाले सयपत्रीको उद्गम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भूभाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश हो भनी लेखेका छन् । खासगरी मेक्सिकोका पहाडहरूमा जङ्गली रूपमा आफैँ उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे रे ! श्रेष्ठका अनुसार ती क्षेत्रमा १५ प्रजातिका सयपत्री भेटिए पनि रूप, रंग, गुण र स्वभावले गर्दा स्पेनी अन्वेषकहरूले दुई प्रजातिलाई यूरोप पु¥याएका थिए । त्यतैबाट सयपत्रीले विश्वका विभिन्न देश विदेशमा प्रवेश पायो । नेपालमा कसरी र कहिले यी फूल आए भन्ने भरपर्दो आधार भेटिएको छैन (हिमाल खबर, कात्तिक १४, २०७३) । अर्का वनस्पतिविद् कमल मादेनले चाहिँ नेपालमा सयपत्रीको प्रयोग करिब १३० वर्षअघिदेखि हुन थालेको अनुमान गरेका छन् । उनी लेख्छन्, “भारतीयले निश्चय नै नेपालीले भन्दा पहिलेदेखि सयपत्री फूल तिहारमा प्रयोग गर्न थालेको हुनुपर्छ । तिहारमा सयपत्री फूलको अत्यधिक प्रयोग गर्ने चलन भारतीय संस्कृतिको प्रभाव हो ।” अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराईले त्यसैले भने, “तिहारमा सयपत्री नै, मखमली नै चाहिन्छ भन्ने शास्त्रमा लेखिएको छैन, माला जुन फूलको लाए पनि हुन्छ ।”

वनस्पतिविद् मादेनले तोकेरै सयपत्रीको उद्भव मेक्सिको लेखेका छन्  । उनका अनुसार १५औँ शताब्दीको अन्त्यतिर स्पेनिस पानीजहाज युरोपबाट मध्य अमेरिका पुगेपछि अमेरिकी महादेशबाट मेरिगोल्ड युरोप ल्याइएको बताइन्छ । युरोपियनले त्यसपछि अफ्रिका र एसिया पु-याए । मेक्सिकोमा यो फूललाई आम रूपमा मानिसको अन्त्येष्टिमा प्रयोग गरिन्छ । चिहानमा पनि व्यापक मात्रमा चढाउने गरिन्छ । सजावटका लागि त प्रयोग हुन्छ नै (नयाँ पत्रिका, २०७६ कार्तिक ९) ।” कतै पढेअनुसार होन्डुरसमा सयपत्रीलाई पानी मिलाएर लाशहरू धुन प्रयोग गरिन्छ रे, त्यसैले यसलाई मृतकहरूको फूल पनि भनिन्छ रे ! चिज एउटै भए पनि ठाउँअनुसार प्रयोग फरक हुने रहेछ ।

हाम्रोतिर भने तिहारको संस्कृतिमा मौलाएका सयपत्री फूल आज–भोलि सर्वव्यापी, सर्वकालीन पुष्पसामग्री बनिसकेको छ । सभा, गोष्ठी, स्वागत, विदाइ, सम्मान, अभिनन्दन मात्र हैन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाइसकेको छ । वनस्पतिविद् श्रेष्ठ भन्छन्, “संसारभर रुचाइने यस फूललाई बढी सम्मान भने नेपालीले नै दिएका छन् । शिरमा लगाउन होस् या घाँटीमा सजाउन, देवीदेवतालाई चढाउन यस फूलको प्रयोग हुन्छ ।”

मखमली

मखमली पनि सयपत्रीजस्तै हाम्रो घरआँगनमा सयपत्रीजस्तै सजिलै फक्रने फूल हो । यो फूल पनि सयपत्रीजस्तै आगन्तुक फूल नै रहेछ । डा. तीर्थबहादुर श्रेष्ठका अनुसार दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको अर्को अतिथि फूल हो मखमली । मखमली साउथ अमेरिका, पानामा र ब्राजिलमा पाइन्छ । त्यहीँबाट यी फूल नेपाल भित्र्याएको इतिहास छ (नागरिक, ११ कात्तिक, २०७६) ।

छुँदा घोच्छ तर यसको नाम मखमली । यो नाम नमिलेको जस्तो लाग्छ । बरु यसलाई वनस्पति जगत्मा भन्ने गरिएझैं सिलोसिया ग्लोबोसा नै भने हुने । ग्लोबोसा माने डल्लो । यस अर्थमा यसलाई डल्ले फूल भने पनि हुने रहेछ ।

गोदावरी

गोदावरी फूलको सौन्दर्य विश्वमा सम्मानित छ । यो चीनको मौलिक फूल हो । चीनमा यसलाई चु भनिन्छ । गोदावरी जापानको राष्ट्रिय फूल पनि हो । गोदावरी फूल खेती सर्वप्रथम चीनमा भएको पाइन्छ (गोदावरी फूल खेती प्रविधि, पृ. १) । जापानमा आठौं शताब्दीमा र युरोपमा सत्रौं शताब्दीमा पुगेको यो फूल पर्सिया हुँदै भारत छिरेको रहेछ ।

गोदावरीलाई इस्लामिक संसारमा गुलदाउदी भनिने रहेछ । धर्मगुरु दाउदको नाममा यो समर्पित रहेछ । भारतमा पनि यसलाई गुलदाउडी भनिन्छ । यही गुलदाउडी अपभ्रंश हुँदै नेपालीका जिब्रोमा गोदावरी बन्न पुगेको हो भनिन्छ । हामी यसलाई गाउँघरमा गुर्धली भन्थ्यांै । तर गोविन्द पोखरेलका अनुसार चाहिँ यस फूलको नाम गोदावरी रहनुको कारण यसरी उल्लेख गरेका छन्, “करिब सय वर्षअगाडि जापानबाट पढेर फर्कने क्रममा विद्यार्थी दीपनरसिंह राणाले ‘क्राइसेन्थेमम’ नामको बिरुवा गोदावरीमा रोपेका थिए । गोदावरीमा रोपिएको हुनाले त्यो फूलको नामै गोदावरी रहन गएको हो ( हिमाल खबर, मसिर ८, २०७५) ।”

के गर्ने ?

तिहारमा मुख्य तीन प्रकारका फूल प्रयोग हुन्छन् : मखमली, सयपत्री र गोदावरी । यी फूल तिहारसँग प्रत्यक्ष जोडिएका छन् । डा. तीर्थबहादुर श्रेष्ठका शब्द सापटी लिएर भन्नुपर्दा यी फूल हाम्रो वनमा रैथाने फूल होइनन्, बाहिरबाट ल्याइएका हुन् । नेपालका बगैँचा र गमलाहरूमा फुल्ने धेरैजसो फूल मध्यअमेरिकाका हुन् । ती फूलहरू ब्राजिल, पानामा, मेक्सिकोबाट भित्रिएका हुन् । त्यसैले उनी सुझाव दिन्छन्, “नेपाल यस्ता फूल र वनस्पतिका लागि एकदमै उपयुक्त थलो हो । यहाँ संसारका धेरै मुलुकमा नपाइने दुर्लभ वनस्पति र बोटबिरुवा पाइन्छन् । बरु हामीले तिहारमा अन्य हाम्रै मुलुकका थुँगे फूल, बाह्रमासे फूल प्रयोग गर्नुपर्छ ।”

डा. श्रेष्ठको कुरा मनासिव छ तर चुनौती छ रैथाने चिन्नुमा । रैथाने खोज्ने क्रममा हामीले लालुपातेलाई रैथाने ठानौंला तर त्यो पनि गलत हुन जान्छ । लालुपाते फूल साउथ इन्डियातिर पहिले पोर्चुगिजहरूले ल्याएका रहेछन् । हिन्दुस्तानमा ब्रिटिस राज अवतरण भएपछि धेरैजसो फूलहरू ब्रिटिस आर्मीमा गएका नेपालीहरूले लिएर आएका रहेछन् । हाम्रो राष्ट्रिय फूल लालीगुराँश त पक्कै रैथाने हुनुपर्छ भन्ने लाग्ला, त्यो पनि गलत नै हुन्छ । यसको इतिहास पनि अमेरिकातिरै जोडिने रहेछ । कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँशहरू नामक पुस्तकमा गुराँशको उत्पत्ति, विकासक्रम र भौगोलिक अवस्थाका बारेमा पढ्न पाइन्छ ।

काठमाडौंमा ढकमक्क फुल्ने, शिरीष पनि भनिने ज्याकरान्डा दक्षिण अमेरिकी फूल रहेछ । गाउँघरतिर धाराहरुमा बगनबेलीले शोभा बढाएको हुन्थ्यो । त्यसलाई हामी मन्दनी फूल भन्थ्यौं । मदानीजस्तै फिर्का हुने भएर मदानी फूल भनिएको हो तर अपभ्रंस भएर मन्दनी बनिदियो । यो पनि दक्षिण अमेरिकी मूलकै फूल रहेछ । बरु तिउरी फूल नेपालको नजिक रहेछ । मादेनले यस फूलको प्रयोग आजभन्दा चार हजार वर्षभन्दा पहिले नै भारतवर्षमा रहेको प्रमाण पाइएको बताएका छन् । तत्कालीन भारतवर्षभित्र नेपाल पनि परेपछि तिउरीलाई रैथाने नै भने पनि फरक परेन । त्यस्तै गार्डेनिया भनेर चिनिने इन्द्रकमल फूललाई पनि रैथाने नै भनिँदो रहेछ ।

अन्त्यमा

अब यसो भन्न सकिन्छ: के कहाँको भन्नेतिर होइन हामीले के कस्तो भनेर हेनुपर्ने हुन्छ । बेलायतको कोट हाम्रो राष्ट्रिय पोशाक बनेको छ भने, बेलायतबाटै भित्रिएको भलिबल हाम्रो राष्ट्रिय खेल बन्न मिल्छ भने, टाईले हाम्रा बाबुनानीको गला सजिन हुन्छ भने यहाँ वर्षौंदेखि सांस्कृतिक रूपमा बानी परिसकेका सयपत्री, मखमली, गोदावरीलाई अपनाउँदा केही पनि विग्रदैन ।

हामीलाई विदेशी उत्पादनहरूमाथि नै विश्वास छ । त्यहाँका चिजबिजहरू मात्र होइन ती देशहरू नै हाम्रा प्यारा बनिसकेका छन् । आज अमेरिका, युरोप, अष्ट्रेलिया हाम्रो मुख्य रोजाइमा पर्ने गरेका छन् । जापान, कोरिया, मलेसिया, खाडी मुलुकहरूले नै हाम्रो दानापानीको आधार बनेको छ । राम्रो कुरा जहाँको पनि राम्रै हुन्छ, नराम्रा कुरा रैथाने भए पनि त्याज्य हुन्छ । रराम्रा कुरा गर्वका साथ ग्रहण गर्ने र आफ्नै दाबी गर्न समेत पछि नपर्ने हाम्रो संस्कृति नै बनिसकेको छ । अब हामीमा हाम्रा नराम्रा कुरा त्याग्ने सोचको खाँचो छ ।

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?