काठमाडौं । नेपाल प्रियिमर लिग (एनपिएल)को फ्रेन्चाइज टोली चितवन राइनोजले पाँचौं विदेशी खेलाडीका रूपमा इंग्लिस अलराउण्डर रवि बोपारालाई अनुबन्ध गरेको छ । क्लबले सामाजिक सञ्जालमार्फत् इंग्ल्याण्डका लागि तीनै शैलीको क्रिकेट खेलिसक्नुभएका ३९ वर्षीय बोपारालाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
बोपाराले इंग्ल्याण्डका लागि ३८ टी-२० अन्तर्राष्ट्रिय खेलमा तीन अर्धशतकसहित ७११ रन बनाउनुभएको छ । उहाँको नाममा १६ विकेट पनि छ । बोपारासँग इंग्ल्याण्ड, भारत, पाकिस्तान, अगष्ट्रेलिया, श्रीलंकाजस्ता देशका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको टोलीले यसअघि दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ, इंग्ल्याण्डका ल्युक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टी इटनलाई भित्र्याएको थियो । चितवनको मार्की खेलाडी राष्ट्रिय टोलीका अलराउण्डर कुशल मल्ल हुनुहुन्छ ।
टोलीले राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवन राइनोजसँगै सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच