संसारका कुनै पनि देशको शासन व्यवस्था आफ्नै किसिमको हुन्छ । व्यवस्था जे जस्तो भए पनि सञ्चालक गतिलो भयो भने शासकीय पद्धतिले र देशको विकासले गति लिने गरेको हुन्छ । यदि व्यवस्थाका सञ्चालक देशप्रति जिम्मेवार भएनन् भने जुनसुकै व्यवस्था पनि कमजोर हुन्छ । व्यवस्थामात्र कमजोर होइन देशको अवस्था चारैतिरबाट कमजोर हुने गरेको देखिन्छ । त्यसैले देशको उन्नति, प्रगतिमा व्यक्ति र व्यवस्था होइन सञ्चालक गतिलो हुनु अनिवार्य मानिएको हुन्छ । व्यवस्था राजतन्त्र नै किन नहोस् सञ्चालनकर्ता वा सत्तामा रहेको मूल व्यक्ति वा प्रधान शासक र शासनमा बस्ने व्यक्ति सबल हुनु जरुरी देखिएको पाइन्छ ।
महाभारत युद्धको समाप्तिपछि भीष्मले युधिष्ठिरलाई यही कुराको संकेत गरेका छन् । उनको शासन सञ्चालनमा इमानदारीता र शासन गर्ने व्यक्तिले निर्वाह गर्ने भूमिकाका बारेमा समेत चासो राखेका छन् । शासन गर्ने व्यक्तिले सबै कुरालाई सार्वजनिक गर्दैन । कतिपय कुरा देशका लागि गोप्य राखिएका हुन्छन् । ती गोपनीय कुरालाई पनि प्रधान शासकले सल्लाह लिने व्यक्तिलाई नै गुप्त वा गोपनीय व्यक्तिका रूपमा मानिएको हुन्छ । ती व्यक्तिले शासकीय पद्धतिलाई गति दिने सन्दर्भमा भीष्मले युधिष्ठिरलाई राज्यको गोप्यतालाई लिनसक्ने व्यक्तिका रूपमा उल्लेख गरेका छन् ।
गोप्य मन्त्रणा
शासनमा देशको हितका लागि प्रतिकूल हुने अवस्थाको सिर्जना शासकले गर्नुहुँदैन । देशको सर्वोपरि हित नै शासकको पनि हित हो । यदि शासनमा बसेका व्यक्तिबाट देशको हितमा समर्पित भइएन भने शासकीय पद्दति नै कमजोर हुने गरेको हुन्छ । कतिपय गोपनीय कुरालाई प्रधान शासकले कसरी लिने भन्ने सन्दर्भमा भीष्म भन्छन्
कृतप्रज्ञश्च मेधावी बुधो जानपदः शुचिः
सर्वकर्मसु यः शुद्ध स मन्त्रं श्रोतुमर्हति ।।
बुद्धि तीव्र भएको, धारण गर्ने शक्ति प्रबल भएको, आफ्नो देशमा बसेको, शुद्ध आचरण भएको सबै किसिमका परीक्षा लिँदा पनि उत्तीर्ण भएको व्यक्ति नै गोप्य कुरालाई सुन्ने खालको हुन्छ । प्रधान शासकले हावाका भरमा कुनै पनि कुरालाई सार्वजनिक गर्न मिल्दैन । उसले देशको हितका निम्ति गरिएका कामलाई गोप्य राख्न सक्ने क्षमताको विकासमा आफूलाई उतारेको हुनुपर्दछ । शासनमा बसेका व्यक्ति सबै गोप्य कुरालाई बाहिर ल्याउने खालका हुँदैनन् । उनीहरू सदा आफूलाई अब्बल मानेको भए पनि गुप्त सल्लाह शासकले सबैसित लिनु पनि हुँदैन । कूटनीति मर्यादाको यसमा ख्याल गरिएको हुन्छ ।
ज्ञानविज्ञानसम्पन्नः प्रकृतिज्ञः परात्मनोः
सुहृदात्मसमो राज्ञः स मन्त्रं श्रोतुमर्हति ।।
ज्ञान विज्ञानले सम्पन्न आफ्ना र शत्रुपक्षका मानिसलाई चिन्न सक्ने, प्रधान शासकको अभिन्न अंगका रूपमा रहेको व्यक्ति नै गोप्य मन्त्रणाको अधिकारी मानिएको हुन्छ । प्रधान शासकले सबै कुरा सबैलाई बताउने होइन । केही कुरा आफू र आफूले विश्वास गरेका व्यक्तिलाई मात्र बताउन आवश्यक देखिन्छ । शासन गर्ने व्यक्ति र उसको व्यवस्थापकीय पक्षमा कमजोरी अवस्था आयो भने देशको सार्वभौमसत्ता नै कमजोर हुनेगरेको पाइन्छ । शासनमा बस्ने व्यक्तिले आफूलाई गोपनीय अवस्थामा राख्नु अनिवार्य मानिएको छ ।
जो व्यक्ति मद र क्रोधलाई जितेर मान र इष्र्यारहित बनेको छ त्यो व्यक्ति नै मन्त्री पदको योग्य मानिएको हुन्छ । यसका साथै जसले कायिक, वाचिक, मानसिक कर्म गरेर संकेतरूपमा आएका यी पाँच छललाई नाघेर आएको हुन्छ त्यो नै मन्त्रीको योग्य मानिएको छ ।
यदि त्यसकिसिमको अवस्था आउन सकेन भने देशको राजनीति नै कमजोर हुने तर्कलाई भीष्मले बताएका छन् । शासनमा बसेर सबै कुरालाई सार्वजनिक गर्नु उपयोगी मानिँदैन । सत्यलाई मान्ने र जीवन देशका लागि समर्पित गर्ने व्यक्ति नै देशको पहिचान बनेर बसेको मानिन्छ । शासनमा बसेको व्यक्तिले सबैसित सल्लाह लिन सक्छ तर गोप्य मन्त्रणा उसले सबैसित गर्न मिल्दैन । उसले आफूलाई विश्वास गर्ने र आफूले विश्वास गरेको मानिससित नै गोप्य मन्त्रणा गर्नुपर्दछ ।
पौरजनपदा यस्मिन् विश्वासं धर्मतो गताः
योद्धा नयविपश्चिच्च स मन्त्रं श्रोतुमर्हति ।।
नगर वा देशका नागरिकले विश्वास गरेको, कुशल योद्धा, नीतिशास्त्रको विद्वान् नै गोप्य मन्त्रणाको अधिकारी मानिएको हुन्छ । शासनमा सबै व्यक्ति योग्यताले पूर्ण छन् भन्ने आधार हामीलाई शास्त्रले दिने गरेको छैन । मानिस सबै शासन गर्न सिपालु नै हुन्छन् भन्ने आधार पनि शास्त्रमा पाइँदैन । हामीले पुराणमा वर्णन गरिएका रामको राज्य र युधिष्ठिरको राज्य सञ्चालनलाई आधार मानेका हुन्छौं । ती शासकीय पद्दति हाम्रा उदाहरण बनेर उपस्थित भएका छन् । तिनलाई आधार मानेर शासन चलाउन पक्कै पनि सकिँदैन आजको समयमा । तर केही कुरा प्रमाण आज पनि सत्य बनेका छन् शासकीय पद्धतिमा ।शासकीय पद्दतिमा आफूले नियुक्त गरेका मन्त्रीसित पनि गोप्य मन्त्रणा अनिवार्य मानिएको छ । सबैसित गोप्य मन्त्रणा नगरे पनि आफूले चाहेका व्यक्तिलाई मन्त्री होइन योग्यलाई मन्त्री बनाउन शास्त्रले आग्रह गरेको छ ।
संविनयी मदक्रोधौ मानमीष्र्यां च निर्वृताः
नित्यं पञ्चोपधातीतैर्मन्त्रयेत् सह मन्त्रिभिः।।
जो व्यक्ति मद र क्रोधलाई जितेर मान र इष्र्यारहित बनेको छ त्यो व्यक्ति नै मन्त्री पदको योग्य मानिएको हुन्छ । यसका साथै जसले कायिक, वाचिक, मानसिक कर्म गरेर संकेतरूपमा आएका यी पाँच छललाई नाघेर आएको हुन्छ त्यो नै मन्त्रीको योग्य मानिएको छ । सबै प्रधान शासकको निकट रहेका व्यक्ति मन्त्रीका हकदार होइनन् । मन्त्रीका हकदार त शास्त्रले बताएका व्यक्तिमात्र हुन् । यही नै महाभारतकालीन शासनमा देखिएका मन्त्री र प्रधान शासकका गुप्त मन्त्रणाका अधिकारी मानिएका छन् ।
बिचरा मेरो देश !
हामीले शासन व्यवस्थामा आमूल परिवर्तन गरेका छौं । शासन व्यवस्था ल्याउने सन्दर्भमा जे जति आन्दोलन भए तिनमा नेपाली जनताको सहयोग सहभागितालाई नेपालका राजनीतिक पार्टीले नकार्न सक्दैनन् । नेपाली जनताको सहयोगबाट आएका विभिन्न शासन व्यवस्थामा नेपालको राजनीतिमा दलीय पद्दतिले काम गरेको देखिन्छ । दलीय पद्दति र तिनको विकासमा नेपाली जनता प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी भएको पाइन्छ । राणा, राजालाई ढाल्नका लागि नेपाली जनताको प्रत्यक्ष संलग्नतालाई नेपालका राजनीतिक दलले नकार्न सक्दैनन् । शासन पद्धतिको विकास पनि नेपाली जनतालाई केन्द्रमा राखेर अघि बढाइएको हो । नेपालको शासकीय संरचनामा जति परिवर्तन जनताले गरे त्यो परिवर्तन अन्य देशको राजनीतिमा देखिँदैन पनि ।
नेपालको विकास नेपाली जनताले होइन राजनीतिक दलले नै गर्ने हो तर ती दलले इमानदार व्यक्तिलाई अघि सार्नु आवश्यक भने देखिन्छ । पुरानो पुस्ताको विश्राम नेपाली जनताले चाहेका छन् । सधैं राजनीतिक परिवर्तन नेपाली जनताले चाहेका छैनन् । राजनीतिमा इमानदारी र स्थिरता नेपाली जनताको चाह हो ।
शासनमा आएको आमूल परिवर्तन नेपालीका लागि हुनुपर्ने हो । त्यसो हुनसकेन । नेपालका राजनीतिक दलले शासन व्यवस्थामा परिवर्तन त ल्याए त्यो परिवर्तनले नेपालीका भावनालाई जीवन्त बनाउन सकेन । राजनीतिक दललाई जुन किसिमको सहयोग नेपाली जनताले गरे त्यसको प्रतिफल नेपालीले पाउन सकेनन् । शासन सत्ता परिवर्तनपछि विकास नभएको पनि होइन । विकास भएको छ । केही क्षेत्रमा नेपालसक्षम पनि भएको छ । सक्षम हुनुका साथै आत्मनिर्भर पनि भएको छ । तर सोचे र चाहेजस्तो विकास भने नेपाली जनताले पाउन सकेको देखिएन । राजनीतिमा आफन्तवाद हावी हुनुलाई नराम्रो मान्नु हुँदैन । आफन्तवादमा योग्य व्यक्ति हुनु आवश्यक थियो त्यो हुनसकेन ।
आजको विचार पद्धतिको विकास जसरी भयो त्यसमा राजनीतिक स्वार्थ र आफन्तवादले जरा गाडेर बसेको देखियो । योग्य र क्षमतावान् व्यक्तिको अभावलाई नेपालको राजनीतिले सदा भोगिरहेको देखियो । आफूले चाहेका व्यक्ति अयोग्य भए पनि काखी च्याप्ने प्रवृत्ति नेपालका राजनीतिक दलमा देखिएका कारण नेपाली राजनीतिमा युवाको सहभागिता र व्यवस्थाप्रतिको असन्तोष देखापरेको हो । राजनीतिमा आवश्यक पर्ने अवस्था र व्यवस्थाप्रतिको चेतनालाई नेपालका राजनीतिक दलले स्वीकार गर्न सकेको देखिएन । नेपालको राजनीतिमा आएको यो बेथितिलाई चिर्न नयाँ आउने सम्भावना पनि देखिँदेन । यी नेपालमा भएका राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताको जिम्मा हुने हो ।
नेपाली जनताको विश्वास राजनीतिक दलप्रति हो तर स्थानीय तहमा कतिपय स्थानमा राजनीतिक दल कमजोर बनेर देखिए । कारण राजनीतिक दलले खोज्ने हो । तिनको उपचार पनि ती दलसित नै रहेको छ । राजनीति स्वस्थ हुनु अनिवार्य भयो । अबका नेपाली जनता अस्वस्थ राजनीतिलाई तिरस्कार गर्नै पक्षमा देखिएका छन् । राजनीति गरेर देशको काँचुली फेर्ने जिम्मा लिएका पार्टीका अगुवाले नै जनताको पैसामा रमाएको देखेपछि नेपाली जनताले नेपालको राजनीतिमा विकास खोजेका छन् । पु्स्तान्तरण खोजेका छन् । सदा एउटै व्यक्ति नै राजनीतिमा हावी हुने प्रवृत्तिको अन्त्य नेपाली जनताले खोजेका छन् ।
राजनीतिको नाममा गरिएका भ्रष्टाचारको पनि उपचार नेपाली जनताले चाहेका छन् । नेपाली जनता विकास चाहन्छन् । आत्मनिर्भर देश चाहन्छन् । विदेशी भूमिमा जान चाहन्नन् । देश सुहाउँदो शिक्षा चाहन्छन् । बेरोजगार उत्पादन गर्ने शिक्षालय चाहेका छैनन् । नेपालमा रोजगारको व्यवस्था चाहेका छन् । तर त्यो अवस्था ल्याउन नेपालका राजनीतिक दलमा प्रतिबद्धता आवश्यक देखिन्छ । महाभारतमा भीष्मले भनेजस्ता व्यक्तिको खोज हुन नसक्ला तर इमानदार व्यक्तिलाई अघि सार्दा नेपालको विकासमा परिवर्तन भने हुनसक्छ । यो नेपाली जनताको चाहना पनि हो ।
नेपालको विकास नेपाली जनताले होइन राजनीतिक दलले नै गर्ने हो तर ती दलले इमानदार व्यक्तिलाई अघि सार्नु आवश्यक भने देखिन्छ । पुरानो पुस्ताको विश्राम नेपाली जनताले चाहेका छन् । सधैं राजनीतिक परिवर्तन नेपाली जनताले चाहेका छैनन् । राजनीतिमा इमानदारी र स्थिरता नेपाली जनताको चाह हो । यही चाहमा देखिएका छन् नेपालीहरू । महाभारतकालीन व्यक्ति नपाइए पनि इमानदार भने पाउन सकिन्छ । नेपालको राजनीतिमा त्यही चाह नै नेपाली जनताको चाह हो । चेतना भया !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच