काठमाडौं । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को जम्मा ३२ सिट छ । जुन संसदीय अंक गणितमा ११ प्रतिशत मात्रै हो । तर, संसद्मा विभाजित मतको फाइदा उठाउँदै ‘३२ सिटे माओवादी’ले काँध फेरि फेरि झण्डै डेढ वर्ष सरकार चलायो । संसदीय राजनीतिमा आएको दुई दशक नपुग्दै ठूलो मतान्तरसहित तेस्रोमा खुम्चिएको माओवादीलाई पार्टीभन्दा सत्ताकै बढी चिन्ता छ ।
तत्कालीन जनयुद्ध गरेको ठूलो समूह चिराचिरामा विभाजित भए पनि एकीकृत गर्ने कुरा भाषणमा मात्रै सीमित छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान भने अधिकांश समय सत्ता केन्द्रित छ । दुई दशकमा दर्जनौँपटक सत्तामा बसेको माओवादी खुम्चिएकोमा भन्दा उहाँलाई सत्ता गुमेको पीर बढी देखिन्छ । सत्ताबाट बाहिरिएको चार महिनामै उहाँ फेरि सत्ताकै फिर्के दाउमा हुनुहुन्छ । नयाँ सरकार बनेको सय दिन नपुग्दै सरकार ढल्ने हल्ला फिँजाउनुभएका उहाँले फेरि सार्वजनिक रूपमै सत्ताकेन्द्रित अभिव्यक्ति दिन थाल्नुभएको छ । दलहरू सन्निकट रहेको उपनिर्वाचनमा होमिरहेका बेला अध्यक्ष प्रचण्डले आफूहरूको दल नयाँ सरकारका लागि पर्खिरहेको बताउनुभएको छ ।
शनिबार काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अहिलेको सरकार उल्ट्याएर आफूहरूको सरकार बन्ने दाबीसमेत गर्नुभयो । ‘विपक्षी दल भनेको गभर्मेन्ट अफ वेइटिङ अर्थात् पर्खिरहेको सरकार हो । त्यसकारण यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रो हो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन ।’ आफ्नो दलसँग म्याजिक सिट रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै रहेको उहाँले जिकिर गर्नुभयो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने माओवादीको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी मात्रै भएको बताउँदै आउनुभएको छ । केही दिनअघि विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाइएको आरोप लगाउनुएको थियो ।
२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २४० सिटमध्ये एक्लै १२० सिट अर्थात् ५० प्रतिशत जितेको थियो भने समानुपातिकतर्फ २९.२२ प्रतिशत मत ल्याएको थियो । २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी घटेर प्रत्यक्षतर्फ २७ सिटमा खुम्चिएको थियो भने समानुपातिक मत पनि झण्डै आधा घटेर १५.२१ प्रतिशतमा झरेको थियो । २०७४ मा एमालेसँग मिलेर चुनाव लड्दा माओवादीले प्रत्यक्षतर्फ १६५ सदस्यीय प्रतिनिधिसभामा ३६ सिट जितेको थियो भने समानुपातिक मत चाहिँ घटेर १३.६५ प्रतिशतमा झरेको थियो । अनि २०७९ सालमा कांग्रेससँग मिलेर चुनाव लड्दा माओवादीले प्रत्यक्षतर्फ आधा क्षति भोगेर १८ सिटमा चित्त बुझाउनुपरेको थियो भने समानुपातिक मत १३.६३ प्रतिशतमा झरेको छ ।
हाम्रो संख्या फेरि पनि म्याजिक नै छ : प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीसँग ३२ सिटको अझै म्याजिक नम्बर नै रहेको दाबी दोहोर्याउनुभएको छ । यसअघि पनि माओवादीको ३२ सिटलाई जादुयी नम्बरको संज्ञा दिनुभएको उहाँले शनिबार फेरि ३२ सिट म्याजिक नम्बर नै रहेको दोहो¥याउनुभएको हो । ‘यही हलमा मैले ३२ को संख्यालाई जादुको संख्या भयो हाम्रो भनेको थिएँ । मेरो यो भनाइले उनीहरू अझै बढी उद्देलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला । अहिले पनि हाम्रो संख्या फेरि पनि म्याजिक नै छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
अहिले बनिरहेको सरकार अप्राकृतिक ढंगबाट बनेको उहाँले बताउनुभयो । अहिले आफूहरू नयाँ चुनौती र अवसरको दोसाँधमा रहेको समेत बताउनुभयो । ‘बडो अप्राकृतिक हिसाबले उनीहरूले सरकार बनाएका छन् । उनीहरूको उद्देश्य भनेको भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने र विरोध गर्नेहरूलाई दमन गर्नेतिर केन्द्रित छन् भन्ने देखिएको छ,’ प्रचण्डले भन्नुभयो, ‘अहिले हामीले नयाँ चुनौती र नयाँ अवसरको दोसाँधमा छौँ । मैले सरकारबाट बाहिरिँदै गर्दा केही समीक्षा गरेको थिएँ । हाम्रो वर्ग, समुदाय, एजेण्डाहरूलाई जुन स्तरबाट समात्नुपर्ने थियो, त्यहाँ केही न केही कमजोरी भए । हाम्रो जनतातिर फर्कने कसम प्रतिनिधि सभाबाटै खाएँ र देशव्यापी नयाँ अभियानको सुरुवात भएको छ ।’
प्रचण्डले माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरू फेरि एकताबद्ध हुने बताउनुभयो । ‘०६४ पछि धेरैले प्रचण्डभन्दा ठूलो नेता बन्ने रहर गर्नुभयो, अहिले हालत देख्नुभएको छ, तर अहिले फेरि सबै माओवादी धाराहरू प्रचण्डको नेतृत्वमा मात्र एकताबद्ध हुन सकिन्छ भनेर आउनुभएको छ’, उहाँले भन्नुभयो ।
अहिलेको सरकारप्रति भारत र चीन दुवै खुसी छैनन् : सापकोटा
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको दाबी गर्नुभएको छ । माओवादी काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै माओवादी प्रवक्तासमेत रहनुभएका सापकोटाले अहिलेको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको आरोप लगाउनुभयो । छिमेकीबाहेक अन्य मुलुक पनि ओली सरकारसँग खुसी नभएको उहाँको दाबी थियो । ‘दुईटा छिमेकीको बीचमा हाम्रो पार्टी नेतृत्वको सरकारले सन्तुलित सम्बन्ध कायम गरेको थियो । अहिले त्यो सन्तुलन बिग्रिएको छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको सरकारप्रति न उत्तर न त दक्षिण नै खुसी छ । सात समुद्र पारिका पनि धेरै खुसी छन् जस्तो लाग्दैन ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीको इमेज धेरै माथि पुगेको उहाँले जिकिर गर्नुभयो । ‘पार्टी अध्यक्षले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका सबै संयुक्त राष्ट्रसंघको महासभालगायत फोरमहरूमा नेपालको राम्रो प्रतिनिधित्व गरिराख्नु भएको छ । अहिले अन्तर्राष्ट्रिय जगतलाई हिजो जनयुद्ध कालमा नाम मात्रै सुनिएको थियो, प्रचण्ड भन्ने मान्छे परिवर्तन र जनताप्रति समर्पित मान्छे हो भन्ने अन्तर्राष्ट्रिय स्तरमा पनि परेको छ,’ प्रवक्ता सापकोटाले भन्नुभयो । अहिले सरकार भएको अनुभूति जनताले प्रत्याभूत गर्न नपाएको उहाँले बताउनुभयो । ‘सरकारको विचार, विवेक, पहलकदमी शून्य छ, सरकार छ, मन्त्रिपरिषद् छ, तर सरकारको अस्तित्व देखिएको छैन,’ उहाँले भन्नुभयो, ‘काभ्रेमा विपद् पर्दा सरकार देखिनँ, कमरेड प्रचण्ड देखिनुभयो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच