✍️ गणेश एसके
शिक्षाले केवल व्यक्तिका व्यक्तिगत गुण तथा चरित्रको मात्रै विकास गर्दैन बरू यसले त सिंगो समाज र देशको भविष्यको निर्धारण गर्न सहयोग गर्छ । त्यसैले त विद्यार्थीलाई भविष्यको कर्णधार भन्ने गरिन्छ । तर भन्दा सुन्दर शब्दले गहकिलो अर्थ लाग्ने वाक्य जे जे भने पनि नेपाली शैक्षिक जगत र हाम्रो सामाजिक यथार्थ त्यो छैन । आखिर किन यसो हुन पुग्यो ? यसका त थुप्रै छन् जसमध्ये शिक्षाप्रतिको विद्यमान सामाजिक बुझाइ र केही व्यावसायिक तथा व्यवस्थापकीय चुनौतीबारे उजागर गर्ने कोशिस यस लेखमा रहनेछ ।
सामाजिक बुझाइ
गाउँबाट पढ्छु भनेर शहर छिरेको पनि झण्डै सातवर्ष पुग्न लागेछ मलाई । जब म बिदामा घर जाने गर्छु तब मलाई गएका यी वर्षमा एउटा प्रश्नले छोडेन । त्यो प्रश्न हो पढाइ कैले सकिन्छ ? यो प्रश्न मलाई मेरा परिवार, छिमेकी, आफन्त सबैबाट आयो । तर मलाई यसको खासै उचित जवाफ थिएन, छैन जुन उनीहरू चाहन्थे । यो प्रश्न प्रायः म अनुत्तरित नै रहे पनि बाहिर भन्नलाई त यति वर्षे कोर्स हो यति समयपछि सकिन्छ भनेर फुत्कने कोसिस गरे । तर हाम्रो समाजमा एउटा जबरजस्त मान्यता रैछ, छ कि पढेपछि जागिर गर्नुपर्छ त्यो पनि सकेसम्म सरकारी । मलाई मेरो सामाजिक परिवेशले, मेरो विद्यालयले, मेरा शिक्षकहरूले वा मैले ग्रहण गरेको शिक्षाले निम्न प्रश्नको जवाफ कहिलै सिकाएन । कोही किन पढ्छ ? एउटा औसत मान्छेले कतिसम्म पढ्नुपर्छ ? केका लागि पढ्नु जरुरी छ ? पढेपछि के गर्नुपर्छ ? कुन विधामा पढे के हुन्छ ? के पढाइ निश्चित समयका लागि हो ? औपचारिक पढाइमात्रै पढाइ हो ?
राजनीतिक दललाई शैक्षिक संस्थामा राजनीति गर्नुछ । शैक्षिक संस्थाका पदाधिकारीलाई आफ्नो स्वार्थ लिनुबाहेक अरू चिन्ता छैन । प्राध्यापकलाई केबल तलब खानुछ । विद्यार्थीलाई पनि केहीबाहेक रटेर भए पनि प्रमाणपत्रधारी बन्नुछ । जसले गर्दा विश्वविद्यालय बेरोजगार जन्माउने फ्याक्ट्री बने भन्ने युक्तिसँग असहमत हुनसकिने अवस्था छैन । पछिल्लो समयमात्र उच्च शिक्षा संकटमा छैन यसको उचाइ तथा गरिमा संकटमा छ ।
यी र यस्तै प्रश्नहरूले मेरो मनमा धेरै द्विविधा उत्पन्न ग¥यो । विद्यालय तहको शिक्षा लिँदासम्म मेरो पनि सामान्य बुझाइ थियो पढ्नुपर्छ र एउटा जागिर खाएर पैसा कमाउनुतिर लाग्नुपर्छ । तर मेरो यो पैसा कमाउनेवाला सतही बुझाइमाथि उल्लेखित प्रश्नको उत्तर खोज्ने क्रममा केही बदलाव ल्याएको छ । इण्डियामा खाँन सर भन्ने एकजना व्यक्ति खुबै चर्चित छन् । सामाजिक सञ्जालतिर र वास्तविक जीवनमा पनि । उनी विद्यार्थीलाई एउटा कोचिङ सेन्टरमा पढाउँछन् दिन सक्नेलाई न्यूनतम शुल्कमा नभए निःशुल्क पनि । उनले एउटा अन्तर्वार्तामा रोचक कुरा भनेका थिए, ‘जो मेरोमा पढ्न आउँछ उसले मुख्यतः दुई उपलब्धि हासिल गर्छ । एउटा राम्रोसँग पढ्यो मिहिनेत गरे पास भए सरकारी जागिर खान्छ नभए देशको एउटा सभ्य नागरिक भएर जीवन बिताउँछ । किनकि सरकारी जागिर त सीमित छ सबै त्यहाँ पुग्दैनन् पक्कै ।’ उनको यो भनाइको दोस्रो वाक्य अझ बढी मार्मिक किन छ भने पढ्नु भनेको त एउटा सभ्य नागरिक बन्नु पनि रैछ । तर हामी नेपालीहरूलाई विद्यालय पढ्दा खेरी तेरो भविश्यमा के बन्ने इच्छा छ भन्दा डाक्टर, इन्जिनियर, वकिल या यस्तै भन्न नलगाउने शिक्षक त कमै होलान् । माथि खाँन सरको त्यो पक्तिको दोस्रो भाव बुझ्न मलाई वर्षौं लाग्यो कि पढाइ केवल जागिर गर्नमात्रै होइन रैछ र औपचारिक शिक्षामात्रै सबै कुरा होइन भन्ने । अब प्रश्न आउँछ के अध्ययनलाई व्यावसायिक पेशा जोड्न मिल्दैन त ? मिल्छ जोड्नुपर्छ पनि किनकि त्यो स्वाभाविकता हो तर सरकारीमात्र जागिर नहोला । जुन विधामा व्यक्ति पोख्त छ त्यसै अनुसारको काममा रुचि राख्नु ।
शिक्षालाई केवल बजारवादसँग मात्रै नजोडौ । भनाइको अन्तर्य पढेर आफ्नो विशेषज्ञतालाई सोहीनुरूप प्रयोग गर्नु हुँदैन भन्ने हुँदै होइन बरू शिक्षाको दायरामा एकहोरो भयौं वा बनाइयो भन्ने हो । अर्को कुरा विश्व अहिले बहुआयामबाट अगाडि बढिरहेको छ । व्यक्तिका आर्जन गर्ने माध्यम फराकिला हुँदै गएका छन् । मानिस स्टार्ट अपको युगमा प्रवेश गरिरहेको छ । यस सन्दर्भलाई नेपाली समाजले बुझ्न ढिलो गर्नु हुँदैन ।
व्यक्तिले ज्ञानलाई आर्जन गर्न र अभिव्यक्त गर्न औपचारिक तथा अनौपचारिक शिक्षाको सहायता लिनै पर्छ । यसको मतलब किताबसँग संगत नगर्नेहरू अज्ञानी हुन् ? त्यसो पक्कै होइन अहिले अक्षरको दुनिया छ र पढ्नेमात्र पढाकु जस्तो देखिएका हुन्, तर नपढ्नेहरू पनि त ज्ञान र चेतनाको स्तरबाट सक्षम हुन्छन् । ज्ञान प्राप्त गर्ने एउटा माध्यम पढाइ हो । विद्वता हो भन्नु संकुचित मानसिकता हो ।
जसरी एउटा मानिसको शरीरलाई सधैंजसो खाना चाहिन्छ ठीक त्यसैगरी मानिसलाई आफ्नो मस्तिष्कलाई र आफ्ना विचारलाई सन्तुलित र पुरस्कृत गर्न शिक्षाको महत्व रहिरहन्छ जीवनभर । यसमा औपचारिक शिक्षाका केही सीमा पक्कै छन् त्यसमा व्यक्तिले पूर्ण बिराम लगाउन सक्छ तर ज्ञान आदानप्रदान गर्ने सवालमा एउटा सचेत व्यक्ति खोज तथा अध्ययनको परिधिबाट टाढा रहन सक्दैन । उच्च शिक्षालाई केवल रोजगारीसँग जोडेर सीमित गर्नु अन्यायजस्तो देखिन्छ । कुनै शिक्षित व्यक्ति बन्नुभनेको उसले सामाजिक चेतनालाई परिवर्तन र रूपान्तरणको दिशातिर उन्मुख गर्नु हो ।
गलत मिथकलाई तथ्य र सत्यको कडीबाट मूल्यांकन गर्नु हो । समग्रमा एउटा सकारात्मक ज्ञानले वा शिक्षित व्यक्तिले सामाजिक परिवेश र राष्ट्रिय आवश्यकतासँग संवाद गर्दै सत्यता उजागर गर्ने दायित्व बोकेको हुन्छ । जसको लाभ सिंगो समाज र देशले लिन पाउँछ । त्यसैले कहिलेसम्म पढ्ने, कहिले जागिर गर्ने भन्ने भाष्यलाई बरू किन पढ्ने र के पढ्ने कोणबाट बहसमा ल्याउनुपर्छ । किनकि यसले एकहदसम्म शिक्षालाई सिर्जनात्मक, आलोचनात्मक र यथार्थपरक ढंगले चिन्तन गर्न सहयोग पुग्नेछ । जसले गर्दा स्वयं व्यक्तिका चाहना र राज्यका आवश्यकता स्पष्ट गर्न मद्धत गर्छ । अहिले समाजमा व्याप्त शिक्षासम्बन्धीको सामाजिक अन्तर्विरोधलाई युवा पुस्ताले स्पष्ट पार्नु जरुरी छ ।
उच्च शिक्षाको व्यावसायिक र व्यवस्थापकीय पाटो
वर्तमानमा उच्च शिक्षा अध्ययन गर्दासम्म मलाई मेरो पाठ्यक्रम, विश्वविद्यालय, प्राध्यापक, समाज आदिले एउटा विद्यार्थी किन, केका लागि, कहिलेसम्म पढ्ने भन्ने कुराको छलफल गराएन/गराइँदैन । सचेत गराइँदैन । उच्च शिक्षा कसका लागि हो यो अधिकार हो ? रुचि हो ? यो बहसको विषय बन्दैन । देशलाई कुन क्षेत्रमा कति जनशक्ति तयार गर्नु जरुरी छ ? त्यो जनशक्ति कहाँबाट कसरी ल्याउने, मापदण्ड के हुने ? राज्यसँग तथ्यांक राख्न आवश्यक छ/छैन ? यो कुरामा सम्बन्धित निकायको ध्यान छैन । यो किन भयो ? विश्वविद्यालयको व्यवस्थापन अस्तव्यस्त छ । राज्यका नियामक निकाय मौन छन् । यी माथिका प्रश्नमा प्रवेश नगरिकन विश्वविद्यालयले लिने प्रवेश परीक्षाको कुनै औचित्य देखिँदैन ।
व्यक्तिले ज्ञानलाई आर्जन गर्न र अभिव्यक्त गर्न औपचारिक तथा अनौपचारिक शिक्षाको सहायता लिनै पर्छ । यसको मतलब किताबसँग संगत नगर्नेहरू अज्ञानी हुन् ? त्यसो पक्कै होइन अहिले अक्षरको दुनिया छ र पढ्नेमात्र पढाकु जस्तो देखिएका हुन् तर नपढ्ने पनि त ज्ञान र चेतनाको स्तरबाट सक्षम हुन्छन् । ज्ञान प्राप्त गर्ने एउटा माध्यम पढाइ हो । तर यो मात्रै हो विद्वता हो भन्नु संकुचित मानसिकता हो ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले अदालत अनुगमनका लागि कञ्चनपुरका आएका बेला एक कार्यक्रममा हामी केही कानुनका विद्यार्थीलाई लक्षित गर्दै उनले भने, ‘तपाईंहरू अहिले जे पढ्दै हुनुहुन्छ त्यो फरक छ, भोलि तपाईंहरू यो अदालतमा आएर अभ्यास गर्नु फरक छ । त्यसैले सबैतिर ध्यानदिनुपर्छ ।’ यस्तै कुरा पटक-पटक हाम्रा सरहरू पनि भन्ने गर्थे । यो अन्तर आफैंमा विरोधाभास पूर्ण छ । माथिका यी भनाइले के पुष्टि गर्छ भने हामीलाई पढाउने कुरा र वास्तवमा गरिने अभ्यासमा केही त मिलेको छैन । अझै हाम्रा पढाउने पाठ्यक्रम र पठन शैली र बुझाइ परम्परागत छन् । पाठ्यक्रम विदेशी छन् । अहिले पनि हाम्रा विश्वविद्यालयले सिद्धान्तको रटाइमात्रै गरेको छ । कक्षा कोठामा छलफल र अन्तक्र्रियाको वातावरण छैन । खोज तथा अनुसन्धान गरी तथ्यको आलोचनात्मक विश्लेषण गर्ने क्षमता एउटा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीसँग छैन । विद्यार्थीलाई व्यावहारिकता र प्रयोगात्मक क्रियाकलापमा जोड्न सकेका छैनन् शैक्षिक संस्थाले । सेमेष्टर प्रणालीमा समेत विद्यार्थी मूल्यांकनको निर्णयक तरिका भनेकै अन्तिममा लिइने जाँच (परीक्षा)हो । त्यसैका कारण होला पढाइ सकेर आफ्नो विधाको अभ्यास हुने क्षेत्रमा जब विद्यार्थी पुग्छ तब त्यहाँ अर्को संघर्ष सुरु हुन्छं । शैक्षिक संस्थाबाट विद्यार्थीले केबल डिग्रीमात्रै प्राप्त गर्छ प्रमाणपत्रसहित । तर उसको विषय र क्षेत्रसँग सम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान-सीप नहुँदा फेरि समस्यामा विद्यार्थी नै छ । यो बीचमा देखिएको अन्तर कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनु अनिवार्य छ । अन्योलपूर्ण परिवेशले वर्षेनी लाखौं विद्यार्थी विदेशीले क्रममा छन् । विश्वविद्यालय र शैक्षिक संस्थाको संख्या बढे पनि विद्यार्थीको संख्या भने घट्दो छ ।
यसको समाधान गर्न व्यवस्थापन पक्ष तथा सरोकारवाला निकाय निकम्मा बनेका छन् । राजनीतिक दललाई शैक्षिक संस्थामा राजनीति गर्नुछ । शैक्षिक संस्थाका पदाधिकारीलाई आफ्नो स्वार्थ लिनुबाहेक अरू चिन्ता छैन । प्राध्यापकलाई केवल तलब खानुछ । विद्यार्थीलाई केहीबाहेक रटेर भए पनि प्रमाणपत्रधारी बन्नुछ । जसले गर्दा विश्वविद्यालय बेरोजगार जन्माउने फ्याक्ट्री बने भन्ने युक्तिसँग असहमत हुनसकिने अवस्था छैन । पछिल्लो समयमात्र उच्च शिक्षा संकटमा छैन यसको उचाइ तथा गरिमा पनि संकटमा छ । (लेखक सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायमा बिए एलएलबी ७औं सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच