काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणले आन्तरिक अर्थतन्त्र चलायमान हुन नसकेको देखाएको छ । उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अपेक्षित बढ्न नसक्दा त्यसको असर आन्तरिक अर्थतन्त्रमा देखिएको हो । यद्यपि, पहिलो तीन महिनामा शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चितिलगायत बाहृय अर्थतन्त्रका सूचक भने सकारात्मक देखिएका छन् । यो अवधिमा आयात र निर्यात दुवै घटेको छ भने उत्पादनशील क्षेत्रमा जाने कर्जा प्रवाह पनि अपेक्षित रूपमा बढ्न सकेको छैन । मुद्रास्फीति गत वर्षको पहिलो त्रैमासको तुलनामा घटे पनि दैनिक प्रयोगमा आउने खाद्य तथा गैरखाद्य वस्तुको मुद्रास्फीति उल्लेख्य रूपमा बढेको छ ।
यता, आम्दानीभन्दा सरकारको खर्च यो तीन महिनामा बढी देखिएको छ । यसका लागि यो वर्ष पनि सरकारले ऋण लिएर खर्च धान्नुपर्ने अवस्था देखिएको हो । ब्याजदर घटेर एकल अंकमा आइसक्दा पनि बजारमा माग र आपूर्ति दुवै बढ्न सकेको देखिँदैन । बैंकहरूमा तरलता पर्याप्त हुँदा हुँदै पनि कर्जा विस्तार सुस्त देखिएको छ भने तरलता व्यवस्थापन नै गर्न नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था पुगेका छन् । ब्याजदर एकल अंकमा आउँदा पनि उद्योग व्यवसायदेखि सर्वसाधारणसम्म अपेक्षित रूपमा ऋण प्रवाह हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले चालु आवमा १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिए पनि पहिलो त्रैमासमा कर्जा प्रवाहमा अपेक्षित वृद्धि नदेखिँदा यो वर्ष पनि कर्जा प्रवाहको उद्देश्य पूरा नहुने देखिन्छ ।
विदेशी मुद्राको सञ्चिति २२ अर्ब नाघ्यो
नेपालमा विदेशी मुद्राको सञ्चिति सवा २२ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे तथ्यांकअनुसार नेपालमा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो । २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म ९.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वृद्धि भई २४४ अर्ब २७ करोड कायम भएको छ । यस्तै, २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
तीन महिनामा चार खर्ब बढी रेमिट्यान्स भित्रियो
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९,९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ११३,३९७ र ४९,२९७ रहेको थियो ।
आयात र निर्यात दुवै घट्यो
देशबाट हुने आयात-निर्यात दुवै घटेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक ( साउन-असोज) सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी ३८ अर्ब ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात् क्रमश : ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको हो । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पाम तेल, अलैँची, जुस, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ ।
यसैगरी, आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी ३९० अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको हो । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहन लगायतका वस्तुको आयात बढेको छ भने सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एम एस विलेट लगायतका वस्तुको आयात घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच