नेपाल पूर्वाधार सम्मेलन सम्पन्न, ‘आर्थिक विकासको मेरुदण्ड पूर्वाधार’

Read Time = 9 mins

काठमाडौं । चौथो नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्तरूपमा आयोजना गरेको सम्मेलनको शुक्रबार समापन गर्दै सञ्चार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो । सबै नागरिकलाई महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने उहाँको भनाइ छ ।
दोस्रोपटक तीनवटै तहका सरकार निर्वाचित भएसँगै राजनीतिक समस्या समाधान हुने र आगामी निर्वाचनबाट आउने सरकारको प्राथमिकता आर्थिक विकासमा पर्ने मन्त्री कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१० वर्षपछि सम्पन्न देशका नागरिक हुने गरी सबैले आ-आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीले पूर्वाधार निर्माण गर्न कुल गार्हस्थ्य उत्पादनको नौ प्रतिशतसम्म लगानी गर्नुपर्नेछ, सरकार एक्लैले पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्दैन । निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न वातावरण बनाउन हामी तयार छौं ।’ निजी क्षेत्रको सक्रिय सहभागिताबिना पूर्वाधार विकास हुन नसक्ने पनि मन्त्री कार्कीले बताउनुभयो ।

उहाँले व्यवसायीलाई भन्नुभयो, ‘तपाईंहरू सबैलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न आग्रह छ, पूर्वाधार निर्माणमात्रै उपलब्धि होइन, निर्माण भएका पूर्वाधारलाई पूर्ण उपभोग पनि गर्न सक्नुपर्छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देश विकास गर्न राजनीतिक नेतृत्व र कर्मचारीको सोच परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले नीति बनाउने ठाउँमा पनि काम गरें । व्यवसाय पनि गरें । नेपाल विकास हुन धेरै समय लाग्दैन, हामीले आर्थिक विकास गर्न कयौं नीति र कानुन संशोधन गर्नुपर्नेछ । हामी त्यही दिशामा लागेका छौं ।’ देशभित्र रोजगारी सिर्जना गर्नसमेत पूर्वाधार र उद्योगका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको भन्दै मन्त्री श्रेष्ठले कर्मचारी र राजनीतिक नेतृत्वको सोच परिवर्तन भए देश सजिलै विकास हुनसक्ने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अघिल्लो तीन संस्करणको कार्यक्रमजस्तै यसपटकको कार्यक्रम पनि सफल भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ठूला पूर्वाधार कसरी निर्माण गर्ने, औद्योगिक पूर्वाधार निर्माण गरेर व्यवसाय सञ्चालनको लागत कसरी घटाउने भन्ने विषयमा सघन छलफल भएको छ, यस सम्मेलनमा कोरोनापछि बदलिएको अवस्थामा कस्ता पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा कयौं सुझाव आएका छन् । हामीहरू ती सम्पूर्ण सुझाव नियामक निकायसम्म लैजान र निजी क्षेत्रतर्फबाट गर्नुपर्ने काम पूरा गर्न प्रतिबद्ध छौं ।’

पिडब्लुसी इण्डियाका कार्यकारी निर्देशक निदिस नायरले दुईदिने सम्मेलनमा भएका छलफलको विषयमा प्रस्तुति दिनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वाधार निर्माण गर्न दीर्घकालीन वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा समेत विभिन्न दृष्टिकोण आएका छन्, यो कार्यक्रमले नेपालमा कस्तो पूर्वाधार आवश्यक छ र वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा कयौं सुझाव दिएको छ । सम्मेलनमा आएका सुझावले नियामक निकायलाई विकास निर्माणका क्षेत्रमा देखिएका समस्या समाधानमा समेत सहयोग गर्ने अपेक्षा छ ।’

सांसद विनोद चौधरीले पछिल्लो समय पूर्वाधार निर्माणका क्षेत्रमा कयौं काम हुनु सकारात्मक भए पनि पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको भन्दै निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्न दिगो वित्तीय स्रोत आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयमा आयोजना सम्पन्न गर्न नसक्नु नै नेपालको ठूलो समस्या हो । नेपालमा मात्रै होइन, भारतमा पनि समयमा आयोजना नबन्ने समस्या थियो, सही व्यक्तिलाई सही ठाउँमा राख्दा भारतमा नितिन गडगरीले समयमा पूर्वाधार निर्माण नहुने समस्या समाधान गरेका छन् । नेपालमा पनि समयमा पूर्वाधार निर्माण नहुने समस्यामा सुधार हुन जरुरी छ ।’

उहाँले नेपालमा ठेक्का लिन आउने विदेशी निर्माण कम्पनीबाट नेपाली निर्माण व्यवसायीको ज्ञान र सीप बढाउनुपर्ने बताउनुभयो । नेपालमा पूर्वाधार निर्माणमा लगानी गर्ने ठूलो अवसर भएकाले नेपालको पूर्वाधार क्षेत्रमा लगानी बढाउन विभिन्न देशमा मार्केटिङ गर्न परिसंघलाई उहाँले आग्रह गर्नुभयो ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलनमा भएको छलफलले आगामी दिनमा सरकारलाई उपयुक्त नीति लिन सहयोग गर्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड दिनुभयो । उहाँले भन्नुभयोे, ‘हामी क्लिन, ग्रिन र दिगो पूर्वाधार निर्माण कसरी गर्ने भन्ने विषयमा सम्मेलबाट आएका सुझाव कार्यान्वयन गर्नेछौं ।’ सम्मेलनमा ठूला पूर्वाधार निर्माण, अन्तरप्रदेश पूर्वाधार निर्माण, शहरी पूर्वाधार निर्माण, रिजनल कनेक्टिभिटी, डिजिटल पूर्वाधार निर्माण, हरित पूर्वाधारलगायतका विषयमा छलफल भएका थिए ।

यसैबीच कार्यक्रममा परिसंघले आयोजना गरेका स्टार्टअप आइडिया प्रतिस्पर्धाका विजेतालाई पुरस्कार प्रदान गरेको थियो । ट्राफिक ट्याकिङ प्रणाली बनाउनुपर्ने विषयमा आइडिया प्रस्तुत गर्ने कपिल अधिकारीले प्रथम पुरस्कार एक लाख ५०, धान रोप्ने मेसिन बनाउने आइडिया प्रस्तुत गर्ने सौरभ सिंह चौधरीले दोस्रो पुरस्कार एक लाख र हाइवे र एडप्क्टिक ट्राफिक म्यानेजमेन्टको आइडिया प्रस्तुत गर्ने जोशेप श्रेष्ठले तेस्रो पुरस्कारस्वरूप ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । कार्यक्रममा यात्री मोटरसाइकल बनाउने इन्जिनियर असिम पाण्डेलाई पनि सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?