काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीको जारी चौथो कार्यकालको यो पहिलो औपचारिक विदेश भ्रमण पनि हो । प्रधानमन्त्री ओलीलाई चीनले डिसेम्बर २ देखि पाँच दिने भ्रमणको निम्तो दिए पनि सरकारले भ्रमणको मिति औपचारिक रूपमा घोषणा भने गरिसकेको छैन । प्रधानमन्त्रीको चीन भ्रमणको तयारी जोडतोडले चलिरहेको छ । प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहँदा नेपालमा भने राजनीतिक र कूटनीतिक दौडधुप सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दलको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवाद बाक्लो बनेको छ । ओली र देउवाबीच सोमबार साँझ प्रधानमन्त्री निवाश बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारेमा विभिन्न पक्षसँग छलफल चलाइरहनु भएको छ । चीन भ्रमणको बारेमा पार्टीमा छलफल गर्नुभएका ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवा र नेपालमा काम गरिरहेका चिनियाँ कम्पनीका प्रमुखसँग समेत छलफल गर्नुभएको हो ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणअघि राजनीतिक मात्र नभई कूटनीतिक दौडधुप पनि तीव्र भएको छ । नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरूले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे विभिन्न चासो राख्दै अनौपचारिक संवाद थालेका छन् । कूटनीतिज्ञहरूले प्रधानमन्त्री र सत्तारूढ दलका नेताहरूसँग अनौपचारिक छलफलमा छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले सत्तारूढ दलको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा देउवा र श्रीवास्तवबीच लामो कुराकानी भएको स्रोतको दाबी छ । यद्यपि, उक्त भेटवार्तालाई सभापति देउवाको सचिवालयले सार्वजनिक गरेको छैन ।
खासगरी प्रधानमन्त्रीको चीन भ्रमणअघि कूटनीतिज्ञहरूको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)बारे चासो छ । २०१७ मा चीन र नेपालबीच बिआरआईको समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाबारे गृहकार्य भइरहँदा चीनको महत्वाकांक्षी परियोजना ‘बिआरआई’बारे संशय कायमै छ । अहिले सत्तामा रहेका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसमध्ये एमाले बिआरआईलाई अघि बढाउने पक्षमा देखिन्छ भने कांग्रेसले बिआरआईलाई पूर्ण अनुदानमा रूपान्तरित गर्न माग गर्दै आएको छ । चीनले पनि प्रधानमन्त्री ओली भ्रमणको मुख्य एजेण्डा बिआरआईलाई नै बनाउन चाहन्छ । भ्रमणको क्रममा त्यसमा हस्ताक्षर गराएर कार्यान्वयनमा ल्याउने चाहना चीनको छ । चीनको तर्फबाट त्यसको तयारी पूरा भइसकेको छ । कूटनीतिज्ञहरूले पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणअघि बिआरआई सम्झौताको विषयप्रति नै मुख्य चासो देखाएका छन् ।
नेपालका २६ कूटनीतिज्ञ भारत भ्रमणमा जाँदै
नेपालका २६ कूटनीतिज्ञ तथा अधिकारीहरू आज (बुधबार) भारत भ्रमणमा जाँदै छन् । नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुष्मा स्वराज विदेश सेवा संस्थानमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू त्यसतर्फ जान लागेका हुन् । नेपालका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरू आज त्यसतर्फ जान लागेका हुन् । उक्त समूहले आगामी मंसिर १५ गतेसम्म भारत भ्रमण गर्नेछ । नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधि छन् । प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युल राखिनुका साथै नयाँदिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण शहर र ठाउँको भ्रमण समावेश छन् । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले मंगलबार २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग भारत जानुअघि अन्तरक्रिया गरेका छन् । नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूको भारत भ्रमणले हाम्रो संस्थागत आदानप्रदानलाई निरन्तरता दिनुका साथै यसले नेपाल र भारतबीचको घनिष्ठ र विशिष्ट द्विपक्षीय सम्बन्धलाई झल्काउने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
मन्त्री हेरफेर गर्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारमा सहभागी मन्त्रीहरू परिवर्तनको विषयमा छलफल सुरु भएको छ । ओली र देउवाबीच सरकारका काम कारबाही, समसामयिक राजनीति र उपनिर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेस एमाले गठबन्धनको सरकार बनेको चार महिना पुगेको छ । गत असार ३० मा सातबुँदे सहमतिको जगमा कांग्रेस एमाले गठबन्धनको सरकार बनेको हो । पछिल्लो समय केही मन्त्रीको काम चित्तबुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेको छ । यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ । आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि प्रधानमन्त्री ओली पनि असन्तुष्ट देखिनुभएको छ । सरकारको कामको आलोचना भइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीले कम्तीमा तीन÷तीनजना मन्त्री फेर्ने गरी तयारी थालेको स्रोतको दाबी छ । दुईतिहाइ बहुमत नजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ ।
देउवाद्वारा महामन्त्रीद्वयसँग छलफल
प्रधानमन्त्री ओलीसँगको भेटवार्ता लगत्तै कांग्रेस शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको छ । मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गर्नुभएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल भएको बताइएको छ । सभापति देउवा केही समयदेखि गृहजिल्ला डडेल्धुरामा रहनुभएको थियो । उहाँ करिब एक साता डडेल्धुराका गाउँ-गाउँको भ्रमण गरेर काठमाडौं फर्किनुभएको हो । प्रधानमन्त्री ओली र सभापति देउवाबीच केही मन्त्रीहरू हेरफेर गर्ने विषयमा कुराकानी भएको दाबीसहित चर्चा पनि भइरहेका छन् । यद्यपि, यसबारे सभापति देउवाले मंगलबार बिहान महामन्त्रीद्वयसँग केही कुरा नगरेको जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, ‘सभापति केही समयदेखि डडेल्धुरामा हुनुहुन्थ्यो, उहाँ काठमाडौं आएपछि उपनिर्वाचन तयारीका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका हौँ । समसामयिक राजनीतिक घटनाक्रम र सरकारका काम कारबाहीलगायत विषयमा पनि कुराकानी भए ।’ उहाँका अनुसार मन्त्रीहरू हेरफेरको तयारी गरिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच