काठमाडौं । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । राष्ट्रपति निवास शीतलनिवासमा बिहीबार आयोजित एक समारोहमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेल मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय यादव लगायतको उपस्थिति थियो ।
बुधबार अपराहृन काठमाडौं आउनुभएका द्विवेदीलाई बिहीबार बिहान सेनाको मुख्यालय जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो । त्यस्तै, उहाँले सैनिक मञ्च टुँडिखेलमा पुगेर वीर स्मारिकामा श्रद्धाञ्जली अर्पणसमेत गर्नुभएको छ । त्यस्तै, नेपाली समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग उहाँले जंगीअड्डा द्विपक्षीय वार्तासमेत गर्नुभएको थियो । वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो । भारतीय सेना अध्यक्ष द्विवेदीले बिहीबार हनुमानढोका दरबार स्क्वायरको पनि भ्रमण गर्नुभएको छ ।
द्विवेदीले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिहृन प्रदान गर्ने अनुपम परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिहृन प्रदान गर्नुभएको थियो । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ । यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो ।
सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो । आदिम कालदेखि नै नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ । खुला सीमाना र एकैखाले सांस्कृतिक सम्बन्धले पनि दुई देशीबीच जनस्तरमा समेत प्रगाढ सम्बन्ध बनाएको छ ।
नेपाल र भारतका सैनिक संगठनको घनिष्ठ सम्बन्धले राजनीतिक र कूटनीतिक तहमा बेलाबखत उठ्ने प्रश्न स्वतः हराउँदै जाने गरेको छ । विश्वमा उदाउँदो ठूलो प्रजातान्त्रिक मुलुक भारत तथा संसारकै पुरानो स्वतन्त्र राष्ट्र नेपाल र सेनाबीचको यो सम्बन्धले एक-अर्काप्रति विश्वास र भरोसा प्रदान गरेको छ । यस्ता विशिष्ट परम्पराले आपसी असमझदारी र विवाद हटाउने सवालमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल र भारतका सैनिकबीच विभिन्न तह र तप्कामा हुँदै आएका सैन्य तालिमले प्राकृतिक विपत्तिमा एक-अर्कालाई सहयोग पुगिरहेको छ । लामो समयदेखि नेपाल र भारतबीच सञ्चालनमा रहेको ‘सूर्यकिरण सैनिक अभ्यास’लाई एउटा दृष्टान्तका रूपमा लिन सकिन्छ ।
नेपालमा २०७२ वैशाखमा गएको भूकम्पलगायत अन्य प्राकृतिक प्रकोपका समयमा भारतीय सैनिकले नेपाललाई गरेको सहयोग अविस्मरणीय छ । नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारकै लागि एउटा सशक्त उदाहरण बनिरहेको छ । नेपाल-भारतबीचको खुला सिमानाका कारण हुनसक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै विश्वास र सहकार्यलाई अघि बढाउन मानार्थ महारथीको परम्पराले थप मलजल गरेको छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पुशपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । उहाँ ९ गते स्वदेश फिर्ता हुनुहुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच