काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारमा जोड दिनुभएको छ । त्यसका लागि गृहकार्य गर्न उहाँले राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिनुभएको छ । २०औँ राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै उहाँले नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्गानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेकाले उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उत्पादन बढाउन सार्वजनिक, निजी साझेदारीका साथै कफी मूल्य शृंखलाका सबै चरणमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताबीच समन्वय र सहकार्य हुुनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले मन्त्रालयले कफी क्षेत्रको विकास तथा विस्तारका लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । नेपालको कफी क्षेत्रले २० वर्षको अवधिमा अनेकन आरोह-अवरोह सामना गर्नुपरेको भन्दै मन्त्री अधिकारीले हाल कफी बजार सुनिश्चित भएको कृषि उपजका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कफी ३० हजारभन्दा बढी नेपाली किसानको आयआर्जनको स्रोत बनेको र हजारौंले कफी उद्योग तथा क्याफे हाउसमा रोजगारीसमेत पाइरहनु नेपाली कफी क्षेत्रका लागि गौरवको विषय बनेको छ ।’ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कफी खेती विकास, विस्तार र प्रवद्र्धनमा मन्त्रालय सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढिरहेको बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक वेनुप्रसाद प्रसाईले समग्र कफी क्षेत्र प्रवद्र्धन र संरक्षण गर्दै कफी क्षेत्रमा युवा पुस्तालाई आकर्षण गरी सीमित क्षेत्रमा गरिँदै आएको कफी खेतीलाई कफी इ-स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।
भविष्यमा अराविका कफीको क्षेत्र विस्तार, उत्पादकत्व अभिवृद्धि, मूल्य शृंखला विकास तथा मूल्य अभिवृद्धि, गुणस्तरीय उत्पादनका लागि असल कृषि अभ्यास तथा प्रांगारिक प्रमाणीकरण तथा निर्यात तथा आन्तरिक बजार प्रवद्र्धनलगायतका कार्य योजनाबद्धरूपले समन्वयात्मकरूपमा लगिने, कफी क्षेत्रको विकास तथा विस्तारका लागि तीनवटै तहका सरकारबीच एकीकृत कार्यक्रम तर्जुमा गर्दै बोर्ड तथा संघीय सरकार कफी क्षेत्रको नीतिगत सुधार, गुणस्तर अभिवृद्धि, आन्तरिक बजार तथा निर्यात प्रवद्र्धनमा थप सशक्त ढंगले बोर्ड अघि बढ्ने उहाँले जानकारी गराउनुभयो । सो अवसरमा बोर्डका उपनिर्देशक डा. लक्ष्मण पोखरेलले नेपालमा कफीको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बोर्डका निर्देशक डा. दीपक खनाल, केन्द्रीय कफी सहकारी संघ, नेपाल कफी व्यवसायी महासंघका प्रतिनिधिहरूले कफी क्षेत्रका सम्भावना र चुनौतीबारे चर्चा गरेका थिए । कार्यक्रममा उत्कृष्ट कफी उद्योग र उत्कृष्ट कफी सहकारी संघ, कृषकलाई सम्मान गरिएको थियो ।
भन्सार विभागको आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिकटन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको चार सय ५० मेट्रिकटन कफी आयात भएको थियो भने गत आर्थिक वर्ष २०८०/०८१ मा १४ करोड ९२ लाख बराबरको ८९ मेट्रिकटन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख बराबरको चार सय ४३ मेट्रिकटन कफी आयात भएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालभर ५०१.३ मेट्रिकटन ग्रिनविन कफी उत्पादन भएको छ भने छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । हालसम्म देशभर कुल चार हजार तीन सय नौ हेक्टरमा कफी खेती विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी निर्यात भएको छ ।
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रभन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै तीन गुणा बढी मूल्य नेपाली कफीले पाउने गरेको हो । अन्तर्राष्ट्रिय कफी संगठन(आइसिओ) को विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन/निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम २२ सय मेट्रिकटनभन्दा बढी कफी खपत भइरहेको र दिन प्रतिदिन उच्चरूपमा माग बढेको देखाउँछ । आन्तरिक उत्पादनले एक महिना पनि नेपालको माग धान्न नसकेको अवस्था छ । दैनिकजसो कफी सेवनकर्ताको माग बढ्नु र युवाको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाका कारण कफीको माग बढ्दै गएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच