✍️ सुरेश भट्टराई
नेपालको मौसम देशको भूगोलजस्तै विविधतायुक्त छभन्दा अत्युक्ति नहोला । तराईको गर्मीदेखि हिमाली क्षेत्रको चिसो वातावरणसम्म फैलिएको यो विविधताले हाम्रो देश नेपाललाई वायुमण्डलीय एवं वातावरणीय अध्ययन अनुसन्धानका लागि विश्वमै एक उत्कृष्ट स्थानको रूपमा स्थापित गरेको छ । तर, यसै विविधताले मौसम पूर्वानुमानलाई कठिन बनाएको छ । नेपालको दुर्गम भूगोल र छिटोछिटो बदलिने मौसमका कारण, मौसमसम्बन्धी घटनाहरूलाई ठ्याक्कै अनुमान लगाउन सधैँ चुनौतीपूर्ण रहँदै आएको छ र यो मौसम विज्ञानको क्षेत्रमा काम गर्नेहरूका लागि एक महत्वपूर्ण अवसर पनि हो ।
पछिल्ला वर्षहरूमा, भूउपग्रह प्रविधिको प्रयोगले यस क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको कुरालाई नकार्न सकिँदैन साथै यसले नेपालको मौसम पूर्वानुमान क्षमतालाई थप प्रभावकारी बनाएको जनताले महसुस गरेको कुरा पछिल्ला समयहरूमा नेपाल सरकारले गर्ने मौसम पूर्वानुमान तथा यसले संभावित क्षतिलाई केही हदसम्म कम गरेको देखिन्छ । नेपालको मौसम पूर्वानुमानको इतिहास खोतल्ने हो भने तत्कालीन विद्युत् विभागले आफ्नो शाखागत गतिविधिका रूपमा सन् १९६२ बाट सुरु गरेको देखिन्छ जब काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक मौसम कार्यालयको स्थापना गरियो ।
सन् १९८८ मा आएर बल्ल जल तथा मौसम विभागको स्थापनासँगै यसै विभागबाट गर्न थालियो । सन् १९६२ देखि १९८८ मा आएर विभागको स्थापना हुँदासम्म नेपालले बिस्तारै भूउपग्रहबाट प्राप्त तथ्यांकको प्रयोग थालेको देखिन्छ । यसै क्रममा नेपालले सन् १९६६ मा विश्व मौसम विज्ञान संगठनको सदस्यता पाएसँगै नेपालका लागि मौसम विज्ञानका क्षेत्रमा काम गर्न विभिन्न देशसँग सहकार्यका लागि अवसर सिर्जना भएको देखिन्छ ।
त्यो समयमा उपकरणहरू सीमित थिए र जमिनबाट प्राप्त तथ्यांकमा भर पर्ने चलन थियो जसले पूरा भूगोललाई कभर गर्न सकेको देखिँदैन । यो कार्य बिस्तारै तत्कालीन सिँचाइ विभागअन्तर्गत गर्न थालियो । सन् १९८८ मा आएर बल्ल जल तथा मौसम विभागको स्थापनासँगै यसै विभागबाट गर्न थालियो । सन् १९६२ देखि १९८८ मा आएर विभागको स्थापना हुँदासम्म नेपालले बिस्तारै भूउपग्रहबाट प्राप्त तथ्यांकको प्रयोग थालेको देखिन्छ । यसै क्रममा नेपालले सन् १९६६ मा विश्व मौसम विज्ञान संगठनको सदस्यता पाएसँगै नेपालका लागि मौसम विज्ञानका क्षेत्रमा काम गर्न विभिन्न देशसँग सहकार्यका लागि अवसर सिर्जना भएको देखिन्छ ।
उदाहरणका रूपमा सन् १९७० को दशकदेखि नेपालले भारत र जापानका भूउपग्रहरूबाट तथ्यांक प्राप्त गर्न थालेको थियो । हाल, नेपालले जापानको हिमावारी-८, भारतको इनसाट शृंखला र अमेरिकाको एनओएए जस्ता भूउपग्रह प्रणालीहरूबाट वास्तविक समयको मौसम जानकारी प्राप्त गर्दै आएको छ । यी प्रणालीहरूले बादलको अवस्था, वर्षा, तापक्रम, र हावाको प्रवाहको विस्तृत जानकारी प्रदान गर्छन् ।
यस्ता सहकार्यबाट खास गरी मनसुनको समयमा वर्षाको पूर्वानुमानमा उल्लेखनीय सुधार आएको छ । साथै ग्लोबल प्रिसिपिटेसन मेजरमेन्ट जस्ता भूउपग्रहहरूले वर्षाको तीव्रता र वितरणको विश्लेषण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । यसले ठूलो जनघनत्व भएको तराई क्षेत्रलाई बाढीको खतराबाट जोगाउन मद्दत पुर्याएको छ । नेपालले खासगरी सन् २००८ को कोशीमा आएको बाढी जस्तो विपद्को बेला भूउपग्रह तथ्यांकको महत्व अझै प्रष्टसँग बुझेको देखिन्छ । यस विपद्पछि, सरकारले भूउपग्रह प्रणालीलाई थप प्राथमिकता दिन थालेको देखिन्छ । अहिले, नेपालमा झण्डै २०० भन्दा बढी मौसम स्टेसन सञ्चालनमा छन्, जसलाई भूउपग्रह तथ्यांकसँग मिलाएर मौसम पूर्वानुमान गर्ने काम गरिन्छ ।
हिमाली क्षेत्रहरूमा पनि भूउपग्रह प्रणालीले नयाँ ढंगले काम गरेको छ । जस्तै, हिमताल विस्फोटनको जोखिम बढिरहेको अवस्थामा, भूउपग्रहहरूबाट प्राप्त तस्वीरहरूले खतरनाक तालहरूको पहिचान गर्न र समयमै व्यवस्थापनका उपाय अपनाउन मद्दत गरेको छ । नेपालका झण्डै ३ हजार २१५ हिमतालमध्ये २० भन्दा बढीलाई जोखिमयुक्त मानिएको छ भने भूउपग्रह प्रणालीको मद्दतले यी तालहरूको निगरानी गर्न सम्भव भइरहेको छ ।
कृषि क्षेत्रमा पनि भूउपग्रहको प्रयोगको प्रभाव उल्लेखनीय छ । देशको ६५ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा निर्भर छ जहाँ भूउपग्रह तथ्यांकको प्रयोगले किसानहरूलाई माटोको चिस्यान, मौसमको अवस्थाबारे जानकारी दिँदै सही निर्णय लिन सक्षम बनाएको छ भन्न सकिन्छ । त्यसैले, भविष्यमा नेपालले आफ्नै मौसमसम्बन्धी भूउपग्रह सञ्चालन गर्न सके अन्य देशहरूमा निर्भरता कम गर्न र आफ्नो स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सक्नेछ ।
साथै यस भूउपग्रहबाट प्राप्त अन्य देशहरूलाई सहयोग गर्न सक्नेछ जसले नेपालले विश्वलाई लिनमात्रै होइन दिन पनि जानेको छ भन्ने सन्देशसँगै दिगो विकास लक्ष्यको बिभिन्न उद्देश्यहरूमा खासगरी १७ साझेदारीमार्फत योगदान गर्न सक्नेछ । हाल इसरो, नासा र जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी जस्ता संस्थाहरूसँगको साझेदारीले नेपाललाई भूउपग्रह तथ्यांकको पहुँचमात्र नभई परिष्कृत मौसम मोडेलहरू विकास गर्न पनि सघाएको छ ।
चुनौतीहरू अझै धेरै बाँकी छन् । प्राविधिक दक्षताको कमीले उपलब्ध तथ्यांकको सम्पूर्ण उपयोगमा बाधा पुर्याइरहेको छ । भूउपग्रह तथ्यांकलाई विश्लेषण गर्न र प्राविधिक पूर्वाधारलाई सुदृढ गर्न थप लगानी आवश्यक छ । यसका लागि नेपाली विश्वविद्यालयमा रहेका विज्ञ तथा उत्पादित युवा जनशक्तिलाई देशमै खपत गर्न जरुरी छ ।
नेपालमा जलवायु परिवर्तनको प्रभावले थप चुनौती थपेको छ । पछिल्लो दुई दशकमा औसत तापक्रम ०.६ डिग्री सेल्सियसले वृद्धि भएको देखिन्छ । पछिल्लो समयमा चरम मौसम घटनाहरूको आवृत्ति बढेको छ र मनसुन ढाँचामा पनि अस्थिरता आएको देखिएको छ । भूउपग्रह प्रणालीले यी प्रभावहरूको लामो समयसम्मको निगरानी गर्नसक्ने क्षमता प्रदान गर्दछ जसले दीर्घकालीन योजना र अनुकूलन रणनीतिमा सहयोग पुर्याउँछ ।
नेपालको मौसम पूर्वानुमानको विकास, भूउपग्रह प्रविधिबाट सञ्चालित एक दृढता र नवप्रवर्तनको कथा हो । प्रारम्भिक दिनहरूमा छरिएका निरीक्षणदेखि आजको अन्तर्राष्ट्रिय भूउपग्रह प्रणालीहरूको एकीकरणसम्म, देशले मौसम पूर्वानुमानको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । यद्यपि, थप सुधारका लागि प्राविधिक विशेषज्ञता, लगानी र साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेछ । भूउपग्रह प्रविधिको उपयोगले न केवल ठ्याक्कै पूर्वानुमान दिन्छ, देशले बदलिँदो जलवायुमा कसरी अनुकूल हुने भन्ने समाधानको बाटो पनि खोल्छ । यसले भूउपग्रह प्रविधिको प्रभावलाई तथ्यगत रूपमा प्रस्तुत गर्दछ, नेपालको प्रगति र आगामी योजनालाई थप प्रष्ट्याउँछ ।
तर, चुनौती अझै धेरै बाँकी छन् । जस्तै, प्राविधिक दक्षताको कमीले उपलब्ध तथ्यांकको सम्पूर्ण उपयोगमा बाधा पुर्याइरहेको छ । भूउपग्रह तथ्यांकलाई विश्लेषण गर्न र प्राविधिक पूर्वाधारलाई सुदृढ गर्न थप लगानी आवश्यक छ । यसका लागि नेपाली विश्वविद्यालयमा रहेका विज्ञ तथा उत्पादित युवा जनशक्तिलाई देशमै खपत गर्न जरुरी छ । जस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत भौतिकशास्त्र केन्द्रीय विभागले बर्सेनी यस्ता कार्यका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेको छ तर राज्यले यस्ता जनशक्तिलाई खटाउन गृहकार्य गर्न सकिरहेको छैन ।
फलस्वरूप यी दक्ष युवा जनशक्ति आफ्नो सीप विश्वका अन्य मुलुक तथा त्यहाँस्थित मौसम विज्ञानमा काम गर्ने अनुसन्धान प्रयोगशालामा कार्यरत छन् । भौतिक विज्ञानबाट आएकै कारण नेपालमा यो जनशक्तिलाई राज्यले चिन्न सकिरहेको छैन जुन राज्यकै लागि दुर्भाग्यपूर्ण छ । यसतर्फ राज्यले ध्यान दिँदै नेपाल सरकारको यस क्षेत्रमा काम गर्ने संस्था जस्तै जल तथा मौसम विभाग, वातावरण विभागजस्ता संस्थामा यस्ता जनशक्तिलाई उपयुक्त अवसर सिर्जना गरी खपत गर्न जरुरी भइसकेको छ । साथै, जनशक्तिको क्षमतालाई थप परिष्कृत गर्न विश्वविद्यालयभित्र प्राध्यापकहरूले सीमित स्रोत तथा साधनका बाबजुद पनि सञ्चालन गरिरहेका प्रयोगशालालाई स्तरोन्ततिका लागि राज्यले थप लगानी गर्दै देशको विकासमा अग्रसर गराउन आवश्यक देखिन्छ । (भट्टराई राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल) मा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच