काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो संस्करण शनिबारबाट सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिताले देशमा मात्रै नभई विदेशमा समेत राम्रै चर्चा पाएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण बहुचर्चित भारतीय टेलिभिजन स्टार स्पोर्ट्समा हुने भएपछि यसको चर्चा विश्वव्यापी बनेको छ ।
प्रतियोगिताका निम्ति आठ फ्रेन्चाइज टिमले भित्र्याएका केही चर्चित विदेशी अनुहार पनि चर्चाको अर्को प्रमुख आयाम हो । फ्रेन्चाइज टोलीमा आबद्ध विदेशी खेलाडी विभिन्न टोलीले टेस्ट र एसोसिएट राष्ट्रबाट विश्व क्रिकेटमा नाम कमाएका खेलाडी अनुबन्ध गरेका छन् । उनीहरूको आगमनले पनि एनपिएलले विश्व क्रिकेटको ध्यान खिच्न सफल भएको हो ।
भारत, इंग्ल्याण्ड, वेस्ट इण्डिज, पाकिस्तानजस्ता टेस्ट तथा अमेरिका, क्यानडा, ओमन, नेदरल्याण्ड्स, हङकङ, युएईजस्ता एसोसिएट राष्ट्रका खेलाडी एनपिएल टोलीमा आबद्ध छन् ।
एनपिएल) खेल्ने सबैभन्दा ठूला नाम हुन् भारतीय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन । धवनलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ । ‘गब्बर’ नामले परिचित धवनले ३३४ ट्वान्टी-२० खेलमा दुई शतक र ७० अर्धशतकसहित नौ हजार ९९७ रन प्रहार गर्नुभएको छ । उहाँको स्ट्राइक रेट १२५.३४ छ । धवनले ट्वान्टी-२० अन्तर्राष्ट्रियको ६८ खेलमा ११ अर्धशतकसहित एक हजार ७५९ रन प्रहार गर्नुभएको छ । धवनले सन् २०१६ मा सनराइजर्सबाट आइपिएलको उपाधि जित्नुभएको थियो ।
एनपिएल खेल्ने अर्को ठूलो नाम हो रवि बोपारा । इंग्ल्याण्डका ३९ वर्षीय बोपारालाई चितवन राइनोजले अनुबन्ध गरेको छ । उहाँले ४७८ ट्वान्टी-२० खेलमा दुई शतक र ४८ अर्धशतकसहित नौ हजार ४८६ रन बनाउनुका साथै २९१ विकेट पनि लिनुभएको छ । बोपाराको स्ट्राइक रेट १२२.४७ र इकोनोमी ७.५३ छ । ब्याटर मार्टिन गुप्टिलले विराटनगर किंग्सबाट एनपिएल खेल्दै हुनुहुन्छ ।
न्युजिल्याण्डका गुप्टिलसँग इण्डियन प्रिमियर, बिगबास, पाकिस्तान सुपर, मेजर क्रिकेट, इन्टरनेसनल टी-२०, अबुधाबी टी-१०, क्यारेबियन प्रिमियर, द हन्ड्रेडजस्ता लिग खेलेको अनुभव छ । गुप्टिलले ३४७ ट्वान्टी-२० खेलमा ६ शतक र ४७ अर्धशतकसहित ९ हजार ७०७ रन बनाउनुभएको छ । उहाँको स्ट्राइक रेट १३०.४३ छ ।
३७ वर्षीय बेन कटिङलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ । अस्ट्रेलियन अलराउन्डर कटिङले बिगबास, इण्डियन प्रिमियर, क्यारेबियन प्रिमियर लिग, लंका प्रिमियर, पाकिस्तान सुपर, बंगलादेश प्रिमियर, ग्लोबल टी-२० जस्ता लिग खेल्नुभएको छ । कटिङले सन् २०१६ मा सनराइजर्स हैदराबादबाट इण्डियन प्रिमियर लिगको उपाधि जित्नुभएको थियो । कटिङले २१२ ट्वान्टी-२० खेलमा पाँच अर्धशतसहित दुई हजार ९२१ रन प्रहार गर्नुका साथै १३७ विकेट पनि लिनुभएको छ । उहाँको स्ट्राइक रेट १४५.२५ र इकोनोमी ९.०३ छ ।
न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसमसँग अन्तर्राष्ट्रिय र फ्रेन्चाइज क्रिकेटको राम्रो अनुभव छ । ३४ वर्षीय निसम जनकपुर बोल्ट्समा आबद्ध हुनुभएको छ । उहाँले इण्डियन प्रिमियर, पाकिस्तान सुपर, लंका प्रिमियर, क्यारेबियन, एसए टी-२०, द हन्ड्रेडजस्ता लिगको अनुभव लिइसक्नुभएको छ । निसमले २८२ टी-२० खेलमा १२ अर्धशतकसहित चार हजार ९२ रन बनाउनुका साथै २२३ विकेट लिनुभएको छ । उहाँको स्ट्राइक रेट १४२.६२ र इकोनोमी ९.१० छ ।
यीबाहेक सोहेल तान्विर, चाडविक वाल्टन, रोहन मुस्ताफा, बाबर हायात, जान निकोल लोफ्टी इटनजस्ता विश्व क्रिकेटमा चर्चा कमाएका खेलाडीले पनि नेपाल प्रिमियर लिग खेल्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच