पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका-४ खानीछापकी रीता घर्तीले सुुन्तला बेचेर पढाई खर्चको जोहो गर्ने गर्नु भएको छ । तानसेनको जनता नमूना मावि (जेभिटी) बाट कक्षा १२ को परीक्षा दिएर बस्नु भएको उहाँ दिनहुँ सदरमुकाम तानसेनस्थित शितलपाटी नजिकै मन्दिरको डिलैमा बसेर सुन्तला विक्री गर्दै आउनुभएको छ । तानसेनमै कोठा भाडामा बसेर बढ्दै आउनुभएको घर्तीका बुवा वैदेशीक रोजगारमा हुनुहुन्छ । आमा भने गाउँमै कृषि गर्नुहुन्छ । पढ्नमा मेहनती र लगनशील उहाँ आफ्नो पढाइ खर्च सुन्तला बेचेरै जुटाउने गर्नु भएको हो ।
दैनिक दिउँसो, साझाँ सडक छेउको मन्दिरको पेटीमा सुन्तला बेचेर आफूसँगै तीन बहिनीलाई समेत उहाँले पढाउदै आउनुभएको छ । घर्तीले घरमै फलेका सुन्तला सदरमुकाममा बेच्ने गर्नुभएको हो । घरबाट आमा बेनी घर्तीले सुन्तला टिपेर गाडीमा पठाइदिने गर्नुहुन्छ । तिनै सुन्तला लिएर रीता दिनहुँ पेटीमा बसेर बेच्ने गर्नुहुन्छ । सुन्तला बेच्नमा उहाँलाई बहिनीहरु इन्द्रा र रचनाले समेत सहयोग गर्दै आएका छन् । दैनिक १० देखि २० किलोसम्म सुन्तला बेच्ने गरेको रीता बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ ‘घरबाट आमाले गाडीमा सुन्तला पठाइदिनुहुन्छ, यहाँ हामीहरुले ल्याएर बेच्ने गर्छौं, सुन्तला बेचेको पैसा जम्मा गरेर घर आमालाई नै पठाइदिन्छौं, हामीलाई किताब,कापी, कलम, स्कूल फि, कोठा भाडा र खाना खर्च आवश्यक पर्दा त्यही पैसा अड्कलेर घरबाट पठाइदिनुहुन्छ ।’ सुन्तला बेचेको पैसाले घर खर्च र पढाइ खर्च जुटेको उहाँको भनाई छ । विहान पढ्न जाने र पढेर आएपछि खाना खाई तीनै जना बहिनीहरु मिलेर सुन्तला लिएर दिनहुँ शितलपाटी पुग्ने गर्छन् । बाटोमा हिड्नेहरु समेत पढ्ने उमेरमा सुन्तला बेच्न राखेको देखेर दङ्ग पर्दै सोधबुझ गरी सुन्तला किनेर लैजाने गर्छन् ।
रीताले सुन्तला किन्न आउने ग्राहकहरुलाई मुस्कानसहित फेरी पनि आउनुहोला है भन्दै सुन्तला दिएर पठाउने गर्नुहुन्छ । सुन्तला किन्न पुग्नुभएका स्थानीय राजेन्द्र गोपाल सिंहले पढ्ने उमेरकी रीताले सुन्तला बेचेर बसेको देख्दा दङ्ग पर्दै भन्नुभयो ‘यो उमेरका नानीहरु यसरी सडकमा सामान बेचेर बस्न लजाउन्छन् तर रीता भने हाँस्दै ग्राहकलाई सुन्तला बेचेको देख्दा म अत्यन्त प्रभावित भए ।’ प्रायः स्कूल पढ्ने केटाकेटीहरु काम गर्न धक मान्छन् तर उनले पढ्दै कमाउदै गरेको देख्दा सबैले यस्तै गर्ने हो भने समाज र राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने उहाँको बुझाई छ ।
सिंहले रीताबाट अरुले पनि पाठ सिक्न जरुरी रहेको बताउनुभयो । रीताले प्रति किलो एक सयमा सुन्तला विक्री गर्दै आउनुभएको छन् । उहाँ भन्नुहुन्छ, ‘अहिले सुन्तलाको सिजन छ, ताजा ताजा टिपेर दिँदा ग्राहकहरु खुसी भएर किन्छन् । कहिलेकाँही त दिनमै दुई हजार रुपैयाँसम्म पनि कमाइ हुन्छ ।’ आफ्नो उमेर समूहका सबै साथीहरु घुमफिर र भेटघाटमा समय विताउँदा आफुलाई पनि मन त लाग्छ तर यसरी आम्दानी गरेर पढाइ र घर खर्च जुटाउन पाउँदा भने खुसी लाग्ने रीताको भनाई छ ।
फुर्सदको समयलाई सदुपयोग गरेर छोराछोरीले मेहेनत गरेको देख्दा बुवा आमा समेत खुसी हुने गरेको उहाँको अनुभव छ । रीताले काम सानो, ठूलो भन्ने नहुने भन्दै आफुलाई काम गर्दा कुनै पनि लाज नलाग्ने बरु गर्व लाग्ने बताउनुहुन्छ । घरमा बारीभरी सुन्तला खेती गरिएको रीताले बताउनुुभयो । अहिले बारीभरी लटरम्म फलेका सुन्तला लिन घरमै व्यापारीहरु पुग्ने गरेको उहाँको भनाई छ । आफ्नै घरमा उत्पादन भएको फलफूल बजारमा ल्याएर बेच्न पाउँदा खुसी लाग्ने गरेको रीताले सुनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच