पाल्पा । जिल्लाको माथागढी गाउँपालिका रुप्सेकी यमकला बस्याल विगत ९ वर्षदेदिख महिला स्वयंसेविकाको जिम्मेवारीमै हुनुहुन्छ । आफ्नो टोलका गर्भवती महिला, शिशु र जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुको आवश्यक उपचार गर्न सम्बन्धित स्वास्थ्य संस्थामा जान सल्लाह दिने, गर्भवतीलाई नियमित चेकजाँच गर्ने, आइरन चक्की खुवाउँने, बच्चालाई पोलियो खुवाउने यी सबै काम उहाँको हो । तर आफ्नो कामअनुसारको दाम नभएको पीडा उहाँमा छ । ‘समाजकै लागि जीवन दिएका छौं । सरकारले हामीहरूलाई पनि केही सुविधा र सहयोग गरेको भए राम्रो हुने थियो,’ उहाँले भन्नुभयो, ‘हाम्रो पनि घरपरिवार छ ।
बिहान उठ्नासाथ काममा जान्छौं तर सबै सेवा निःशुल्क दिन्छौं । आफ्नो परिवारको पनि चिन्ता छ ।’ उहाँले स्थानीय सरकारले स्वास्थ्य विमामा ५० प्रतिशत, संघीय सरकारले ५० प्रतिशत छुट दिएको,स्थानीय र संघीय सरकारबाट मासिक एक /एक हजार यातायात भत्ता दिने गरेको र अरु सुविधा नभएको बताउनुभयो ।
रम्भा गाउँपालिका–३ पिपलडाँडाकी लिलामाया रानाको पिडा पनि उस्तै छ । उहाँले महिला स्वयंसेविकाको काम गर्न थालेको २० बर्ष भयो । रानाले रातदिन नभनेर गर्भवतीदेखि ५ वर्षमुनिका शिशुको स्वास्थ्यबारे जिम्मेवारपूर्वक काम गरिरहनु भएको छ । आफूहरूको जिन्दगी गाउँघरकै सेवामै बितेको रानाको भनाई छ ।
सुत्केरी हुँदा स्वास्थ्य संस्थामा जान सल्लाह दिने, आवश्यक परे लैजाने र घण्टौं कुरेर बस्ने गरे पनि कामअनुसारको सुविधा र सम्मान नभएको उहाँको गुनासो छ । ‘गर्भवतीलाई नियमित चेकजाँच गर्न लैजान्छौं । आइरन चक्की खुवाउँछौं । बच्चालाई पोलियो खुवाउने गर्छौं । आफ्नो टोलका स्वास्थ्यसम्बन्धी अधिकांश कामको जिम्मा हामीहरूले नै लिएका छौं,’ उहाँले भन्नुभयो, ‘रात दिन घरपरिवार छाडेर सेवा गरिरहेका छौं ।’ कामअनुसारको सम्मान र सुविधा नपाएको उहाँले बताउनुभयो । ‘हामीहरूलाई खासै सुविधा मिल्दैन,’ उहाँले भन्नुभयो, ‘आफ्नो परिवार धान्नै गाह्रो पो हुन्छ ।’ पोशाक खर्च भनेर वार्षिक १० हजार रुपैयाँ मात्र सरकारले दिने गरेको उहाँको भनाइ छ ।
आजीवन सेवा गरेपनि बुढेसकालमा रित्तो हात फर्कनुपर्ने अवस्था रहेको रैनादेवी छहराकी मिना थापाको गुनासो छ । ‘उमेर छउन्जेल काम गर्छाै बुढेसकालमा रित्तो हात फर्कनु पर्छ’ उहाँ भन्नुहुन्छ ‘सरकारले हाम्रा लागि केही सोचिदियोस् ।’उर्जाशील उमेरमा गाउँ–गाउँ हिँडेर स्वास्थ्य शिक्षा प्रदान गर्ने स्वयंसेविका सेवापछिको जीवनलाई लिएर चिन्तित छन् । गाउँमा हँसिलो मुहारका साथ जनचेतना फैल्याउदै हिँड्ने स्वयंसेविका भित्री हृदय भने पीडादायी छ । थापा भित्री मनमा पीडा भए पनि बाहिर हाँसेरै गाउँ गाउँ पुग्नुपर्ने बताउनु हुन्छ।
लिलामाया, यमकला र मिना मात्र होइन, जिल्लाका ६ सय २५ महिला स्वास्थ्य स्वयंसेविकाको अवस्था एउटै छ । उनीहरूले मिहिनेतअनुसारको पारिश्रमिक पाउन सकेका छैनन् । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान महत्वपूर्ण रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । स्वयंसेविकाहरुको लागि तलव नभए पनि सरकारले वार्षिक रूपमा पोसाक खर्च भनेर १० हजार रकम भने दिने गरेको उहाँले बताउनुभयो । पोखरेलका अनुसार ६० वर्ष पुगेपछि स्वयंसेविकाहरुको प्रोत्साहनका लागि संघीय सरकारले २० हजार र प्रदेश सरकारले ५० रकम दिने गरेको छ । साथै अहिले स्थानीय सरकारले पनि स्वयंसेविकाहरूलाई सहयोग गर्ने गरेको पोखरेलले बताउनुभयो ।
‘तलब भनेर नदिए पनि खाजा खर्च, यातायात भाडा भनेर जिल्लाका अधिकांस स्थानीय तहहरूले रकम छुट्याएका छन्,’ उहाँले भन्नुभयो । स्वास्थ्य विमामा समेत उनीहरुलाई छुट रहेको पोखरेलले बताउनुभयो । सरकारका यस्ता सहयोगले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामको सम्मान हुँदै गएको उहाँको धारणा छ । यद्यपी सरकारले न्यून मात्रमा सेवा सुविधा दिर्दै आए पनि उनीहरुको योगदान र भूमिकाको उचित कदर भने हुन सकेको छैन् । नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवालाई एक स्तरको उचाइ प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सराहनीय छ । तर, उनीहरुको जिम्मेवारी, भूमिका र योगदानलाई सरकारले उचित मात्रामा पहिचान र सम्मान दिन भने सकेको देखिन्न ।
हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्षको दिवस विहीबार मनाइयो । यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए ता पनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ । महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् ।
चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनिय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच