
काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा कुल १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुर्ई सरकारी लगानी रहेका कम्पनी छन् भने १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । सिएनआईले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवस २०८१ का अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्महरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने श्रुति ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुुपक्षीजन्य उद्योगहरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जली आयुर्वेद, बैंक, वित्तीय संस्था र बिमाको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई सिएनआईले सम्मान गरेको हो ।
सरकारले कुल १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताका रूपमा सम्मान गरेकोमा सिएनआईले भने निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।
त्यस्तै स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटलका साथै वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई पनि सम्मान गरेको छ ।
त्यसैगरी २०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वेभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई पनि सिएनआईले सम्मान गरेको छ । शाह सिएनआईको उपाध्यक्षसमेत हुनुहुन्छ ।
शुक्रबार सिएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान प्रदान गर्नुभएको हो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धिमात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो । योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा सिएनआईले उच्च करदातालाई सम्मान गरेको अध्यक्ष अग्रवालको भनाइ थियो । कार्यक्रममा सिएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ काउन्सिल सदस्यद्वय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।
सरकारले हरेक वर्ष सबैभन्दा बढी कर तिर्ने हरेक क्षेत्रका उद्यमी व्यवसायीलाई राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान प्रदान गर्दै आएको छ । सरकारबाट उत्कृष्ट करदाताका रूपमा सम्मानित सम्बद्ध उद्योगी तथा उद्योग प्रतिष्ठानहरूलाई सिएनआईले पनि हरेक वर्ष सम्मान प्रदान गर्दै आएको छ । सरकारले २०६९ सालदेखि १ मंसिरमा राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच