म्याग्दी । आफ्ना दिवंंगत आफन्तको स्मृतिमो म्याग्दीको मंगला गाउँपालिका-१,भर्जुलाका तीन परिवारले मंगला शिक्षा क्याम्पसको अक्षयकोषका लागि रु दुई लाखभन्दा बढी आर्थिक सहयोग गर्नुभएको छ ।
हाल अमेरिकामा रहनुभएका सुरेश शेरपुञ्जा र श्रीमती भगवती शेरपुञ्जाबाट स्वर्गीय बाजे-बजै चतुरसिङ र लालमती शेरपुञ्जाको स्मृतिमा रु एक लाख पाँच सय रुपैयाँ सहयोग प्राप्त भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।
त्यसैगरी स्वर्गीय बुबाआमा मनपुर र मंगली शेरपुञ्जाको स्मृतिमा माइली छोरी भीमा र ज्वाई सुरेश बुढाथोकीबाट रु ५० हजार र भर्जुलाकै बोमबहादुर शेरपुञ्जाले रु १० हजार गरी दुई लाख तीन हजार चारसय १० आर्थिक सहयोग प्राप्त भएको क्याम्पस प्रमुख खत्रीले जानकारी दिनुभयो ।
पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिक सहयोगबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावाससहितको संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।
हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा दुईसय ४० जना विद्यार्थी अध्ययनरत छन् । सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ ।
गरिब तथा विपन्न र जेहेन्दा विद्यार्थीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषमा हालसम्म रु ५० लाख सहयोग जुटेको क्याम्पस प्रमुख खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियान जारी नै रहेको उहाँको भनाइ छ ।
क्याम्पसले रु १२ लाख सहयोग गर्नेलाई संरक्षक, रु सात लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, रु एक लाख सहयोग गर्नेलाई आजीवन सदस्य, रु ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र रु ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्यता प्रदान गरेको उहाँले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच