लण्डन । स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राती सम्पन्न खेलमा रियल घरेलु टोली रायो भायकानोसँग ३-३ को बराबरीमा रोकिएको हो । भायकानोका लागि युनाइ लोपेज, अब्दुल मुमिन र इसी पलाजोनले गोल गर्नुभयो । रियलका लागि फेडेरिको भाल्भर्डे, जुड बेलिङघम र रोड्रिगोले गोल गर्नुभयो । खेलको चौथो मिनेटमै लोपेजको गोलमार्फत् भायकानोले अग्रता लिएको थियो । ३६औँ मिनेटमा मुमिनले टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसको तीन मिनेटपछि भाल्भर्डेले गोल गर्दा खेल २-१ को स्थितिमा आएको थियो । ४५औँ मिनेटमा बेलिङघमले रियलका लागि बराबरी गोल फर्काउनुभयो । रियलले ५६औँ मिनेटमा रोड्रिगोको गोलमार्फत् ३-२ को अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन भने सकेन । पलाजोनले ६४औँ मिनेटमा बराबरी गोल गर्दै रियलबाट अंक खोस्नुभयो ।
बायाँ तिघ्राको चोटका कारण स्ट्राइकर केलियन एमबाप्पे अनुपस्थित रहँदा रियल केही कमजोर देखिएको थियो । भिनिसियस जुनियर वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा मैदान छिर्नुभएको थियो । रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले लोपेज र मुमिनलाई क्रसमा रोक्न नसकेको बताउनुभयो । ‘गत सिजन पनि हामीले यहाँ बराबरी खेलेका थियौँ । तर, अन्ततः लिग जित्यौंँ । हामी सही बाटोमा छौँ र यो बराबरीबाट अघि बढ्दै अर्को खेलमा ध्यान दिनु महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो । रायो भालेकानोसँग ३-३ गोलको रोमाञ्चक बराबरीमा खेलेसँगै रियल मड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उछिन्ने मौका गुमाएको छ । बराबरीसँगै १७ खेलमा ३७ अंक जोडेको रियल दोस्रो स्थानमा छ । भायकानो १९ खेलबाट २० अंकका साथ १३औँ स्थानमा छ । रियलले बुधबार इन्टरकन्टिनेन्टल कपको फाइनल खेलमा मेक्सिकन क्लब पाचुकासँग प्रतिस्पर्धा गर्ने छ ।
यता, इंग्लिस प्रिमियर लिगमा लिभरपुल पनि बराबरीमा रोकिएको छ । शनिबार राती सम्पन्न खेलमा लिभरपुल फुलहमसँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो र डियागो जोटाले गोल गर्नुभयो । फुलहमका लागि आन्द्रेस परेरा र रोड्रिगो मुनिजले गोल गर्नुभयो । खेलको ११औँ मिनेटमा परेराको गोलमार्फत् फुलहमले अग्रता लिएको थियो । १७औँ मिनेटमा एन्ड्रियु रोबर्टसनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।
दोस्रो हाफको सुरुवातमै गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काउनुभयो । ७६औँ मिनेटमा मुनिजले गोल गर्दा फुलहम २१ ले अगाडि बढेको थियो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा जोटाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाउनुभयो ।
लगातार दोस्रो खेलमा अंक बाँडेसँगै लिभरपुलको अग्रता कमजोर हुँदै गएको छ । लगातार अंक बाँड्नुपर्दा लिभरपुलको शीर्ष स्थानमा अन्य टोलीहरूले चुनौती दिने स्थितिमा आएको छ । शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३६ अंक छ । जुन दोस्रो स्थानको चेल्सीभन्दा पाँच अंकमात्रै बढी हो । फुलमह १६ खेलबाट २४ अंकका साथ नवौँ स्थानमा छ ।
अन्य खेलमा इप्सवीच टाउनले उल्भरहृयाम्पटन र नटिङघम फरेस्टले एस्टन भिल्लालाई समान २–१ तथा न्युक्यासल युनाइटेडले लेस्टरसिलाई ४-० ले पराजित गरे । यसैगरी आर्सनल एभर्टनसँग गोलरहित बराबरीमा रोकियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच