बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल-२०८१’ हुँदै छ । २०४१ सालमा उपत्यकाबाहिर बुटवलमा पहिलोपटक औद्योगिक प्रदर्शनीय गरेको संघले २०५६ यता नियमितरूपमा गर्दै आएको छ । बुटवलमा आयोजना हुने औद्योगिक व्यापार मेला बुटवलकै एउटा ब्राण्ड बन्न सफल भएको छ भने यो मेलालाई बुटवल उद्योग वाणिज्य संघले मात्रै नभएर सिंगो बुटवलले लिएको अपनत्वले संघलाई हौसला मिलेको छ । मेला तयारी साथै मेलाले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावका विषयलाई समेटेर बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालसँग बुटवल सहकर्मी चन्द्रकान्त खनालले गर्नुभएको संवाद :-
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा औद्योगिक व्यापार मेला सुरु हुँदै छ । तयारी कस्तो छ ?
पुस ३ देखि १८ गतेसम्म सञ्चालन हुने औद्योगिक व्यापार मेला बुटवल उद्योग वाणिज्य संघको २४औँ मेला हो । अहिले हामी कुरा गरिरहँदा स्टल दर्ता, पूर्वाधार निर्माण, मेलाको प्रचारप्रसार, सबै तहका सरकारी निकायसँगको समन्वय, निजी क्षेत्रका अन्य व्यावसायिक संघ संस्थासँगको सहकार्य, कार्यसम्पादन समितिअन्तर्गतका विषयगत समितिका नियमित बैठक जस्ता तयारीका सन्दर्भमा गर्नुपर्ने नियमित कार्यमा लागेका छौँ । मेला अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा गर्न लागिएको र प्रदर्शनीय स्थल निर्माणाधीन अवस्थामा रहेकाले यसको व्यवस्थापन, मेलाका लागि पूर्वाधार निर्माण जस्ता कार्यमा अलि समय दिनुपरेको छ । त्यसका बाबजुद पनि हामीले मेलाका लागि विशेष प्रकारको अठोट गरेका छौँ । त्यसैअनुसार कार्यसम्पादन समिति, विभागीय उपसमितिहरू आ-आफ्नो जिम्मेवारीअनुसारका काममा सक्रियतापूर्वक लागिरहेका छन् । त्यसबाहेक संघअन्तर्गत गठित वस्तुगत समितिहरू पनि आफ्नो जिम्मेवारीबोध गरेर तयारीका काममा खटिइरहेका छन् ।
विगतका मेला र अहिलेको मेलामा भिन्नता के छ ?
बुटवलमा २०४१ सालमा उपत्यकाबाहिर पहिलोपटक प्रवद्र्धनात्मक मेलाको सुरुवात गरेर गौरवशाली इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले ५० को दशकको मध्यतिरबाट केही वर्ष लगातार र पछि गएर आलोपालो गर्दै औद्योगिक व्यापार मेला र विशिष्टिकृत गरी २३ वटा मेला सम्पन्न गरिसकेका छौँ । २४औँ संस्करणका रूपमा यो मेला आयोजना र व्यवस्थापन गर्दै छौँ । यति धेरै मेलाको आयोजना र व्यवस्थापनको संस्थागत र कतिपय सन्दर्भमा व्यक्तिगत अनुभवले पनि एकपछि अर्को मेला परिष्कृत र व्यवस्थित हुँदै आएका छन् । यो मेलामा अनुभवका आधारमा विगतका कमजोरी हटाउँदै बदलिँदो परिवेश, अवलोकनकर्ताको चाहना, हाम्रो उद्देश्यबीच सन्तुलन मिलाउँदै फरकपन दिने प्रयास गरेका छौँ । स्टल नक्सांकन (ले-आउट)परिवर्तन गर्ने प्रयास गरेका छौँ । यो परिवर्तनले उत्पादक, डिष्टिब्युटर्स र उपभोक्ता (अवलोकनकर्ता) बीच सहज र व्यवसायमैत्री वातावरण निर्माणमा बल पु¥याउने छ । स्टलवरिपरि धुलोरहित बनाउने प्रयास गरेका छौँ । स्टेज हालसम्मकै नवीनतम बनाउँदै छौँ । सम्भवतः मेला महोत्सवमा सय फुट लम्बाइको स्टेज पहिलोपटक बुटवल मण्डपमा बन्दै छ । बाल उद्यानमा विदेश घुम्न जाँदा डलरमा टिकट काटेर हेर्ने वाटर टनेल आउँदै छ । यी र यस्तै कयाँै कुराले मेलालाई निरन्तरतासँगै नवीनता थपिदिएको छ ।
यो मेलामा स्टल कति रहन्छ ? कति कारोबार अपेक्षा गर्नुभएको छ ?
बुटवलको मेला आफैंमा एउटा ब्राण्ड बनिसकेको छ । हामीले स्टल जति बनाए पनि स्टल नआउला कि भन्ने डर छैन । तर पनि मेलाको एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा गर्ने गरी व्यवस्थापनमा सहज हुने गरी हामीले लक्ष्य निर्धारण गरेका छौँ । मेला नितान्त मेलाका लागि मात्रै होइन, यो मेला बुटवलको साख पनि भएकाले बुटवलको साखसमेत जोगाउने गरी फरक र राम्रो बनाउने हाम्रो प्रयास हो । यस हिसाबले मेलामा भित्र (इनडोर) र बाहिर (आउटडोर) गरी लगभग पाँच सय स्टल रहने छन् । मेलामा प्रत्यक्षरूपमा पाँच सयजनाले अवलोकन गर्ने र मेलाभित्र १५ करोडको कारोबार हुन सक्ने आँकलन गरेका छौँ ।
अहिले मेला महोत्सव फेसन नै बनेको देखिन्छ, अन्य मेला र बुटवलको मेलामा के अन्तर छ ?
जसले पनि, जहाँ पनि र जसरी पनि मेला तथा महोत्सव आयोजना गर्दा मेला तथा महोत्सवको साख गिरिरहेको छ । संस्थाको ब्यानरमा ठेकेदारमार्फत् चल्ने मेला महोत्सव सामाजिक र व्यावसायिक मर्यादा नाघ्दा संस्थागतरूपमा स्वयंसेवीद्वारा आयोजना हुने मेलासमेत अविश्वासिला बनेका छन् । मेलाहरू दिगो व्यापारको उद्देश्यभन्दा तात्कालिक लाभमा मात्र केन्द्रित भएका कारण इमान्दार आयोजकसमेत बदनाम भएका छौँ । तथापि बुटवलको मेलाप्रति एक तहको विश्वास र आकर्षण छ । हामी सबै आलोपालोमा मेला, प्रदर्शनी वा एक्स्पो जे–जे नाममा आयोजना भएको भए पनि यसको साख बचाउन लागिपरेका छौँ । त्यसैमा पनि बुटवल उद्योग वाणिज्य संघ २०१० सालमा स्थापित बुटवलको जेठो संस्था, २०४१ सालमा ऐतिहासिक प्रदर्शनी गरेको संस्था भएका कारण पनि हामीले थप जिम्मेवारीबोध गर्ने गरेका छौँ । यसरी मेला अवलोकनकर्ताको विश्वास जितेका कारण बुटवलको मेला ब्राण्ड बन्न सफल भएको हो ।
मेलामा ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने नारा तय गरिएको छ । नाराअनुसार लुम्बिनीमा लगानी अभिवृद्धि हुने सम्भावना कति देख्नुहुन्छ ?
हामीले तय गरेको नारा कुनै लहडमा सस्तो लोकप्रियताका लागि होइन । हाम्रो अवस्थिति, सडक र संरचनागत पूर्वाधार, बुद्ध जन्मभूमि लुम्बिनी, रूपन्देहीमा रहेको दक्षिणतर्फको देशकै प्रमुख भन्सार नाका, अन्तर्राष्ट्रिय विमानस्थललगायतको पूर्वाधारसँगै मोतिपुर औद्योगिक क्षेत्र निर्माण प्रक्रियाको आशामा देशकै करिब मध्य भागमा पर्ने रूपन्देही लगानीकर्ताका लागि भरोसायोग्य स्थल बन्न सक्छ भन्ने हाम्रो विश्वास हो । दुई÷चार वर्ष अघि पछि होला, समुन्नत नेपाल निर्माणको आधारभूमि लुम्बिनी प्रदेश त्यसमा पनि रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी नै हो । रूपन्देहीमा लगानीका लागि राम्रो सम्भावना पनि छ, नीतिगत ऐन कानुन सुधारमा सरकारले ध्यान दिने हो भने रूपन्देही देशकै लगानी केन्द्र बन्न सक्छ । यसको प्रवद्र्धनका लागि पनि मेला फलदायी हुने छ भन्ने हाम्रो विश्वास हो ।
मेलाले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउला ?
मेलालाई दुर्ई कोणबाट हेर्नुपर्छ । पहिलो तात्कालिक हिसाबले मेला अवधिमा हुने जमघट, किनमेल र मनोरञ्जनात्मक गतिविधिले एउटा स्तरको चलायमान गराउँछ, जुन अल्पकालीन हुन्छ । अर्को स्थायीरूपमा चलायमान गराउने भनेको उद्यमशीलता विकास, ब्राण्ड प्रमोसन, व्यापार विविधीकरण, ग्राहकको सेन्टिमेट बुझ्ने अवसरका कारण नयाँ वस्तु र सेवाको विस्तार हुन गई बजार थप गतिशील र चलायमान गराउन मद्दत पु¥याउँछ । त्यसले स्थानीयमात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान गर्छ ।
मेलामा कृषि पेभेलियन पनि राख्ने कुरा छ । किसानलाई के फाइदा हुन्छ ?
संघले लगातार दुई वर्ष विशिष्टिकृत कृषि मेला आयोजना गर्छ र तेस्रो वर्ष औद्योगिक व्यापार मेलामै कृषि पेभेलियनमार्फत् कृषकको आत्मबल बढाउँदै ढाडस दिने, उत्पादित कृषि उपज बजारीकरण गर्ने, उत्पादन लागत घटाउन र खानयोग्य वस्तु उत्पादनमा प्रोत्साहन गर्ने गरी काउन्सिलिङ गर्ने व्यवस्था मिलाउने प्रयास गरेका छौँ । नेपाल कृषि प्रधान देश हो । कृषिका माध्यमबाट मुलुकको अर्थतन्त्रमा योगदान गर्न सकिन्छ । विशेषगरी मुलुकको अर्थतन्त्र सुधारका लागि प्रविधि प्रयोग, वैज्ञानिक कृषि प्रणालीका माध्यमबाट कृषिमा व्यावसायिक विकास, कृषिमा आधारित औद्योगिक विकास अपरिहार्य छ । त्यसका लागि युवा लगानीकर्तालाई प्रोत्साहन गरी कृषिमा लगानी अभिवृद्धि, कृषि प्रणालीमा प्रविधि प्रयोग गरी वैज्ञानिक कृषि प्रणालीका माध्यमबाट उत्पादकत्व वृद्धिका लागि प्रवद्र्धन गर्न खोजिएको हो । त्यतिले मात्रै पुग्दैन । वस्तु उत्पादनसँगै त्यसमा आधारित औद्योगिक विकास पनि आवश्यक छ । यी सबै कुरामा लगानी अभिवृद्धि होस् भन्ने हाम्रो चाहना हो ।
पर्यटन प्रवद्र्धनका लागि कस्ता कार्यक्रम बनाउनुभएको छ ?
स्थानीय पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक यातायातको कनेक्टिभिटी अत्यन्त महत्वपूर्ण विषय हो । हामी यसमा चुकेकै छौँ । क्षेत्रीय र राष्ट्रियस्तरको पर्यटन प्रवद्र्धन आन्तरिक हवाई कनेक्टिभिटी, होटल र टुर्स एण्ड ट्राभल्सले आन्तरिक प्रवद्र्धन गर्न सहुलियतपूर्ण प्याकेज चलाउन प्रेरित गर्ने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम समावेश गर्ने छौँ । लुम्बिनी राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य हो । त्यस्तै बुटवलमा ऐतिहासिक जीतगढी किल्ला छ । लुम्बिनी सर्किट प्रवद्र्धन गर्ने गरी मेलाको मुख्य प्रवेशद्वारमा बौद्ध स्तुपा बनाएका छौँ । त्यसैगरी नेपालले अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्लाको प्रचारप्रसारका लागि मेलाको स्टेज जीतगढी किल्लाको आकृति बनाएका छौँ । यसले यस क्षेत्रको पर्यटकीय प्रवद्र्धन गर्ने हाम्रो विश्वास छ ।
प्रदर्शनी स्थल निर्माणाधीन छ, मेला व्यवस्थापन कत्तिको सहज भएको छ ?
खासगरी छाना लगाउनेबाहेकका पहिल्यैदेखि गर्दै आएका सबै कार्य अहिले पनि गर्न परिरहेकै छ । निर्माण कार्य पूर्णरूपमा सम्पन्न नभएका कारण सरसफाइ गर्न र स्टल निर्माण कार्य थप जटिल भएको छ । तथापि सुव्यवस्थित पार्किङ, अधुरै भए पनि आधुनिक संरचनामा स्टल निर्माण गर्दाको अनुभूति फरक नै छ । प्रदर्शनी स्थल निर्माणले पूर्णता पाएपछि सुव्यवस्थितरूपमा मेला सञ्चालन गर्न सकिएला कि भन्ने आशा गर्न सक्छौँ ।
मेलामा सरकारी तथा अन्य संघ संस्थासँगको सहकार्य कस्तो छ ?
हामी बुटवल मण्डपमा मेला आयोजना गर्ने संघ संस्था, अन्य संघ संस्था, राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत् र खासगरी बुटवलको स्थानीय सरकार बुटवल उपमहानगरपालिकाबीच समन्वय र सहयोग सहज छ । व्यवस्थापन र नाफा, नोक्सान बुटवल उद्योग वाणिज्य संघको भए पनि आयोजक सबै बुटवलबासी भएको महसुस अनुभूति गर्ने गर्नुभएको छ । जसले आयोजक र व्यवस्थापनमा ठूलो ढाडस प्राप्त भएको छ ।
अन्त्यमा ?
यो मेला बुटवल हाम्रो संघले आयोजना गरेको भए पनि समग्र रूपन्देहीको मेला हो । यो मेला सफल हुँदा सिंगो रूपन्देहीको साख रहने छ । त्यस्तै उत्पादक र उपभोक्ताको पनि हो यो मेला । यस हिसाबले सबैलाई मेला सफल बनाउन सहयोग गर्न विशेष अनुरोध गर्दछु । त्यसैगरी उत्पादकलाई मेलामा स्टल राख्न र उपभोक्तालाई अवलोकनका लागि पनि विनम्रतापूर्वक अनुरोध गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच