काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको विषयगत समितिको १०औँ बैठकको अध्यक्षता गर्दै मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरी योजना बनाउनुपर्ने र कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
बाँझो जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरी स्थानीय तहमार्फत् कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक रहेको भन्दै उहाँले प्रदेश र संघीय सरकारले सशर्त र विशेष अनुदान उपलब्ध गराउनुपर्ने बताउनुभयो । मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेकाले तिनै तहले योजना बनाउन र विदेशबाट फर्किएकालाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न पनि सुझाव दिनुभयो ।
बैठकमा सातै प्रदेशका कृषिसँग सम्बन्धित सचिवहरूले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्थाबारे प्रस्तुति दिएका थिए भने प्रदेशमन्त्रीहरूले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कृषि मन्त्रीको सचिवालयका अनुसार यसअघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयन समीक्षासमेत भएको बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिव, सह-सचिव, प्रदेश कृषि सचिवका साथै आयोजना प्रमुख, महाशाखा प्रमुखहरूको पनि उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच