काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको मुद्दा दायर भएको छ । पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले कास्की आइतबार जिल्ला अदालतमा डेढ अर्ब बढी बिगो कायम गरेर मुद्दा दायर गरेको हो । मूल अभियोग पत्रमा १९ तथा पूरक अभियोजनमा उल्लेखित छविलाल जोशी, लीला पछाई, रवि लामिछानेसहित आठ कम्पनी र पाँच जनालाई सम्पत्ति जफत गर्नेगरी ४४ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट असुलउपर गर्नेगरी एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ तीन पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिनामिना एवं अपचलन भएको बिगोमध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचतकर्ताको जम्मा बिगो एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ छ ।
यस्तै, थप अभियोग दाबीमा उल्लिखित जम्मा १२१ जना खुलाइएका बचतकर्ताको हुने थप बिगो रकम तीन करोड ३३ लाख ९५ हजार तीन ३४९ रुपैयाँ छ । बचतकर्ताको कुल बिगो एक अर्ब १४ करोड ६८ लाख ३८ हजार लाख ३९४ कायम हुने अभियोग पत्रमा उल्लेख छ । जसअनुसार सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) बमोजिम पीडित जाहेरवालाहरूलाई दिलाई भराइ बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भराइदिन अभियोग पत्रमा माग गरिएको छ । मुद्दा दायर भएकामध्ये आठजना हाल थुनामै छन् भने पाँच जनाविरुद्ध रकम फिर्ताका लागि प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएकामध्ये २३ जना फरार छन् ।
रविविरुद्ध झण्डै ३१ करोड बिगो र १५ वर्षसम्म कैद माग दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध झण्डै २८ करोड बिगो माग दाबी भएर मुद्दा दायर भएको छ । उहाँविरुद्ध फरक–फरक तीन कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो । लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता भएको हो ।
लामिछानेका हकमा सहकारी ठगीमा चारदेखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा भने तीन करोड ३७ लाखको बिगो मागदाबी गरिएको छ । लामिछाने र श्रीमती निकिता पौडेलको सम्पत्ति छानविन गर्दा विभिन्न बैंक खातामा २८ करोड ९१ लाख ३६ हजार ९६७ रुपैयाँ ६१ पैसा जम्मा गरेको पाइएको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका उहाँ त्यसयता कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँलाई कास्कीबाट रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो । पूर्व-गृहमन्त्रीसमेत रहनुभएका लामिछानेमाथि गोर्खा मिडियामा हुँदा सहकारीको रकम अपचलन गरेको अभियोग छ ।
रविको सांसद पद स्वतः निलम्बन हुने
रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।
निकिता पनि प्रतिवादी, पाँच जनाको सम्पत्ति जफत माग
सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उहाँसहित पाँच जनालाई प्रतिवादी कायम गरिएको हो । सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामा छविलाल जोशीकी पत्नी पदमा बञ्जाडे र छोरा रोचक जोशी तथा जिबी राईनिकट मानिएकी लीला पछाई र उहाँकी आमा राधा पछाई छन् । उनीहरूलाई कसुरको सम्पत्ति पुगेको व्यक्तिको रूपमा त्यही सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको हो ।
छविलालविरुद्ध ७४ करोड बढी बिगो माग, दीपेश पनि प्रतिवादी
पूर्व-डिआइजी छविलाल जोशीविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । जोशी गोर्खा मिडियाको सञ्चालक हुनुहुन्थ्यो । उहाँका अनुसार सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपशेलाई पनि प्रतिवादी कायम गरिएको छ । पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको शर्माले जानकारी दिनुभयो । यसैगरी, जिबीमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५०८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ बिगो दाबी गरिएको छ भने लीला पछाईमाथि २४ करोड ६७ लाख सात हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
यी हुन् प्रतिवादी
१. रवि लामिछाने
२. छविलाल जोशी
३. रामबहादुर खनाल
४. दीपेशकुमार पुन
५. नेत्रपाणि बास्तोला
६. देवेन्द्र बाबु राई
७. विज्ञान राई
८. लीला पछाई
९. विश्वविक्रम राई
१०. विशाल तामाङ
११. नवीन अछामी
१२. रविना रिमाल
१३. असरफ अली सिद्दिकी
१४. दीपक लामा
१५. अनन्त बाबु राई
१६. ओमप्रकाश गुरुङ
१७. वीरबहादुर रानाभाट
१८. दीपा न्यौपाने
१९. कल्पनाकुमारी श्रेष्ठ
२०. ज्ञानबहादुर बम्जन
२१. मीना गुरुङ
२२. सूर्यध्वज न्यौपाने
२३. आरती गुरुङ
२४. लीलाबहादुर गुरुङ
२५. पेशलकुमार राई
२६. कृष्णबहादुर गुरुङ
२७. देवकुमार नेपाली
२८. शकुन्तला गुरुङ
२९. मिश्रकुमारी गुरुङ
३०. रितु ताम्राकार
३१. लक्ष्मीप्रसाद पौडेल
कम्पनी
१. गोर्खा मिडिया नेटवर्क प्रालि
२. नेचर हब्र्स इन्टरनेसनल प्रालि
३. नेचर नेष्ट प्रालि
४. जिबी ग्रुप अफ कम्पनिज प्रालि
५. गोर्खा ग्रुप मल्टी इन्भेष्टमेण्ट प्रालि
६. मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्रालि
७. स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्रालि
८. नेपाल श्री मल्टी मिडिया प्रालि
सम्पत्ति जफत प्रयोजनार्थ
१. पद्मा बञ्जाडे जोशी
२. रोचक जोशी
३. राधा पछाई
४. गीता पछाई
५. निकिता पौडेल
जंगम र दाहाललाई पाँच दिन हिरासतमा राख्न अनुमति
साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका भरत जंगम र लुमन दाहाल दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौंबाट आइतबार पक्राउ परेका उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । शैली थापा समेतका व्यक्तिहरूले यो सहकारी ठगी प्रकरणमा जाहेरी दिएका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । आइतबार मात्रै काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरतमणि जंगम पक्राउ पर्नुभएको हो । उहाँ पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ पर्नुभएको थियो । उहाँहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ । साई स्वागत सहकारीको निवर्तमान उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच