झापा ‘सी’ डिभिजन च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । झापा फुटबल क्लब शहीद स्मारक ‘सी डिभिजन लिग च्याम्पियन बनेको छ । एक खेलअगावै ‘बी’ डिभिजन लिगमा बढुवा भइसकेको झापाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको अन्तिम खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै उपाधि उचालेको हो ।

झापाको जितमा विशाल खवासले दुई तथा मनिष लिम्बू र पुजन राईले समान एक गोल गर्नुभयो । स्वयम्भुका रोशन क्षेत्री र पाल्साङ लामाले गोल फर्काउनुभयो । खेलको तेस्रो मिनेटमै विशाल खवासको गोलबाट झापाले सुरुवाती अग्रता लिएको थियो ।

३९औँ मिनेटमा विशालले दोस्रो गोल गर्दै झापाको अग्रता दोब्बर पार्नुभयो । ४८औँ मिनेटमा मनिष लिम्बूले झापाका लागि तेस्रो गोल गर्नुभयो । ५१औँ मिनेटमा रोशन क्षेत्रीले स्वयम्भुका लागि एक गोल फर्काउनुभएको थियो । ५५औँ मिनेटमा पुजन राईले गोल गर्दै झापालाई ४–१ ले अघि बढाउनुभयो । ६७औँ मिनेटमा पाल्साङ लामाले गोल गर्दै खेललाई ४-२ को अवस्थामा ल्याए पनि त्यसपछि खेलमा थप गोल भने हुन सकेन ।

झापाले लिगको १३ खेलबाट ३४ अंक जोड्यो । दोस्रो हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइज युनाइटेड क्लबले ३१ तथा तेस्रो भएको आरसी ३२ फुटबल एकेडेमीले २९ अंक जोड्यो ।

उपाधिसँगै झापाले १० लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको प्लानिङले सात लाख तथा तेस्रो भएको आरसी ३२ ले चार लाख रुपैयाँ हात पारेको छ । झापाका पारस कार्की प्लेयर अफ दी म्याच घोषित हुनुभयो । उहाँले ५० हजार रुपैयाँ हात पार्नुभयो । महावीर क्लबले फेयर प्ले अवार्डसँगै ५० हजार रुपैयाँ जित्नुभयो ।

प्लानिङका फागुराम थारु र सानेपाका खेमराज तामाङले समान १४ गोल गर्दै गोल्डेन बुटको अवार्ड हात पार्नुभयो । उहाँहरूलाई समान ३५ हजार रुपैयाँ बाँडिएको छ । प्लानिङका लोकेश चौधरी लिगको उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । उहाँले ३५ हजार नगद हात पार्नुभयो ।

विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले पुरस्कृत गर्नुभएको थियो । १४ टोलीले सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्दा वीरगञ्ज युथ एकेडेमी र ओसिस क्लब रेलिगेसनमा परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?