राजनीतिमा नथाकेका भूपेन्द्रजंग शाही

पूर्व मेचिनगरदेखि पश्चिम महेन्द्रनगरसम्म सङ्कल्प यात्रामा

कालीकाेट । नेपाली कांग्रेसका युवा नेताहरुले गत कार्तिक २३ देखि नेपाली कांग्रेस युवा संकल्प यात्रा प्रारम्भ गरेर पूर्वको मेचीनगर देखि पश्चिमको महेन्द्रनगरसम्म देशव्यापी अभियान चलाएर युवामा जागरण, नयाँ आशा, भरोसा र विश्वासको सकारात्मक सन्देश दिएका छन् । युवा सङ्कल्प यात्राका संयोजक हुनुहुन्थ्याे नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भूपेन्द्रजंग शाही ।

४० जना अगुवा युवानेताहरुको समूह लिएर उहाँले कार्तिक अन्तिम साता नागरिकसँग बहस, संवाद र अन्तरक्रिया गर्नुभयाे । जनजीविकाकाे सवालमा १० बुँदे एजेण्डा लिएर नेपाली कांग्रेसका युवा नेताहरु आम नागरिक, किसान, मजदुर र युवा भेट्न देशको पूर्व मेचिनगरदेखि पश्चिम महेन्द्रनगरसम्म पुग्नुभयाे ।

अहिले नेपाली कांग्रेस ओली सरकारको मुख्य सत्ता साझेदार हो । महत्वपुर्ण मन्त्रालयहरु लिएर सरकारमा रहेको कांग्रेसका नेता कार्यकर्ताको ठूलो पंक्ति सिंहदरवारमा केन्द्रित छन् । तर, भूपेन्द्रजंग शाही सत्ता चास्नीको रमझममा हुनुहुन्न उहाँ सत्ताको भोग विलासभन्दा टाढा बस्न रुचाउँनुहुन्छ । सधैं जनताको माझमा बस्न रुचाउने शाही सिंहदरवार र शक्ति केन्द्रहरुका अगाडी पछाडी नलागी जनताको मर्म बुझ्न निरन्तर मैदानमा केन्द्रीत हुनुहुन्छ ।

राष्ट्रिय महत्व पाएको युवासंकल्प यात्रामा पूर्वदेखि पश्चिमसम्मै स्वतस्फूर्त जनताको लहर देखियो । निर्वाचन भन्दा बाहेक पनि नेताहरु जनताको दैलो दैलोमा आएको देखेपछि नागरिकहरु यसै हर्षित देखिन्थे । अभियानको क्रममा युवा समूहले भित्री गाउँ र बस्तीहरुमा प्रवेश गरि २५ भन्दा बढि जिल्लाहरुमा पाइला टेकेका थिए । ५० वटा कार्यक्रम र १५ हजार भन्दा बढि मानिसहरुसँग छलफल तथा अन्तरक्रिया गरि जनताको समस्या र गुनासाहरु सुने । यसैपनि यो यात्राको १० बुँदे एजेण्डा तयार नै थियो ।

रोजगारी, उद्यमशिलता, भ्रष्टाचार, महङ्गी, सहकारी ठगी देखि सुशासनका एजेण्डाहरु अहिलेका जल्दोबल्दो जनताको चासोँका विषयहरु हुन् । आफ्नो मुद्दा बोकेको देखेपछि सङ्कल्प यात्राप्रति नागरिकहरुले एक्यवद्धता जनाए । हरेक जिल्लाका नगर र गाउँहरुमा सिंगो कांग्रेसले अपनत्व पनि ग्रहण गर्यो ।

बेमौसममा पनि नेताहरु यसरी जागरण अभियान लिएर जिल्ला जिल्लामा हिँडेको खासै देखिँदैन । तर कांग्रेसका नेता शाही यो पटक मात्रै होइन यस अघि पनि थुप्रैपटक यस्तो अभियानमा हिडिसक्नु भएको छ । यसअघि कर्णाली प्रदेशका सबै जिल्लाहरुमा यस्तै अभियान लिएर सल्यानको कपुरकोट देखि हुम्लाको सिमिकोट सम्म कर्णालीका विकट बस्ति र कठिन भूगोलमा संगठन निर्माणमा पुग्नु भएकाे थियाे ।

यसैगरि युवा उद्यमशिलता सम्मेलन, अनि बृहत नेपाल युथ समिट, बिपि बिचार सम्मेलन, युवा नेत्तृत्व विकास प्रशिक्षणलगायत विभिन्न कार्यक्रम आयोजना गरेर युवामा धेरै उर्जा, भरोसा र हौसला प्रदान गर्नुभएकाे छ ।

शाही भन्नुहुन्छ, 'जनतासँग जोडि राख्न र जनताको भाबना बुझ्न यस्ता अभियानले राजनीति कर्मीहरुलाई गतिशिल, उर्जाशिल बनाउँछ र जनतासँग अटुट सम्वन्धमा राख्दछ । एउटा राजनीतिकर्मीले गर्ने नै यहीँ हो ।' उर्जाशिल भूपेन्द्रजंग शाहीले युवा संकल्प यात्राले तय गरेको १० बुँदे एजेण्डामा नै जनताको समस्या उजागर भएको आफूले महसुस गरेको बताउनुभयाे ।

हालसम्म कुनै सार्वजनिक लाभको पदमा नबस्नु भएका शाही आफू निरन्तर जनताको माझमा बस्न रुचाउँनुहुन्छ । बारम्बार यात्रामा निस्किरहनुहुन्छ ।

गएको संघीय निर्वाचन पश्चात देसैभरि ६० जिल्ला भन्दा बढि धेरै जिल्ला जिल्लामा जाने र भूगोलमा बढि खट्ने नेताको रुपमा उहाँको परिचय बनेको छ । कांग्रेस पार्टीमा सबै भन्दा बढी जिल्ला जिल्लामा जाने, खट्ने र धेरै दुख गर्ने नेतामा शाही पर्नुहुन्छ ।

कालीकोटको विकट वस्तीबाट निकै ठुलो सङ्घर्ष र चुनौती पार गरेर राष्ट्रिय राजनीतिमा स्थापित हुँदै गर्नुभएका शाही आफ्नो कुरा स्पस्ट राख्ने, खरो बोल्ने, नेताको चाकडी नगर्ने, बैचारिक, जुझारु, आफ्नो कर्ममा बिश्वास राख्ने मेहनेती नेतामा पर्नुहुन्छ ।

नेविसंघको केन्द्रीय उपाध्यक्ष, तरुण दलको केन्द्रिय महामन्त्री दुईपटक संघीय संसदको उम्मेदवार, कर्णाली प्रदेश सभापतिको प्रत्यासि, पार्टीको निरन्तर महासमिति सदस्य भइसक्नुभएका शाही युवा माँझ निकै नै लोकप्रिय हुनुहुन्छ ।

आउने १५ औं महाधिवेशनमा केन्द्रीय महामन्त्री उठ्ने संभावना रहेका शाही कांग्रेसमा आमूल रुपान्तरण र सुद्धिकरणको खाँचो रहेको बताउनुहुन्छ । राजनीतिमा नैतिक मुल्य र मान्यता, इमान्दारिता हुनु पर्छ । राजनीति सत्ता र शक्तिको लागि नभै जनताको लागि हुनुपर्छ। भ्रस्टाचार देशको मुख्य समस्या भएकोले यसको जरा उखेल्नु पर्छ र भ्रस्टाचारमा जोसुकै संलग्न भएपनि कडा कारबाही गर्नुपर्छ भन्ने शाहीको मुख्य एजेण्डा रहेको छ । यसैगरि देशबाट युवा पलायन रोक्नु बेरोजगारी समस्या तत्काल समाधान गर्नु सरकारको पहिलो दायित्व भएकोले युवालाई उधमशिलतामा जोड्न सरकारले विशेष लगानी गर्नुपर्ने शाहीको बिचार रहेको छ ।

झण्डै एक महिना पूर्वको मेचीनगरदेखि पश्चिमको महेन्द्रनगरसम्म कांग्रेस युवा संकल्प यात्रा देशव्यापि अभियान चलाएर आम सर्बसाधारण, किसान, मजदुर, व्यवसायी, युवा, खेलाडीलगायतसँग छलफल, अन्तरक्रिया गर्नुभएका शाही यो अभियान आफूले सोचेभन्दा पनि राम्रो भएको, आम नागरिकका चाँसो, पार्टीको पूर्ण अपनत्व रहेको र समग्रमा पूर्ण सफल भएको उहाँले सुनाउनुभयाे ।

तैपनि कतिपय युवाले संकल्प यात्रालाई कांग्रेसको आगामी महाधिवेशनमा पदाधिकारी उठ्ने प्रचारको यात्रा भनि ब्याख्या पनि गरे, केहीले ठुला नेता विरुद्धको यात्रा पनि भने, तर शाही भन्नुहुन्छ - 'यो यात्रा सिंगो कांग्रेसको कार्यक्रम थियो । अझै भन्दा आम जनताको अभियान थियो, युवा सङ्कल्प यात्रा मार्फत भुई मान्छेका आवाजहरु बुलन्द बनाउनु र सर्बसाधारण जनताका दु:ख पीडाहरुरुप्रति सरोकारवालाको ध्यानाकर्षण गराउनु र अहिले देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै निकायलाई झकझक्याउनु युवा सङ्कल्प यात्राको मुख्य उद्देश्य रहेको थियो ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2 Like Like
0 Love Love
1 Happy Happy
1 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?