काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्जलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा रहने पनि केन्द्रीय बैंकले जनाएको छ । उक्त बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त बैंकलाई केन्द्रीय बैंकले बुधबार ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको थियो ।
समूहमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ । बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘डिउ डिलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेलगायतका अख्तियारी प्रदान गरिएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकाले सर्वसाधारणको हित कायम गर्न समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको केन्द्रीय बैंकले जनाएको छ ।
न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेकोलगायतका कारण बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम मिति २०८१ मंसिर ११ देखि लागू हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो ।
सेयर कारोबार पनि रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
नेप्सेले कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त बैंकका रूपमा घोषणा गरेको भन्दै अर्को व्यवस्था नहुन्जेल कारोबार रोक्का गर्ने निर्णय गरिएको जनाएको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता आठ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ र जगेडा कोष १९ करोड ८ लाख ३५ हजार रुपैयाँ रहेको छ तर बैंकको सञ्चित नाफा २० करोड ३४ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ । असोजसम्म बैंकले पाँच अर्ब २१ करोड १८ लाख निक्षेप संकलन गरी तीन अर्ब ८१ करोड ५५ लाख कर्जा लगानी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच