विद्युत् चुहावट ९.१० प्रतिशतमा झरेको दाबी

Read Time = 8 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको दाबी गरेको छ । नियमितरूपमा विद्युत्् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालित अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष २.८२ प्रतिशतले घटाएको बताइएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो । 

प्राधिकरणका अनुसार प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङ प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट बिलिङ भएकोलगायतका कारणबाट चुहावट घटेको घिसिङको भनाइ छ ।

प्राधिकरणका अनुसार सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताइएको  छ । गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ ।  

सबैभन्दा बढी चुहावट मधेश प्रदेशमा

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको  छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वितरण केन्द्रको समग्र विद्युत् चुहावट १२.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष सो केन्द्रको चुहावट १०.१७ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको चुहावट ३९.८० प्रतिशत छ । गत वर्ष सो केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट ०.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो । 

प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो । 

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटांैडा मातहतका छवटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष २६.५८ प्रतिशत थियो । 

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष सो केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो । सिन्धुपाल्चोककै हेलम्बु वितरण केन्द्रको विद्युत् चुहावट ३०.७८ प्रतिशत छ । गत वर्ष चुहावट ९.२८ प्रतिशत थियो । 

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकोमा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ । गत वर्ष १४.८४ प्रतिशत थियो । लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट प्युठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १९.९० प्रतिशत थियो । 

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकोमा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?