‘मेरो अन्तरङ्ग’ रमेशप्रसाद गौतमको आत्मसंस्मरणात्मक पुस्तक हो । गौतक लामो समयसम्म शिक्षण पेशामा रहेर शिक्षा प्रशासक (जिल्ला शिक्षा अधिकारी) बन्नुभएको व्यक्ति हुनुहुन्छ । काठमाडौंकै स्थानीय बासिन्दा गौतम काठमाडौं शहरको बीचमा पर्ने पद्मोदय माविमा धेरै वर्षसम्म प्रधानाध्यापकसमेत हुनुभयो । उहाँले शिक्षाविद्का रूपमा आफ्नो छवि बनाउनुभएको छ । हाल सेवानिवृत्त अवस्थामा रहनुभएका गौतमद्वारा लेखिएको पुस्तक हो ‘मेरो अन्तरङ्ग’ । सुन्दर स्वदेश पब्लिकेसन काठमाडौं प्रकाशक रहेको यस पुस्तकको प्रथम संस्करण हो भने सर्वाधिकार लेखकमै छ । पुस्तक २०८१ साल असारमा प्रकाशित भएको छ ।
गौतम शिक्षा क्षेत्रको मानिस भएका कारण अध्यापन र शिक्षा प्रशासनका कुरा यसमा आउनु स्वाभाविक हो तर उहाँ प्रजातन्त्रका पक्षमा पनि आवाज उठाउने व्यक्ति भएका कारण त्यस प्रकारको प्रयासको आभास यस पुस्तकले गराउँछ । आत्मकथा भन्नु नै एकजना व्यक्तिको जीवन वृत्तबाट अरूले शिक्षा ग्रहण गर्नु हो । त्यस प्रकारका सामग्री यस पुस्तकका पर्याप्त छन् ।
सहारा प्रिन्ट कनेक्सन, डिल्लीबजारमा मुद्रण भएको यस पुस्तकको लेआउट सुमन कार्कीको रहेको छ । डिएमआई साइजको यस पुस्तकमा तौलयुक्त पहेँलो कागजको प्रयोग भएको छ । यस पुस्तकको छपाइ स्तरीय छ, अशुद्धिहरू कतै-कतै भेटिन्छन् । यस पुस्तकको आवरणपृष्ठ आकर्षक छ । नीलो रङमा रहेको यस आवरणमा हिमाल, पहाड, ताल, बस्ती, रूख र तालको किनारामा उभिइरहेको मानिस देखाइएको छ । पृष्ठ आवरणमा लेखक गौतमको फोटोसहित यस पुस्तको भूमिकाबाट टिपिएका अर्जुननरसिंह केसी र जयराज आचार्यका भनाइ राखिएका छन् । यस पृष्ठको तल लोगोसहित प्रकाशक सुन्दर स्वदेश पब्लिकेसनको नाम उल्लेख भएको छ ।
भूमिका खण्डमा प्रतिनिधिसभाका सांसद एवं पूर्वशिक्षामन्त्री अजुनरसिंह केसीको ‘आत्मकथामा शिक्षाविद् तथा शिक्षक रमेशप्रसाद गौतम’, जयराज आचार्यको ‘मन्तव्य’, र लेखक गौतमको ‘लेखकीय’ छन् । त्यसपछि विषयसूची छ । विभिन्न ७८ वटा शीर्षकमा उहाँले आफ्नो बाल्यकालदेखिका विभिन्न संस्मरण समेट्नुभएको छ । यो उहाँको आत्मकथात्मक कृति हो । यसको अध्ययनबाट रमेश गौतमको जीवनका विविध पक्षालाई विविध कोणबाट अध्ययन र विश्लेषण गरी निष्कर्षसमेत निकाल्न सकिन्छ तर यो पुस्तक त्यतिमा मात्र सीमित छैन । उहाँको जीवनक्रम त यसै पनि आत्मकथा भएकाले जानकारी हुने नै भयो ।
साथै नेपालको तत्कालीन अवस्थादेखि हालसम्मको विभिन्न पक्षको जानकारीसमेत यसमा पाउन सकिन्छ । विशेषगरी पञ्चायतकालको र प्रजातन्त्रपछिको नेपालको शिक्षा व्यवस्था, इतिहास, आर्थिक सामाजिक पक्षलाई छर्लङ्ग पारिदिएको छ । यो व्यक्तिकेन्द्रित आत्मकथा मात्र होइन इतिहास, प्रशासन, शिक्षा, समाज, अर्थतन्त्रलाई हेर्ने, केलाउने, चर्चा र विश्लेषण गर्ने अनि दुई अलगअलग समयको पार्थक्य देखाउने दस्ताबेजसमेत हो । यस ढङ्गबाट यसको अध्ययन गर्नुपर्छ र यसरी हेर्न सकियो भने यो सबैका लागि एउटा उपयोगी र पठनीय कृति बन्न सक्छ ।
गौतम शिक्षा क्षेत्रको मानिस भएकाले अध्यापन र शिक्षा प्रशासनका कुराहरू यसमा आउनु स्वाभाविक हो तर उहाँ प्रजातन्त्रका पक्षमा पनि आवाज उठाउने व्यक्ति भएको हुँदा त्यस प्रकार प्रयासको आभास पुस्तकले गराउँछ । आत्मकथा भन्नु नै एकजना व्यक्तिको जीवन वृत्तबाट अरूले शिक्षा ग्रहण गर्नु हो । त्यस प्रकारका सामग्री यस पुस्तकका पर्याप्त छन् । पाठक लाभिान्वित बन्न सक्नुहुनेछ र त्यसो गर्नु हितकर हुने देखिन्छ । यस पुस्तकका लेखक गौतमलाई धेरै धेरै बधाई तथा पुस्तकको सफलताको कामना । यसैगरी अन्यान्य पुस्तक पनि उहाँबाट आइरहून् लेखक गौतमलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच