निर्वाचन परिचालन समितिको निष्कर्ष, स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी

हिमालय टाइम्स
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको निष्कर्ष निकालेको छ । स्थानीय तह केन्द्रीय परिचालन समितिले वडाध्यक्षले पाएको मतका आधारमा पार्टीलार्ई पहिलो दलका रूपमा स्थापित गरेको निष्कर्ष निकालेको हो । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिले कांग्रेसले ३८ लाख ८३ हजार ८३१ मत पाएको प्रतिवेदनमा उल्लेख गरेको छ । कांग्रेसले गाउँपालिकाका अध्यक्ष र नगरका प्रमुख गरी ७५२ मध्ये ३२९ स्थानीय तह जितेको प्रतिवेदनमा जनाइएको छ ।

स्थानीय तहमा गठबन्धनबाट कांग्रेसले ६१ प्रतिशत प्रमुख र ७४ प्रतिशत उपप्रमुखमा जितेको तथ्यांक राखिएको छ । समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ । स्थानीय चुनावमा गठबन्धन सफल भएको समितिको ठहर छ । स्थानीय चुनावमा धेरै सिट जितेका कारण अब हुने चुनावमा गठबन्धन प्रभावकारी हुन सक्नेसमेत समितिको विश्लेषण छ ।

शहरी क्षेत्रमा स्वतन्त्र र युवाहरू चुनौती
समितिले शहरी क्षेत्रका स्वतन्त्र उम्मेदवार र युवाहरू कांग्रेसका लागि चुनौती रहेको निष्कर्ष निकालेको छ । स्वतन्त्र र युवाहरूबाट सिर्जित चुनौतीलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउन समितिले सुझाव दिएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै दिइएका सुझावमा प्रचार सामग्रीका लागि आधुनिक सूचना प्रविधिको अत्यधिक प्रयोग गर्ने, चुनावमा आउने असन्तुष्टि रोक्न सुरुदेखि नै उपयुक्त व्यवस्थापन गर्ने, टिकट वितरण प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउने, लोकप्रिय, स्वच्छ छवि, क्षमतावान र जनतामा भिजेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने, पार्टीका अजेन्डा स्थानीय तहसम्म पु¥याउन आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेलगायत सुझाव दिइएको छ ।

समितिले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेका समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिनुभयो । आवश्यक सुझावहरूलाई समेटेर केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकका लागि दुई एजेण्डा तय गरेको छ । स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको पौडेलले जानकारी दिनुभयो । वैशाख ३० गते भएको चुनावमा कांग्रेस पहिलो पार्टी बनेको थियो । सत्तारूढ गठबन्धनका दलहरूसँग विभिन्न पालिकामा कांग्रेसले चुनावी तालमेल गरेको थियो । कांग्रेसले ३२९ पालिकामा मेयर र अध्यक्ष जितेको छ ।

शेखर पक्षको निष्कर्ष : सभापति देउवा एकलौटी ढंगले अघि बढे
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको नेता शेखर कोइराला पक्षले निष्कर्ष निकालेको छ । बिहीबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको समूहको बैठकले सभापति देउवा एकलौटी ढंगले अघि बढेको निष्कर्ष निकालेको हो ।

महाधिवेशनपछि सबैको सल्लाहअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए पनि कुनै पनि निर्णय लिनुअघि नेता कोइराला पक्षसँग सल्लाह नगरेको उनीहरूको दाबी छ । भ्रातृ संस्थाका नेतृत्व नियुक्त गर्दा सभापतिले एकलौटी ढंगले निर्णय लिएको भेलामा सहभागी सहमहामन्त्री जीवन परियारले बताउनुभयो । केन्द्रीय सदस्य मनोनीत गर्दा पनि देउवाले आफूनिकटलाई मात्रै स्थान दिएको उहाँको आरोप छ । सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग र कार्यसम्पादन तथा संसदीय समितिलगायत पनि गठन नगरेको कोइराला पक्षको भनाइ छ ।

बैठकले पार्टीले ६ महिनामा गर्नुपर्ने काम गर्न नसकेको पनि ठहर गरेको छ । भेलामा रचनात्मक विद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरासमेत उठेको बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले बताउनुभयो । आफूहरूको विचार समूहलाई कसरी लैजाने भन्ने कुरा पनि उठेको भण्डारीले बताउनुभयो । बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, सञ्जय गौतम, गोविन्द पोखरेल, प्रतिमा गौतम, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायत उपस्थित हुनुहुन्थ्यो । बैठक आज (शुक्रबार) पनि बस्नेछ ।

विधानअनुसार महाधिवेशनपछि नयाँ कार्यसमिति निर्वाचित भएको तीन महिनाभित्र कोषाध्यक्ष मनोनयन, ६ महिनाभित्र पार्टीका विभागहरूको गठन गर्नुपर्ने, नेतृत्वविहीन भएका भ्रातृ संस्थामा मनोनयनलगायत कामहरू हुन सकेका छैनन् । अहिलेसम्म चारवटा भ्रातृ संस्थामा मनोनयन हुँदा सभापति देउवाले आफू पक्षीय नेताहरूलाई सभापतिमा मात्रै मनोनयन गर्नुभएको छ ।

सभापतिले नेतृत्व गर्न सक्नुभएन : भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । बिहीबार शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो । उहाँले सभापति देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

नेता शेखर कोइराला पक्षीय नेताहरूको भेला गुटको भेला नभई विचारको भेला भएको उहाँको भनाइ थियो । ‘विधानअनुसार पनि काम गर्न नसक्ने, नीति अधिवेशन पनि गर्न नसक्ने । सिंगो पार्टीको पनि नेतृत्व गर्न नसक्ने भइसकेपछि केही कुरा छलफल हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै कुरालाई गुटको रूपमा हेर्नु हुँदैन । विचारको रूपले पनि हेर्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?