आईसीयु सेवा नचलेकोमा डा. तोसिमा कार्कीको चासो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट बञ्चित भोजपुरका नागरिक आइसीयु सेवा लिनबाट समेत बञ्चित भएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले यस तर्फ चासो देखाउनु भएको छ । जिल्ला भेलामा सहभागि हुन भोजपुर आउनु भएकी कार्कीले जिल्ला अस्पताल भोजपुरको सेवाका बिषयमा चासो देखाउँदै सरकारको निकायको प्राथमिकतामा स्वास्थ्य सेवा पर्छ कि पर्दैन भनेर प्रश्न समेत गर्नुभयो ।

बिगत पाँच बर्ष देखि तयारी अवस्थामा रहेको आईसियु सेवा जनशक्ति अभावमा संचालनमा आउन नसकेको गुनासो स्वास्थ्यकर्मीले राखेपछि डा. कार्कीले जिल्ला अस्पतलामा सेवा संचालन गर्ने बिषयमा आफुले पनि सम्वन्धित निकायमा समन्वय गर्ने बताउनुभयो ।

सोक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. पवित्रा श्रेष्ठले सरकारसँगै स्थानीय तहलगायतका सरोकारवाला निकायसँग पनि सेवा संचालनका बिषयमा सहयोग मागेको भएपनि कुनै पनि पक्षले सहयोग नगरेको गुनासो गर्नुभयो । जिल्ला अस्पताल ५० शैयाको सेवा दिने गरी बनेको भएपनि हाल १५ शैया मात्र संचालनमा छ भने आवश्यक स्वास्थ्यकर्मी र जनशक्तिको ब्यवस्थापन हुन नसक्दा सेवा प्रभावकारी बन्न सकेको छैन ।

जिल्ला अस्पताल भोजपुरका मेडिकल सुपरिटेण्डेट डा. श्रेष्ठले भन्नुभयो, “तयारी अवस्थामा रहेको आईसीयु सेवा संचालनका लागि हामीले जिल्लामा रहेका ९ वटै स्थानीय तह र सरोकारवाला निकायहरुसँग पनि समन्वय गरियौ तर कतैबाट पनि सहयोग नपाएपछि सेवा संचालन गर्न सकेनौ ।” दुई करोड रुपैयाँभन्दा धेरै लगानी गरेर बनाईएको सघन उपचार कक्ष (आईसीयु) संचालनमा आउन नसक्दा बिरामीहरु समेत सहज उपचार पाउनबाट बञ्चित हुदै आई रहेका छन ।

आर्थिक बर्ष २०७८/०७९ मा कोभिड संक्रमण रोकथाम तथा महामारी ब्यवस्थापन कार्यक्रमअन्तर्गत बिनियोजित भएको रकमबाट आवश्यक सामाग्री खरिद गरी आईसीयु कक्ष तयारी अवस्थामा राखिएको भएपनि आर्थिक अवस्थाका कारण दक्ष जनशक्तिको ब्यवस्थापन हुन नसक्दा भोजपुरका नागरिक सेवा पाउनबाट बञ्चित भएका हुन् ।

जिल्ला अस्पतालका अनुसार सेवा संचालनका लागि नौ जना दक्ष जनशक्तिको आवश्यकता रहेको छ । जसमा कन्सल्टयान्ट एनेस्थेसियोलोजिष्ट एक जना, कन्सल्टयान्ट इन्टरनल मेडिसिन एक जना, तालिम प्राप्त मेडिकल अधिकृत दुई जना र तालिम प्राप्त नर्सिङ स्टाफ पाँच जना चाहिने हुन्छ । जिल्ला अस्पतालमा आईसीयु सेवा संचालनका लागि दक्ष जनशक्ति ब्यस्थापनका लागि मासिक तलव भत्तालाई नौ लाख ८० हजार पाँच सय २२ रुपैया आवश्यक पर्ने देखिन्छ । सो श्रोत जुटन नसक्दा सेवा चल्न नसकेको हो ।

अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिकरुपमा हुने दुर्घटना, सुत्केरीलगायत अन्य जटिल किसिमका बिरामीहरुलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ जिल्ला अस्पतालमा सघन उपचार (आईसीयु) कक्ष भेन्टिलेटरसहितको आईसीयु कक्ष तयारी अवस्थामा छ ।

जिल्ला अस्पतालमा भौतिकरुपमा सुविधा सम्पन्न हुँदै गए पनि अवश्यक जनशक्ति अभावका कारण समय र बढी पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौं जस्ता सुविधा सम्पन्न अस्पताल जानु पर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएपछि रेफर गरेका कति बिरामीले बाटैमा ज्यान गुमाउनु पर्ने बाध्यता समेत रहदै आएको छ । सेवा संचालनका लागि युवाहरुले समेत अस्पताललाई दवाव दिदै आई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?