काठमाडौं । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुवात भएको छ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम पूरा भएसँगै परीक्षण थालिएको हो । काम सकिएसँगै परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारीसमेत भइरहेको छ । ‘परीक्षण गर्न तत्कालका लागि पाइपलाइनबाटै पाँच हजार पाँच सय केएल पेट्रोल र एक हजार केएल मट्टीतेल ल्याएका छौँ । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ,’ प्रमुख आचार्यले भन्नुभयो ।
आगामी जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने उहाँले बताउनुभयो । ‘जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिएको थियो । तर, पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुनेछ,’ उहाँले भन्नुभयो । पाइपलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताउनुभयो ।
परियोजनाअन्तर्गत फायर फाइटिङ सिष्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिष्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर, विभिन्न कारणले केही दिन अघि मात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताउनुभयो । यस्तै, पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्न दुई ट्रान्समिक्स ट्र्याक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याक भारतीय आयल निगमनले निर्माण गरिदिएको छ ।
२०७६ देखि नै डिजेल आयात
परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट डिजेल ल्याउन सुरु गरेको चार वर्षमा तीन अर्ब ८७ करोड ५३ लाख ५० हजार लिटर (३८ लाख ७५ हजार ३५० किलोलिटर) डिजेल आयात भएको नेपाल आयल निगमले जनाएको छ । निगमले २०७६ भदौ २४ गतेदेखि पाइपबाट डिजेल ल्याउन थालेको थियो । पाइपलाइन सञ्चालन भएको पहिलो आर्थिक वर्ष २०७६-७७ मा चार लाख ८८ हजार ५४८ किलोलिटर डिजेल पाइपबाट आयात गरिएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा १० लाख तीन हजार १५० किलोलिटर, आव २०७८÷७९मा १२ लाख ८४ हजार ४४९ किलोलिटर, आव २०७९/८० मा १० लाख ३५ हजार ३०६ किलोलिटर डिजेल आयात भएको थियो । यो दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन हो । पाइप लाइनको कुल लम्बाइ ६८.९१ किलोमिटर छ । पेट्रोलियम पदार्थ लस हुने, ढुवानीमा धेरै समय लाग्ने, ढुवानी लागत महँगो पर्ने, वातावरण प्रदूषण हुने, ट्राफिक जाम हुने, सडक बिग्रिने, ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुने लगायतका समस्या भएपछि ट्यांकरको विकल्पमा पाइपलाइनबाट डिजेल आयात सुरु गरिएको हो । अमेरिकामा सन् १९६२ को अन्त्यतिरबाट नै पेट्रोलियम पाइपलाइनको प्रयोग सुरु गरिएको भए पनि नेपालमा करिब ५७ वर्षपछि मात्र पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन थालिएको हो ।
नेपाल र भारत सरकारबीच सम्झौता भएर आइओसीको सहयोगमा मोतिहारी-अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गरिएको थियो । यो पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन हो । पाइपलाइनको कुल लम्बाइ ६८.९१ किलोमिटर छ । मोतिहारीदेखि रक्सौल बोर्डरसम्म भारततर्फ ३२.७१ किलोमिटर र रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२ किलोमिटर छ । यसको सुरक्षामा विशेष ध्यान दिइएको छ । अहिले पाइपलाइनको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ ।
परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टीतेलको समेत आयात हुने जनाएको छ । ‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,’ प्रमुख आचार्यले भन्नुभयो, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन्छ ।’
मेतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।
चीनबाट आयात गर्ने योजनामा अलमल
२०७६ भदौ २६ गते नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले एकै साथै पेट्रोलियम पाइपलाइनको स्विच अन गरेपछि भारतबाट नेपालमा इन्धन भित्र्याउने कामको सुरुवात गर्नुभएको थियो । परियोजनाको निर्माण मोडालिटी र लगानीको मोडलमा करिब १० वर्ष छलफल भएपछि भारतका प्रधानमन्त्री मोदीको पहलमा सन् २०१५ अगष्ट २४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारका वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतीय पेट्रोलियम मन्त्री धमेन्द्र्र प्रधानले परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । २०७३ चैत २४ गते प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबाट संयुक्त रूपमा पाइपलाइन बिछ्याउने कार्यको शिलान्यास गरिएको थियो । यसैगरी, डेढ वर्षअघि तत्कालीन नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका बेला दुई देशका अधिकारीहरूले मोतिहारी-अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनलाई विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । त्यसै क्रममा दुवै देशले भारतको सिलीगुडीदेखि पूर्वी नेपालको झापा जिल्लास्थित चारआलीसम्म अर्को अन्तरदेशीय पाइपलाइन बनाउने समझदारी पनि गरेका थिए । समझदारीअनुसार नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच गत असोजमा ‘बिटुबी फ्रेमवर्क एग्रिमन्ट’ भएपछि ती परियोजना अघि बढाउने विषयमा थप प्रगति भएको थियो । विश्वभरि नै व्यापक प्रदूषण गर्ने इन्धनलाई ऊर्जाको माध्यमका रूपमा प्रयोग गर्न न्यून गर्दै लैजानुपर्ने बहस भइरहेका बेला नेपालले चाहिँ पेट्रोलियम पाइपलाइनलाई धेरै महत्व दिनु उचित नभएको भन्दै कतिपयले आलोचना पनि गर्दै आएका छन् ।
नेपालले २०७२ सालमा नयाँ संविधान जारी गरेलगत्तै भारतले ‘अघोषित नाकाबन्दी’ लगाएपछि त्यस बेला नेपालमा इन्धनको हाहाकार भएको थियो । त्यो अवस्थाले नेपालभित्र पेट्रोलियम ऊर्जाका लागि भारतमा मात्र निर्भर रहनु हुँदैन भन्ने बहस निम्तिएको थियो । ओली नै प्रधानमन्त्री रहेका बेला चीनबाट पनि पेट्रोलियम पदार्थ आयात गर्ने योजना अघि बढाउनुभएको थियो । तर, नाकाबन्दी खुलेपछि उक्त योजना हालसम्म अघि बढेको देखिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच