दोलखा । बैतेश्वर गाउँपालिका वडा नम्बर चार झगर्पुरका पोष्टबहादुर दाहाललाई बाल्यकालको रहरले अहिले सफल मह उत्पादक किसान बनाएको छ । गाउँकै कतिपय युवा विदेशमा रोजगारीको खोजी गर्दै भौंतारिरहँदा उहाँ भने मौरीको स्याहारमा नैं ब्यस्त हुनुहुन्छ ।
दाहाल आफ्नो बाल्य काल सम्झदै भन्नुहुन्छ, “मलाई सानै देखि किन हो मौरी असाध्यै मन पर्थ्याे । एकदिन बाटामा दुईमाना जति मौरी भेटियो । त्यसलाई जसो-तसो घरमा लिएर आई खोपामा हालें । त्यसपछि विस्तारै मौरी पालन तर्फ रुचि बढ्यो अहिले यो नै पेशा बन्न पुगेको छ ।”
बाटामा भेटिएका मौरी खोपामा राखेको केही समयपछि मौरी सम्बन्धी टुकी तालिम लिएका गाउँकै एकजना टुकी बा को सहयोगमा आधुनिक घारमा मौरी सारेपछि उहाँको रुचि ब्यावसायीक मौरी पालन तर्फ बढ्यो । मौरीका घारहरु थप्दै जानुभयो । ३०-३५ घार पुगेका थिए तर २०७२ सालमा गएको आमविनाशकारी भुकम्पमा परी बस्ने घर मात्र हैन मौरी पनि सखाप भएको तितो अनुभव उहाँ सँग छ ।
“भुकम्पले घर भत्कियो मौरी सखाप भए”, दाहालले भन्नुभयो,“केही समय पछि एउटा घारमा कताबाट फेरी मौरी आएर बसे । सोही घारमा १८ केजी मह उत्पादन भयो । त्यसपछि भने यसैलाई पेशा बनाउने निश्कर्ष निकाली मौरी पालनमा लागें ।”
अहिले दाहाल ग्यालेक्सी मौरी फार्म दर्ता गरी मौरीपान ब्यावसायमा ब्यस्त हुनुहुन्छ । घर वरिपरी करिब चार सय मौरिका घार छन् । एकहजार घार पुर्याउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनु भयो । सेरेना जातका मौरी उहाँले पालन गरिरहनु भएको छ ।
कुटसहित प्रति किलोग्राम पन्ध्रसय रुपैयाँमा आफूले मह विक्री गर्ने गरेको दाहालको भनाई रहेको छ । आफूसहित पाँच जनाले फर्ममा रोजगारी प्राप्त गरेको बताउनुहुने दाहालले खर्च कटाएर वर्षको ६-७ लाख खुद आमदानी गर्न सफल भएको बताउनु भयो । मौरीको घार बनाउने कारखाना पनि उहाँको फर्मले चलाई रहेको छ ।
विभिन्न समयमा सात दिन देखि महिना दिनसम्मको मौरी पालन तालिम लिनु भएका दाहाल अहिले रामेछाप, सिन्धुपाल्चोक तथा गृह जिल्ला दोलखाका विभिन्न स्थानमा मौरी विज्ञको रुपमा तालिम दिन समेत जाने गर्नु भएको छ । मौरीसहितको घार साँढे आठ देखि नौ हजार रुपैयाँ सम्ममा आफुले विक्री वितरण गर्ने गरेको दहालले बताउनुभयो । आफ्नो फर्मबाट मौरीघार खरिद गरी ब्यावसायिक रुपमा मौरी पालन गर्नेहरुकालागि उहाँले निःशुल्क आधारभूत तालिम तथा सरसल्लाह समेत दिने गर्नु भएको छ ।
अहिले गाउँनै जंगलले ढाक्न लागेकोले मौरीकालागि फूलहरु प्रसस्त फूल्ने अवस्था रहेकोले जाँगर भएका कृषकले सिप सिकेर मौरी पालन गर्ने हो भने घाटामा नजाने तर रहर मात्र गरी मेहनत नगर्ने हो भने यो ब्यवसायबाट लाभ नहुने उहाँको अनुभव छ । जाँगर गरी मौरी पालन ब्यवसाय गरे युवाहरु खाडीमा जानु पर्ने अवस्था नरहेको दाहाल बताउनु हुन्छ ।
विशेष गरी वर्षायाम र चिसोमा मौरीको विशेष ख्याल गर्न नसके बच्चा कुहिने रोग तथा अरिंगालबाट हुने क्षति यो ब्यावसायमा सबै भन्दा ठूलो चुनौति भएको उहाँको अनुभव छ । मौरीमा जटिलखालका समस्या आउँदा भने आफूले चितवन तथा गोदावरीका मौरी विज्ञसँग सल्लाह लिने गरेको दाहालले बताउनु भयो ।
उचित मात्रा मिलाएर उपचार गर्न सके स्थानीय स्तरमा पाइने मलाहगिरी, बोझो, तुलसी, फर्सीको झोललगायतका वस्तुवाट मौरीलाई लाग्ने रोगको उपचार गर्न सकिने उहाँको अनुभव छ । जाडो याममा मौरीलाई कृतिम खाना, जाडोबाट बचाउने उपाय गर्न समेत मौरीपालक सचेत हुने पर्ने उहाँको मौरी पालक कृषकहरुलाई सुझाव छ ।
विदेशबाट मह अयात गर्न बन्द गर्ने, अनुदान दिँदा वास्तविक मौरी पालन ब्यावसायी कृषकलाई छनोट गरी अनुदान दिने, मौरी पालन तथा मह उत्पादनसँग सम्बन्धी उपकरणहरु सहजरुपमा मह उद्यमीहरुले प्राप्त गर्ने अवस्थाको सिर्जना राज्यबाट गर्ने हो भने मौरी पालन ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच