काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को गत मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो ।
गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाङझाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २०औँ एसियाली कराँते च्याम्पियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रूपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको थियो ।
खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उनीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
सरकारले सक्दो पहल गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ । बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाई दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताउनुभयो । उहाँले केही समयपहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहोल बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले आगामी दिनमा ठूला सफलताहरू प्राप्त गर्दै जानुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खेलमा प्रशिक्षकहरूको प्रशिक्षणको महत्व धेरै हुने बताउनुभयो । कमजोरी पत्ता लगाएर सच्याउँदै अघि बढ्नुपर्ने जानकारी दिनुभयो । आफ्ना खेलाडीहरूको खेलको उत्कृष्टता र कमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्नुभयो । उहाँले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न आग्रह गर्नुभयो ।
ऐन, कानुन र नियमावलीअनुसार खेलकुद संघहरू चल्नुपर्छ : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्य पालन गरेर अघि बढ्न खेलकुद संघहरूलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाइ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री चौधरीले खेलकुदमा दर्ता भएका संघहरूले देशको ऐन, कानुन नमान्ने र अदालतको आदेश नमान्ने भन्ने नहुने बताउनुभयो । जित्नैपर्ने मानसिकताबाट मात्रै सफलता हात पार्न नसकिने भन्दै देशको ऐन, कानुन र नियमावलीअनुसार खेलकुद संघहरू चल्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच